site stats
बाह्रखरी :: Baahrakhari
देश
अर्घाखाँचीका सीडीओविरुद्ध कर्मचारी नै किन उत्रिए प्रदर्शनमा ?

काठमाडौं । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको अवरोध हटेको छ । बुधबार प्रमुख जिल्ला अधिकारी (सीडीओ) वेदप्रसाद खरेलविरुद्ध कर्मचारीहरू आन्दोलनमा उत्रिएपछि कामकारबाही अवरुद्ध भएको थियो ।

आज कर्मचारी र सीडीओबीच भएको आन्तरिक छलफलपछि कार्यालय सञ्चालनमा आएको हो ।

बुधबार सीडीओ खरेलविरुद्ध कार्यालय परिसरमै कर्मचारीले तीन घण्टा नाराजुलुससहित प्रर्दशन गरेका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

के भएको थियो ?
सीडीओ खरेलले मातहतका कर्मचारीप्रति हेपाहा व्यवहार देखाएपछि आफूहरू प्रदर्शनमा उत्रिएको एक कर्मचारी बताउँछन् ।

‘‘जुनियर कर्मचारीप्रति सीडीओ सा'बले गर्ने व्यवहार सन्तोषजनक छैन । सिनियरको सम्मान गर्ने र निर्देशन पालना गर्नु हाम्रो कर्तव्य नै हो । तर, हेपाहा प्रवृति देखाउनुभएन, त्यो राम्रो होइन,’’ ती कर्मचारीले भने ।

केही दिन अघिदेखि नै कर्मचारीले आन्तरिकरूपमा काम गर्न छाडे पनि बुधबार प्रर्दशनमै उत्रिएका थिए ।

सीडीओ खलले भने आफूले चुस्तदुरुस्त भएर काम गर्नुपर्ने कुरा गर्दा केही कर्मचारीलाई चित्त नबुझेको प्रतिक्रिया दिए ।

के भन्छन् सीडीओ खरेल ? 
कार्यालयभित्रको कामकारबाही थप प्रभावकारिता बनाउने भन्नेबारे मिटिङ भएको छलफल हो । अरू केही भएको होइन । सेवा अवरुद्ध भएको होइन । म बाहिर हुँदा कर्मचारी बाहिर निस्किनुभएको हो । पछि साम्य भयो ।

कर्मचारीले कार्यालयको पोसाक लगाउनुपर्‍यो । नागरिकबाट गुनासो आउने काम गर्नुभएन । सम्बन्धित फाँट प्रमुखले त्यसको जिम्मेवारी लिनुपर्ने हो ।

अनि, अर्को कुरा म उमेरले पनि बढी भएको मान्छे हुँ । कर्मचारी मेरा छोराछोरी समानका छन् । त्यही हिसाबमा मैले कर्मचारीलाई तिमी नै भनेर बोलाउँछु, त्यो हेपाहा प्रवृत्ति होइन । त्यही विषयमा उनीहरूको गुनासो रहेछ । अब त्यो समस्या सबै सामाधान भएको छ ।

प्रकाशित मिति: बिहीबार, असार ५, २०८२  १५:४०
प्रतिक्रिया दिनुहोस्