site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
त्रिशूलीमा हेलिएको हेलियै छन् गोताखोर, प्रत्यक्षदर्शी चालक भन्छन्– पालो दिएको भए दुवै बस बग्दैनथे 
SkywellSkywell

काठमाडौं । पहिरोले त्रिशूली नदीमा बेपत्ता दुईवटा बसको अवस्था अझै अज्ञात छन् । 

शुक्रबार बिहान साढे तीन बजे भरतपुर महानगरपालिका–२९ नारायणी–मुग्लिन सडकखण्डको सिमलतालमा आएको पहिरोमा परि दुईवटा बस त्रिशूलीमा खसेका थिए ।

दुवै बसमा सवार ६५ जना यात्रुको विवरण जिल्ला प्रशासन कार्यालय चितवनले सोमबार सार्वजनिक गरेको छ । जसमध्ये तीनजना भने पौडिएर बाहिर निस्किएका थिए ।

KFC Island Ad
NIC Asia

जिल्ला प्रशासन कार्यालय चितवनले सार्वजनिक गरेको विवरण अनुसार वीरगन्जबाट काठमाडौं आउँदै गरेको वाग्मती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बसमा ३८ जना यात्रु र काठमाडौंबाट गौर जाँदै गरेको गणपती लेखिएको वाग्मती प्रदेशको ०३–०११ ख २४९५ नम्बरको बसमा २७ जना सवार थिए ।

दुवै बसका गरी ६२ जना यात्रु बेपत्ता भएका थिए ।  त्यसमध्ये सोमबारसम्म त्रिशूली नदीको विभिन्न ठाउँमा गरी १४ जनाको शव फेला परेको छ । ४८ जना अझै बेपत्ता छन् । हराइरहेका बस र यात्रुको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको टोली चार दिनदेखि निरन्तर खोजीमा सक्रिय छन् । तर, बस अझै फेला पार्न सकेको छैन ।

त्रिशूली नदीमा पानीको उच्च बहाब र धमिलो पानीका कारण बसहरुको खोजी कार्यमा कठिनाई भएको हो ।

trisuli-1721130862.JPG
 

जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालका अनुसार पछिल्लो चार दिनदेखि हरेक बिहान करिब ६ बजेदेखि साँँझ सात बजेसम्म खोजी कार्य निरन्तर जारी राखिएको छ ।

खोजी कार्यका लागि सशस्त्र प्रहरी बलले २६ नम्बर गण पश्चिम नवलपुर, तीन नम्बर बाहिनी चिनवन भण्डारा, १७ नम्बर गण र विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटारबाट गोताखोरसहितको २ सय ५५ जनाको टोली खटिएको छ ।

नारायणी नदी र गण्डक ब्यारेज क्षेत्रसम्म सशस्त्र प्रहरी बलको टोली खटिएको छ ।

कसरी हुँदैछ हराएको बसको खोजी ?

हराएका बसको खोजीको लागि मूख्य रुपमा सशस्त्र प्रहरी बलको टोली खटिएको छ । सशस्त्र प्रहरी बलले ११ जना गोताखोरको टोली बस पहिरोमा परेको सिमलताल क्षेत्रको त्रिशूली नदीमा खटिएका छन् । 

त्यसबाहेक सेनाको टोली र प्रहरीको टोलीले समेत छुट्टाछुट्टै खोजी कार्य गरिरहेका छन् ।

सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार विपद् व्यवस्थापन केन्द्र कुरिनटारको गोताखोरको टोलीले एक मोटरबोटमा पानीभित्रको आकृति देखिने अत्याधुनिक क्यामेरा सोनार डिभाइस जडान गरेर खोजी कार्य थालेको छ ।

trisuli2-1721130862.JPG
 

त्यस्तै सातवटा र्‍याफ्टबोट प्रयोग गरेको छ । त्यसबाहेक १७ नम्बर गणलेसमेत सोनार क्यामेरासहित एक मोटरबोट र चार र्‍याफ्टबोट प्रयोग गरेको छ । सशस्त्र प्रहरी बलले कुल तीनवटा सोनार क्यामेरासहितको मोटरबोट र ११ र्‍याफ्टबोट प्रयोग गरेको छ ।

सशस्त्र प्रयोग गरेको सोनार क्यामेरा हालसम्म नेपालमा प्रयोग गरिएको उच्च प्रविधि हो ।  यसले साउन्ड वेभ पानीमुनि पठाएर पानीभित्रको आकृतिलाई स्क्यान गरेर हेर्न सकिन्छ । त्यसबाहेक गोताखोरको टोलीले पानीभित्र ‘पन्डुब’ हानेर हराएको बसको खोजी गरिरहेका छन् ।

तर, पन्डुब गर्दा धमिलो पानी र नदीको उच्च बहाबका कारण कठिनाइ भइरहेको खोजी उद्धारमा खटिएका एक गोताखोरको भनाइ छ ।  सोनार क्यामेरा बाहेकसशस्त्र प्रहरीले अन्डर वाटर ड्रोन क्यामेरा पनि प्रयोग गरेको छ ।

नेपाली सेनाको चितवन विपद् व्यवस्थापन गणबाट समेत एक सयजना सेनाको टोली खटिएको सैनिक प्रवक्ता सहायक रथी गौरवकुमार केसीले जानकारी दिए । जसमध्ये ८ जना गोताखोरसमेत छन् ।  

सेनाको टोलीले र्‍याफ्टबोटमार्फत त्रिशूली नदीको विभिन्न ठाउँमा खोजी कार्य जारी राखेको छ ।

यसरी परेका थिए पहिरोमा बस

काठमाडौंको नयाँ बसपार्कबाट गौरको लागि छुटेको वाग्मती प्रदेशको ०३–०११ ख २४९५ गणपतीको बस काठमाडौं छोड्दा ८ बजेर ३० मिनेट गएको थियो । उपत्यका ट्राफिक प्रहरी कार्यालय नागढुंङ्गाले राखेको रेकर्डअनुसार गौर जाँदै गरेको बस ८ बजेर ३० मिनेटमा नागढुङ्गा क्रस गरेको देखिएको छ ।

उक्त बसले एक सय १७ किलोमिटरको दुरीपार गरेर सिमलताल पुग्दा बिहानको साढे तीन बजेको थियो । उक्त बसले एक सय १७ किलोमिटरको दुरी पार गर्न आठ घण्टा लगायो ।  सामान्य अवस्थामा काठमाडौंबाट नारायणघाट पुग्न पाँच घण्टामात्रै लाग्छ ।

trisuli-4-1721130862.JPG
 

तर, निर्माणाधीन नारायणगढ–मुग्लिन सडकखण्ड र वर्षातको कारण पछिल्लो समय नारायणगढ–मुग्लिन सडक खण्डपार गर्न हरेक बसहरुलाई निर्धारित समय भन्दा बढी लाग्ने गरेको छ ।

पहिरोमा परेको काठमाडौंबाट गौरका लागि हिँडेको बसको अवस्थामा पनि त्यही भयो । रातभर पानी परेका कारण पहिरो पन्छाउँदै काठमाडौंबाट पश्चिमका लागि छुटेका रात्रीकालीन बसहरु र चितवन हुँदै काठमाडौं आउने बसहरु ३ बजेतिरमात्रै सिमलताल पुगेका थिए ।

सिमलतालमा पनि हिलोसहितको पहिरो शुक्रबार रातिदेखि नै आएको थियो । जसकारण सिमलतालमा समेत बाटो अवरुद्ध भयो ।  चितवन प्रहरीका अपरेसन कमाण्डर डीएसपी श्रीराम भण्डारीका अनुसार अवरुद्ध बाटो राति १ बजेमात्रै खुल्यो ।

त्यो ठाउँमा सामान्य पानी पर्दासमेत गेग्रानसहितको हिलो सधैँ आउने गर्छ ।  त्यसैको सुरक्षाका लागि ग्रेग्रान बग्ने ठाउँमा फलामको जालीसहितको पर्खाल हालेर रोकिएको छ ।  १ बजे डोजरले सफा गरेपछि सुरुमा बाटो एकतर्फी र पछि दुईतर्फी नै चल्दै आएको थियो ।

तर, विस्तार विस्तारै बग्दै गरेको ग्रेग्रानले सडक साँघुरो बनाउँदै गएको देखिएको छ । तीन बजेसम्म पुग्दा बाटो फेरि एकतर्फीमात्रै चल्ने अवस्थामा पुग्यो ।  तर, हराइरहेका दुवै बसका चालकहरुले त्यही बाटोमा एक अर्कोलाई पालो नदिइ आ–आफैैँले पास गर्न खोजे । तर, पास हुन नसकि दुवै बस अड्किए ।

वीरगन्जबाट आउँदै गरेको वाग्मती प्रदेश०३–००६ ख १५१६ नम्बरको एन्जल बसको अगाडि पृथ्वी राजमार्ग चल्ने सिन्धुली–पोखराको ग२ख१८२२ नम्बरको अर्को बस थियो । 

एन्जल बसका चालकले उनलाई ओभरटेक गरेर अगाडि हुँइकिएको केहीबेरमात्रै भएको थियो । त्यहीबेला काठमाडौंबाट गौर जाँदै गरेको बससमेत त्यहाँ पुगेर अड्किदा दुवै बस पहिरोमा परेको प्रहरीले जनाएको छ ।

सिन्धुली–पोखरा बसका चालक जीवन सुनारका अनुसार त्यो बाटोमा दुवै बस एक्लाएक्लै गुडेको भए सजिलै पार हुन पनि सक्थे ।  

trisuli1-1721130862.JPG
 

उनी भन्छन, “म एन्जल बसको पछाडि थिएँ । मेरो गाडीलाई एन्जल बसका चालकले ओभरटेक गरेर अघि पुगेको थियो । म पछि परेँ । तर, पहिरो आएको ठाउँमा काठमाडौंबाट आएको गाडी र एन्जल बस दोहोरो भेट भयो । दुवै पास हुन सकेनन् । त्यहीबेला जालीमा भरिएको पानी र लेदो फुटेर दुवै बस बगाएको हो ।”

काठमाडौंबाट हिँडेको बसले गाडी पास गर्न सिधा पार्न खोज्दाखोजै एक्कासी बगेको जीवनको भनाइ छ ।

भारतबाट प्रविधि ल्याउने गृहको तयारी

हराइरहेका दुवै बस चार दिनसम्म पनि फेला नपरे पछि गृह मन्त्रालयले खोजीका लागि विदेशबाट विज्ञसहितको टोली नेपाल बोलाउने तयारी गरेको छ । त्यसका लागि बंगलादेश र भारतसँग कुरा भइरहेको गृह मन्त्रालय विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका सहसचिव भिष्मकुमार भुसालले जानकारी दिए ।

पानीभित्रको आकृति देखिने प्रविधि र विज्ञटोली बोलाउन परराष्ट्र मन्त्रालयलाई पत्राचार गरिएको सहसचिव भुसालको भनाइ छ । भारतबाट प्रविधिसहितको टोली चाँडोमा आइतबारसम्म आउने उनको भनाइ छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १७:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro