site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
डोरम्याट, रनाहा, धरतीका यमराज र मैले खोजेको देश
SkywellSkywell

डोरम्याट
(कवितासंग्रह : छविरमण सिलवाल)
नेपाली कविता लेखनमा सक्रिय स्रष्टामध्येका एक हुन्, छविरमण सिलवाल । केही समयअघि उनले अर्को कविताकृति बजारमा ल्याएका छन्, ‘डोरम्याट’ ।  उनको यसअघि ‘मनको शिविरबाट’ र संयुक्त कृतिका रूपमा ‘सहृदयी स्वरहरू’ प्रकाशित छ ।

कविताका अतिरिक्त उनले एउटा समीक्षासंग्रह, नियात्रासंग्रह ‘ग्रीनविचको साँझ’ र बालकविताकृति पनि बजारमा ल्याइसकेका छन् ।

कवि सिलवालले आफ्नो मन्तव्यमा लेखेका छन्, “‘डोरम्याट’भित्र विविध सन्दर्भका कविताहरू छन् । सार्वभौम मानवीय जीवनलाई अभिव्यक्त गर्ने वैयक्तिक जीवनका विशेष सन्दर्भदेखि बेमेल र विभेदपूर्ण समाजको चित्र तथा राजनीतिक वृत्तभित्रका विकृतिका साथै मैले भोगेको समाज र समयको यथार्थलाई कवितामार्फत प्रस्तुत गर्न खोजेको पक्कै छु ।” (पृष्ठ ९५)

Dabur Nepal
NIC Asia

‘रुख’ शीर्षकको कवितामा उनले लेखेका छन्–
रुख काटेर
धन जोड्नेहरूलाई
भन्दै थियो रुखले
म बोल्न नसकेरै 
हेप्छन्, काट्छन्
मेरो हत्या गर्छन्...
(पृष्ठ–५५)

भुँडीपुराण प्रकाशनद्वारा प्रकाशित ९६ पृष्ठको यो कृतिको मूल्य २५०/– रुपैयाँ राखिएको छ ।

०००

रनाहा
(कथासंग्रह : विश्वराज अधिकारी/खेमराज पोखरेल)
अमेरिका बसेर पनि नेपाली साहित्यमा रमाउने साहित्यकारहरू विश्वराज अधिकारी र खेमराज पोखरेल विभिन्न विधामा कलम चलाउँछन् । कथा, संस्मरण, लघुकथा, नियात्रा, मिथक, सामयिकीलगायत विधामा उनीहरूले कृति प्रकाशन गरिसकेका छन् ।

केही समयअघि यी दुई साहित्यकारले संयुक्त रूपमा ल्याएको कथाकृति हो, ‘रनाहा’ । यो संयुक्त कथाकृतिमा विश्वराज र खेमराजका आठ/आठ गरी १६ कथा समावेश छ ।

प्रस्तुत कृतिमा दुवै साहित्यकारका यौनकथाहरू समेटिएको छ । यौनकथालाई केही फरक दृष्टिकोणका साथ पस्किएको दुवै कथाकारको भनाइ छ ।

मोलुङ फाउन्डेसनद्वारा प्रकाशित १८४ पृष्ठको यो कृतिको मूल्य ३७५/–रुपैयाँ राखिएको छ ।

०००

धरतीका यमराज
(लघुकथासंग्रह : सृजन लम्साल)
मोफसलमा बसेर निरन्तर साहित्यमा सक्रिय स्रष्टा हुन्, सृजन लम्साल । उनले अर्को लघुकथाकृतिका रूपमा ल्याएका छन्, ‘धरतीका यमराज’ ।

लम्सालले यसअघि १० पुस्तक बजारमा ल्याइसकेका छन् । पहिलोपटक २०५५ सालमा उनी निबन्धकृति लिएर आएका थिए । त्यसयता लम्सालका नियात्रा, कविता, कथा, लघुकथालगायत पुस्तक सार्वजनिक भइसकेको छ ।

‘धरतीका यमराज’मा आफ्नो भनाइमा उनले लेखेका छन्, “...यस संग्रहमा ३९ ओटा लघुकथाहरू कोरोना कहरसँग सम्बन्धित रहेका छन् भने ३६ ओटा लघुकथाहरू नेपाली समाजले भोग्नुपरेको सामाजिक तथा शासकीय कहरका सम्बन्धमा छन् ।...।”

कृतिको भूमिकामा साहित्यकार श्रीओम श्रेष्ठ रोदनले लेखेका छन्, “धरतीका यमराज भित्रका लघुकथाहरूले मान्छे मान्छे बिचमा बढेको स्वार्थीपन, नजिकका आफन्तका बिचमा पनि सम्बन्ध बढ्न नसकेका विषयका लघुकथाहरू निकै प्रभावकारी बनेका छन् ।...।”

स्वदेश प्रकाशन प्रालि द्वारा प्रकाशित ११६ पृष्ठको यो पुस्तकको मूल्य ३००/– रुपैयाँ राखिएको छ ।

०००

मैले खोजेको देश
(कवितासंग्रह : राजेश ढुंगाना)
पुराना कवि हुन्, राजेश ढुंगाना । हुन त उनको परिचयमा पत्रकार पनि जोडिन्छ, तथापि कवि परिचय हराएको छैन । ढिलोचाँडो उनका कविता प्रकाशित भइरहन्छन् । उनले अर्को कविताकृति ल्याएका छन्, ‘मैले खोजेको देश’ ।

झापामा बसेर राजनीति र पत्रकारिता सँगसँगै गर्दै आएका कवि ढुंगानाले यो कृतिको मन्तव्यमा लेखेका छन्, “हुन त म विराटनगरको आदर्श विद्यालय पढ्दादेखि नै प्रजातान्त्रिक आन्दोलनमा धेर–थोर मात्रामा आकर्षिक भएको हुँ र २०३५–३६ सालको ऐतिहासिक छात्र आन्दोलन र त्यसपछिको नेपाल देशको राजनीतिका लागि एउटा कोशेढुंगा जनमत संग्रह (२०३६) को घोषणाको सेरोफेरोमा मैले प्रजातान्त्रिक आन्दोलनमा सक्रिय हुँदाहुँदै जे जस्तो र जति भए पनि कविता लेख्न थालेर यसमा साढे चार दशक बिताएको छु ।”

कृतिभित्र भूमिकामा साहित्यकार हरि अधिकारीले लेखेका छन्, “उनी कवि थिए, तर उनको शर्त थियो ‘प्रजातन्त्र’ । उनी वैचारिक थिए र शर्त थियो ‘स्वतन्त्रता’ । आन्दोलनले बनाएको कवि रूमानी मात्र कसरी हुनसक्नु !...।”

५५ कविता संगृहीत यो कृतिको एउटा कविता ‘अन्तिम परिचय’मा ढुंगानाले लेखेका छन्–
... पवित्र छ भने
बन्दुकको निशानालाई समेत
दशैंको टीका सम्झेर
सर्लक्कसँग
निधारमा स्वागत गर्न सक्छु
तिहारको माला सम्झेर
फाँसीको फन्दालाई समेत
बिना हिच्किचाहट
गलामा 
पहिरिन आँट गर्न सक्छु !
(पृष्ठ– ७९)

मीना ढुंगानाद्वारा प्रकाशित ११८ पृष्ठको यस कविताकृतिको मूल्य ३५०/– रुपैयाँ राखिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  ०७:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu