site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Global Ime bankGlobal Ime bank
कँसेरी : तीनपाटनका किसानको खोरिया 

‘काँस’बाट बनेको रहेछ— ‘कँसेरी’ शब्द । यो लेख्दै गर्दा मैले नेपाली बृहत् शब्दकोशमा हेरें । शब्दकोशमा प्रविष्टि नभएको शब्द रहेछ यो । भनौं न  स्थानीय शब्द ।

सिन्धुली जिल्लाको सदरमुकामबाट पूर्वतर्फ पर्ने एउटा खुँज हो— तीनपाटन । कमला नदीबाट कमला खुँज भएजस्तै यसलाई चँदाहा नदीको खुँज भन्न मिल्ला । चँदाहा कमलाकै सहायक नदी हो । यो कमलामाई नगरपालिकाको काउछेनेर कमला नदीमा मिसिन्छ । भौतिक क्षतिका दृष्टिले हेर्दा कमला नदीभन्दा धेरै अगाडि देखिन्छ— चँदाहा खोला । विशेषतः तीनपाटन क्षेत्रमा कृषियोग्य जमिनको कटान र मरुभूमीकरणमा यस नदीकारण ठूलो क्षति पुगेको छ ।

विसं २०२३ सालमा यस क्षेत्रमा घनघोर वर्षा भएछ । यही वर्षामा चँदाहा खोलाको शिरमा ठूलो पहिरो गएछ । यही पहिरो बाढीको रूप लिएपछि बगेर आएको बालुवा र गेग्राङ तीनपाटन फाँटको शिरदेखि पुछारसम्म फिँजिएछ र फाँटको हराभरा लाहुरे टप्पु किरियापुत्रीको श्वेतवस्त्रमा बदलिएछ । तीनपाटनका धेरै किसान चँदाहा खोलामा आएको यही एउटा बाढीले एकै रातमा एकै झमटमा दैनिक गुजाराका लागिसमेत अन्नपात बेसाउनुपर्ने अवस्थामा पुगेछन् ।

हामी जो हुर्किदो उमेरमा थियौं चँदाहाको सेतो बगरमा बालुवाको घर बनाउँदै हुर्कियौँ । तीनपाटन फाँटको आधाभन्दा बढी हिस्सा कुनै प्रकारको झारसमेत उम्रिन नसक्ने सेतो बगरको रूपमा हामीले देख्यौं । यही बगरको कहिले एउटा छेउ कहिले अर्को छेउमा नाँचेर बग्ने गर्थ्यो— चँदाहा खोला । ‘यस वर्ष खोलाको मूल धार पारिपट्टि छ वारि रोपाइ गरे हुन्छ’ भनेर किसानले लगाएको बाली त्यही सालको अर्को बाढीले बगर बनाइदिन सक्थ्यो । यसरी चँदाहा खोलाले तीनपाटन क्षेत्रका किसानका सपनामाथि वर्षौंसम्म ढुक्कसँग बुर्कुसी मारिरह्यो । चँदाहा खोलाले मान्छे बगाएन तर कसै न कसैको उठिवास लगाउन कुनै वर्ष छाडेन । खोलाको बाढीमा झारपात कुहिएको मलिलो माटो आउँछ र बाढीले छोपेको खेतबारी पहिलेभन्दा ऊर्बर हुन्छ भन्ने कुरा चँदाहाको हकमा थोरैमात्र लागु भयो । चँदाहाले हरेक वर्ष तीनपाटनका लागि झारपात कुहिएर बनेको मलिलो माटाको साटो सेती पहिरोको सेतो बालुवा ओसारी रह्यो । यसरी तीनपाटनमा चँदाहाले हरेक वर्ष कि खेत काट्यो कि त खेतमा बालुवा थुपारेर कुनै पनि फसलको सम्भावनालाई निमिट्यान्न पारिरह्यो । यही चँदाहाकै कारण पुस्तौंपुस्तादेखि जमेर बसेका कतिपय किसान परिवार आफू बास बसेको बाँसको झ्याँङ्गमा कुनै गम्भीर असुरक्षाको आशङ्का गरेर अर्को झ्याँङ्गमा बसाइँ सर्ने सारौंजस्तै भएर तीनपाटनबाट विस्थापित भए ।

बूढापाकाहरू सम्झिन्छन्— चँदाहा लाग्नुअघि तीनपाटनको जनजीवन एकप्रकारको सम्पन्नताको अवस्थामा थियो । फाँटमा कोही पनि अचाक्ली धनी त थिएनन् तर खान लाउन दुःख भएका परिवार पनि खासै थिएनन् ।  पहाडतिरबाट खाँडीका कपडा साट्न आउँथे मान्छेहरू । कपडाको सट्टामा तिनीहरूलाई धान दिए पुग्थ्यो ।  तिनै कपडा सियोले खुटेर पोसाक बनाइन्थे । अलिपछि कपडा सिलाउने हातेकल आयो । अनि पयर कल आयो । यी कल धेरैपछिसम्म धेरैका लागि रमिताका विषय भए । कहिले पहाडबाट ल्याइएका सुन्तला, जुनार, ज्यामिर, निबुवा, नासपाती, आँटी, सतीबयर आदि फलफूल र अन्नमा मीठेफापर धानसँग साँट्न पाइन्थ्यो । खेतीपातीका लागि बेठी थिएन, अर्मपर्मको चलन थियो । कसैलाई केही अपुग भयो भने एैचोपैंचो चल्थ्यो । शोक पर्दा चँदाहा वारिपारिका मानिसहरू जम्मा हुन्थे र समवेदना प्रकट गर्थे । विवाह, व्रतबन्धमा पनि प्रायः त्यस्तै जमघट हुन्थ्यो । तीज र पञ्चमीमा चँदाहा वारिपारिका गाउँबाट रातो कपडामा सजिएका महिलाहरूको चँदाहातिर लर्को लाग्थ्यो । कसैले कुनै धार्मिक अनुष्ठान सम्पन्न गर्थ्यो र भजन लगाउँथ्यो । साँझमा भजनमा खैँजेडी बजाएर खुट्टा बङ्ग्याएर नाँचेका पुरुषका नाँच हेर्न फाँटभरिका मानिस जम्मा हुन्थे । चिया खाने चलन अलिपछि चलेको हो । त्यसभन्दाअघि दूध, दही र मोही किनबेचको चलन थिएन । बटुवाले पानी खान माग्दा ‘मोही खाने कि पखाले खाने ?’ भनेर सोध्थे — गृहिणीहरू । सबैजसो घरमा डिबे बल्थ्यो । फाँटमा कसैको घरमा मइनन्टोल बल्यो भने फाँटभरिका आँखा त्यता एकोहोरिन्थे— एकपटक ।’  

सेतो बगरमा हिँड्दाहिँड्दै टक्क अडिएर कसैले बालुवा नै बालुवाको डङ्गुरतर्फ औँल्याएर भन्ने गर्थ्यो— ‘लाहुरे टप्पु हो— यो । यही टप्पुमा थिए— बर र पिपलका अग्ला रूखहरू । त्यही रूखका आडमा जम्मा भएर पढ्थे केटाकेटीहरू ।

भोक लाग्दा अघाउजी जाउलोसमेत खान नपाउने अवस्थाका बालबालिकाले अँगेनाको डिलमा बसेर बाबुबाजेले गरेका हिजोका सम्पन्नता र तीनपाटन फाँटका वैभवका यस्ता कुरा कसरी पत्याउनु ? बाबुबाजेका हिजोका सम्पन्नताका त्यस्तै कुरालाई ‘गुड्डी’ भनेर उडाउने पुस्ताको रूपमा हुर्किएको हो हाम्रो पुस्ता ।

चँदाहाले आफ्नो धार बदलेको केही वर्षपछि बगरमा देखिन थाल्थे— काँसका जगल्टाहरू । केही वर्षको अन्तरालमा बगरमा काँस यसरी फैलिन्थ्यो र फुल्थ्यो । असोजदेखि पुसमहिनासम्म फाँट सेताम्मे देखिन्थ्यो । चँदाहा खोला कुन वर्ष कताबाट नाच्ने हो भन्ने यकिन नभएकाले रैथाने किसानहरू खोलाले छाडेको बगरहरूमा पाँचसात वर्षपछि मात्र कुनै पनि उत्पादनको सम्भावना खोज्ने गर्थे ।

यसरी कँसेरी भनेको धेरै वर्षसम्म काँस फुलेको, अनि कतै खनेर र कतै उसै मास भटमास छरेको र अन्त्यमा पाका गोरुको बलमा छरितो हलोले काँसका जरा ओल्टाउँदैपल्टाउँदै तीनपाटनका किसानले बगरमा सिर्जना गरेको ’खोरिया’ हो भनेर बुझ्नुभयो भने तीनपाटनका हकमा सही हुन्छ ।


 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  ०९:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro