site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सांसद थापाको माग– नेपालमा विदेशी विद्यार्थी भित्र्याउन सहज वातावरण बनाइयोस्

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका सांसद कुसुम थापाले अध्यागमन नियमावली, २०५१ लाई संशोधन गरेर विदेशी विद्यार्थीलाई नेपालमा पढ्न आउन सहज हुने वातावरण बनाउन माग गरेकी छन् । आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले विदेशी विद्यार्थी भित्र्याउन प्रक्रियागत सहजता थप्नुपर्ने धारणा राखिन् ।

“विदेशस्थित नेपाली नियोगबाट नै अन्तर्राष्ट्रिय विद्यार्थी भर्नाका लागि अनुमतिप्राप्त शिक्षण संस्थामा भर्ना भएपछि सम्बन्धित संस्थाको सिफारिसमा आवश्यक प्रक्रिया पूरा गरेर सबै विषयमा अध्ययन गर्ने अवधिसम्मका लागि भिसा दिने कानूनी व्यवस्थाका साथै अनलाइन आवेदन र अनलाइन अध्ययनका लागि ईभिसा प्रदान गर्ने कानूनी व्यवस्था गर्ने हो भने धेरै विदेशी विद्यार्थी भित्र्याउन सकिने भएकाले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछु‚” उनले भनिन् ।

Argakhachi Cement Island Ad

सांसद थापाले बर्सेनि लाखौँ नेपाली अध्ययनका लागि विदेश जाने गरेको तर नेपालमा पढ्न आउने विदेशी विद्यार्थीको संख्या निकै कम रहेको उल्लेख गरिन् । 

“नेपालमा अध्ययन गर्न चाहने विदेशी विद्यार्थीको अध्यागमन कार्यालयबाट पर्यटक भिसा लिएपछि अध्ययन गर्न चाहेको शिक्षण संस्थामा एक वर्षको शुल्क तिरेपछि भर्ना गर्न सकिने प्रावधान छ । सबै झन्झटिलो प्रक्रिया पूरा गरेपछि अध्यागमन विभागले प्राविधिक विषयमा बाहेक एक पटकमा एक वर्षका लागि मात्र अध्ययन भिसा दिने गरेको छ‚” उनले थपिन् ।

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १६:३८
प्रतिक्रिया दिनुहोस्