site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
समय

अमेरिकी साप्ताहिक टाइममा समयको प्राकृतिक अनुभूतिबारे पाठकका
केही रमाइला पत्रहरू छापिएका छन् । तीमध्ये केही यहाँ उद्धृत गर्दै छु–

(क)
“जेराल्ड क्लार्कको सामयिकताबारेको छलफल पढ्दा निकै रमाइलो लाग्यो । तथापि, समयको अनुभूतिबारे एक आयाम क्लार्कले जानीजानी बेवास्ता गरेको लाग्यो, किनभने उनको कथनअनुसार समयको अनुभूति औद्योगिक मानवको उपज भएबाट अप्राकृतिक छ रे ।

समयको अनुभूति जनावर तथा वनस्पतिमा समेत प्राकृतिक देनका रूपमा स्वतः प्राप्त हुने एक गुण हो । कैयन् प्रकारका पंक्षीहरू स्तनपायी जन्तुहरू एवम् माछाहरूमा समेत विशिष्ट समय निष्ठताको बानी हुन्छ जसको ज्ञानद्वारा सिकारीहरू लाभ उठाउँछन् ।

यस्तै किसिमबाट मानवको शारीरिक आवश्यकताको चक्र आज अनुसन्धानको विषय बनेको छ । समयको अनिष्ठताप्रति केही व्यक्ति प्रयास गर्न खोज्लान् तथापि मानिस वा अन्य कुनै जन्तु पनि समयको अनुभूतिबाट उन्मुक्त होलान् भन्ने सम्भावना छैन ।” —क्यानाडा

(ख)
“टाइम” ले जाति पालन गरेको छैन, अनन्तताको सीमा छैन, सर्वदाको अन्त्य छैन । क्या अचम्म, मानिस स्व–संहारका अस्त्र स्वयम् निर्माण गर्दछ । विश्वास गरे पनि नगरे पनि, घडी आत्मसंहारको अस्त्र हो । समयलाई अस्त्रहीन पार्न सकियो भने जीवन अन्त्यहीन बन्न जान्छ ।” —दक्षिण अमेरिका

(ग)
“तथाकथित निस्तेज पूर्वको उल्लेखमा भारतलाई परित्याग गर्नु एक प्रकारले सायद महत्त्वपूर्ण नै भएको छ । कर्म–सिद्धान्तको अनुयायीका रूपमा, हामीमा सैद्धान्तिक रूपमा मात्रै समय–निष्ठाप्रति आकर्षण हुन सम्भव छ, किनभने हाम्रो सम्मुख अनन्त तेर्सिएर रहेको छ । तसर्थ जुन कुरा आज वा भोलि गर्न हामी असमर्थ छौँ, त्यो हामी अर्को जुनीमा गर्न सकौँला ।

यसै सन्दर्भमा हाम्रो धारणा के छ भने समाप्तिअघि आफू पुग्न पाए समयमै पुगियो । परिवर्तनको दृष्टिबाट अमेरिकी बन्धुहरूलाई मेरो सुझाउ छ, उनीहरू विगत वा ‘हिजो’ प्रति निष्ठावान् हुने स्वस्थ कला अपनाऊन् ।” –भारत

मूल लेख मैले पढेको छैन । त्यसमा अभिव्यक्त भावनासँग म अनभिज्ञ भए पनि यी पत्रहरू सारै अनौठा लागे । समयको परिभाषा पनि आफ्नो संस्कृति वा धर्म वा सामाजिक दृष्टिकोणउपर निर्भर हुँदो रहेछ ।

हिन्दूसंस्कृतिका अनुयायी हामी (हिन्दीमा मैले दसै अवतार लिएको छु ।) हामीमा हिजोप्रति एक अगम्य निष्ठा छ । हाम्रो आजसँग महत्त्व छैन । भोलिसँग प्रेम भने छ ।

एक साधारण उपमा लिऊँ । एउटा कर्पोरेसनबाट मेरा एक मित्रको केही भुक्तानी लिनु थियो । कार्य पूर्ण भएको पन्ध्र दिनजति भइसकेको थियो । आर्थिक वर्षको अन्त्य भनिएर साउनअघि भुक्तानी गरिएन, आर्थिक वर्षको प्रारम्भ भनी साउनको आधाआधी हुँदा पनि उनको भुक्तानी भएन ।

जबाफ एउटै थियो टेपरेकर्ड बजाएजस्तो, बजेट आएको छैन ।

उनले मसँग आफ्नो गुनासो पोखे । मैले आश्वासन दिँदै भनेँ, “यस्तै हुन्छ भनेर सरकारले धेरै विभागलाई कर्पोरेसनमा परिणत गर्यो । कर्पोरेसनमा यस्तो हुनु नपर्ने ।”

उनी भन्छन्, “होइन, शंकरजी ! मैले तीनचार स्रोतबाट खबर पुर्‍याइसकेँ । मेरो केही लागेन ।”

