site stats
बाह्रखरी :: Baahrakhari
देश
तीन दिनपछि न्यूनचापीय रेखा सरदर स्थानमा सर्ने, वर्षा बढ्ने !
काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरस्थित वाग्मती नदीमा शनिबार साँझ परेको वर्षाले आएको बाढी । तस्बिर : विमलबहादुर बिष्ट/रासस ।

काठमाडौं । देशका केही स्थानमा शनिबार पनि वर्षा भएको छ । हल्कादेखि मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबार (हिजो) र आज दिउँसोको तुलनामा शनिबार राति बढी वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए । “राति कोसी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ,” उनले बाह्रखरीसित भने ।

शनिबार बेलुका काठमाडौंमा पनि वर्षा भयो । काठमाडौंका विशेष गरी कपन, सुन्दरीजल क्षेत्रमा धेरै वर्षा भएको उनले बताए । “(शनिबार) राति काठमाडौंमा पनि वर्षाको सम्भावना छ,” उनले भने, “मध्यरातको आसपासमा मध्यमसम्म वर्षाको सम्भावना छ । भारी वर्षाको सम्भावना छैन ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अबका दुई/तीन दिन सुदूरपश्चिम प्रदेशलगायत क्षेत्रमा हिजोआजको तुलनामा वर्षा बढ्ने सम्भावना रहेको उनले जानकारी दिए ।

देशका अरू केही स्थानसँगै काठमाडौं उपत्यकामा आइतबार (भोलि) समेत वर्षाको सम्भावना रहेको उनले बताए । हल्कादेखि मध्यम वर्षा हुन सक्ने उनले जानकारी दिए ।

“दिउँसो र राति पनि सम्भावना छ । काठमाडौंको उपत्यकाका सबै स्थानमा वर्षा नहुन सक्छ,” उनले भने, “वर्षा हुने स्थानमा पनि सबै ठाउँमा एकनासको हुँदैन । कतै अलि धेरै, कतै थोरै हुने हुन्छ ।”

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ (भारततिर) रहेको उनले बताए । अबका तीन दिन (सोमबारसम्म) मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ सर्ने सम्भावना नरहेको उनले जानकारी दिए ।

“आगामी तीन दिन मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ अर्थात् नेपालनजिक आउने सम्भावना छैन,” उनले भने ।

तीन दिनपछि भने उक्त रेखा सरदर स्थानको आसपासमा आउने सम्भावना छ । तर, महाशाखाले त्यसबारे आधिकारिक रूपमा जानकारी गराएको छैन । महाशाखाले दैनिक तीन दिनको मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै आएको मौसमविद् अधिकारीले स्पष्ट पारे ।

“अहिले हामीले हेर्दा तीन दिनपछि त्यो सरदरको स्थानमा आउने सम्भावना देखिन्छ,” उनले भने, “त्यसो भएको अवस्थामा वर्षाको मात्रा बढ्ने हुन्छ ।”

न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ अर्थात् नेपालनजिक नहुनु भनेको मनसुनको सक्रियता कम हुनु हो । तर, मनसुन अवधिमा वर्षा नहुने भन्ने होइन । न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ अर्थात् नेपालनजिक हुँदा भने वर्षाको गतिविधि बढ्ने मौसमविद्ले बताउँदै आएका छन् । त्यस्तो अवस्थामा मनसुन अधिक सक्रिय हुने मौसमविद्को भनाइ छ ।

महाशाखाले शनिबार बेलुका जारी गरेको मौसम पूर्वानुमान बुलेटिनको ‘आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श’मा उल्लेख छ, “देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई  स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ ।”

यो पनि पढ्नोस्–

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  २०:४९
प्रतिक्रिया दिनुहोस्