काठमाडौं । देशका केही भू–भागमा बिहानैबाट वर्षा भइरहेको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । देशभरका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ ।
कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
हाल नेपालमा मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ छ ।