म भन्छु, “उसो भए म भोलि बुझ्छु । अनि तपाईंलाई खबर गरूँला ।”

मलाई थाहा छ, कर्पोरेसनका म्यानिजिङ डाइरेक्टर मेरा परिचित एक यस्ता बन्धु हुन् जो मेरा लेखहरू रुचिसाथ पढ्छन् ।

मेरा मित्रको वारिसनामा लिएर म पुग्छु त्यहाँ । नेपाल यस्तो ठाउँ हो, जहाँ एउटा कुरा बुझनैपर्छ सबले । कि त ‘माथि’ बाट आए काम बन्छ, कि त ‘तल’ बाट रिझाउँदै आए काम बन्छ । ‘बीच’ को कुनै स्थान छैन ।

म माथि पुग्छु । म्यानेजिङ डाइरेक्टरलाई भेट्छु । वारिसनामा तथा निवेदन प्रस्तुत गर्छु । उहाँ उदार हृदय भएर यसको भुक्तानी गरिदिनु भन्ने तोक लगाइदिनु हुन्छ । मलाई लाग्दछ, एकाउन्ट सेक्सनमा जानासाथ अब चेक म पाइहाल्छु, प्रफुल्लतासाथ म भर्‍याङ चढ्छु ।

अब आउँछ प्रोसेसिङको कुरा । नियम काट्न कोही पनि समर्थ छैन, मानौँ, पचास भाउचर तयार छन् । मेरो नम्बर एकाउन्नमा पर्छ । एकदुई वर्षदेखि भुक्तानी बाँकी रहेका व्यक्तिहरू निश्चय पनि करोडपति होलान् जसलाई पैसा फसेको वास्ता छैन । किन हुने ?

माथिबाट म अवतरित भएकाले होला, उनीहरूलाई आफ्नो क्षेत्रको अतिक्रमण भएको अनुभव भयो ।

अब म कार्य–प्रणालीको वर्णन गर्छु ।

मेरो तोक लागेको निवेदन दर्तामा जान्छ । त्यहाँ एक व्यक्तिले मिति र संख्यामा मात्र चढाउँछ । अर्को टेबिलतिर निवेदन सर्छ । त्यो निवेदन आँखाको अहिले चलेको बङ्गाली रोगजस्तै छ, मानौँ । निवेदन हेर्नासाथ मानौँ किटाणु आँखामा सर्छन् जस्तो । 

उसमाथि, मानौँ जोसँग कुरा भइरहेछ, त्यही कुरा गर्न तलब पाएजस्तो कुरा फेरि कस्ता ? त्यो पनि सुनिहाल्नुहोस् ।

“सूचना, प्रसारण, संस्कृति तथा छापाखाना प्रेस जम्मै सञ्चारमा गयो रे । हो ?”

“हो ?”

“अनि, कटौती पनि गर्ने रे ।”

“त्यही छ ।”

“म काजमा आएको । उता पनि दरबन्दी छैन, अब यता पनि नरहने भयो । मेरो के हुन्छ ?”

“सबैको त्यही हालत छ । मेरो पनि त, तपाईंलाई थाहै छ, ठेकान छैन ।”

“अब गर्ने के ?”

मनमनै म भन्छु ‘हे भगवान् । निवेदनउपर नजर परिदेओस् । चिताउँदैमा चरा खस्छ र ?’

“पन्ध्र वर्ष भयो, जागिर खाएको । अब पेन्सन पाउनेपाउने समय हुन लाग्यो । यस बेला खुस्कियो भने ठूलो फसाद पर्छ ।”

“त्यही त । म त झन् पत्रकारिताको पेसा अपनाउन पुगेँ । मेरो हालत झन् नराम्रो छ । बाहिर व्यापारी पत्रकारिता गरौँ भने त्यसको सम्भावना नै छैन नेपालमा ।”

टेबिलनिरको मेरो उपस्थिति मानौं, अब गएर उनीहरूलाई आफ्नो वार्ता–निमित्त असल हुन्छ । मलाई पन्छाउने हेतुले मात्रै निवेदनउपरको कार्यवाही आरम्भ हुन्छ ।

यही क्रमद्वारा सात विभिन्न स्थानमा कार्य सम्पन्न गर्दा नगरी तीन घण्टा समाप्त हुन्छन् । जो मानसिक तनाउ मैले सहनुपर्छ । त्यसबाट यस्तो अनुभव हुन्छ, घर गएर सुतूँ ।

चेक पाउँछु तीन बजे । बैंकको अन्तिम घडी नाघेर । उनीहरूको मनमा हुन्छ यो जुनीको काम सिद्धयाए भयो, अर्को जुनीमा जे होस् । मलाई भने यसै जुनीमा बाँच्नु छ ।

(निबन्धकृति ‘गोधूलि संसार’बाट ।)

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  ०५:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro