site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
फ्रान्सविरुद्ध स्पेन : नकआउट चरणमा जित्ने टोली युरोपियन च्याम्पियन बनेको इतिहास 

काठमाडौं । युरो–२०२४ को पहिलो सेमिफाइनलमा आज फ्रान्स र स्पेनबीच प्रतिस्पर्धा हुँदै छ । यी दुई टिमबीच कुनै प्रतियोगिता नकआउट चरणमा तीनपटक प्रतिस्पर्धा भएको छ । अचम्मको कुरा के भने, यी तीनवटै खेलमा जित निकाल्ने टिम युरोपियन च्याम्पियन बनेको इतिहास छ ।

फ्रान्स र स्पेनले सन् १९२२ मा पहिलोपटक कुनै प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए । तर, यसपछि भने यी दुई टिम कुनै प्रतियोगितामा प्रतिद्वन्द्वी बन्न ६० वर्ष कुनुपर्‍यो । पहिलोपटक १९२० को दशकमा प्रतिस्पर्धा गरेका यी दुई टिमले ६० वर्षको अवधिमा १९ पटक मैत्रीपूर्ण फुटबलमा प्रतिस्पर्धा गरेका थिए । तर, प्रतिस्पर्धात्मक प्रतियोगितामा भने यी दुई टिमले सन् १९८४ को युरो फाइनलमा दोस्रोपटक भिड्ने अवसर पाए । 

उक्त संस्करणको फाइनलसम्मको यात्रा तय गर्दा फ्रान्सबाट मिचेल प्लाटिनीले प्रतियोगिताभर दुई ह्याट्रिकसहित आठ गोल गरेका थिए । फाइनलमा पनि फ्रिकिकबाट प्लाटिनीले नै स्पेनको डेडलक तोडे । 

पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको १२ मिनेटको खेल चलिरहँदा फ्रान्सले १८ यार्ड बक्सबाहिरबाट पेनाल्टी पाएको थियो । प्लाटिनी फ्रिकिकका निम्ति अघि बढे । उनको फ्रिकिक प्रहार गोल हुने अवस्थाको नभए पनि स्पेनका कप्तान समेत रहेका गोलकिपर लुई अर्कोनाडाको हातबाट बल छुट्छ । बलले विस्तारै गोललाइन पार गर्दा अर्कोनाडा प्रतिकृयाविहीन बन्छन् । यस्तै, ९०औँ मिनेटमा बेलोनेले फ्रान्सको अग्रता दोब्बर बनाएपछि स्पेनको खेलमा फर्किने आशा समाप्त भएको थियो ।

प्लाटिनीले ट्रफी चुमे । अन्तर्राष्ट्रिय फुटबलमा फ्रान्सको यो पहिलो प्रमुख उपाधि थियो । युरोपियन च्याम्पियनसिपको एकै संस्करणमा नौ गोल गर्ने प्लाटिनीको कीर्तिमान अझै पनि कायमै छ । 

यी दुई टिम पुनः सन् २००० को संस्करणको क्वार्टरफाइनलमा प्रतिद्वन्द्वी बने । फ्रान्स यसपटक विश्व विजेताको रूपमा आएको थियो । पुनः एकपटक फ्रान्सले फ्रिकिकबाट नै अग्रता बनायो । तर, यसपटक भने फ्रान्सलाई स्पेनिस गोलकिपरको गल्ती आवश्यक परेन । जिनेदिन जिदानले ‘टप कर्नर’ जालीमा बल चुमाएपछि फ्रान्सले अग्रता बनाएको थियो । 

स्पेनले पेनाल्टीमा गोल गर्दै खेल बराबरी गर्‍यो । तर, योरी जोर्काइफले पहिलो हाफमै गोल गरेपछि फ्रान्सले २–१ को जित निकाल्दै सेमिफाइनल यात्रा तय गरेको थियो । प्रतियोगिताको फाइनलमा इटालीलाई पनि २–१ ले नै हराउँदै फ्रान्स पुनः एकपटक युरोपियन च्याम्पियन बनेको थियो ।

स्पेनिस टिमले प्रतिस्पर्धात्मक प्रतियोगितामा फ्रान्सविरुद्ध जित निकाल्न सन् २०१२ सम्म कुर्नुपर्‍यो । यसपटक स्पेन प्रतियोगिताको साविक विजेतामात्र थिएन, उनीहरू विश्व विजेता समेत थिए । प्रतियोगिताको क्वार्टरफाइनलमा फ्रान्सलाई २–० ले हराउन मिडफिल्डर जाभी अलोन्सोले नै दुवै गोल गरे । सेमिफाइनलमा पोर्चुगललाई टाइब्रेकरमा निराश बनाएको स्पेनले फाइनलमा इटालीविरुद्ध ४–० को सहज जित निकाल्दै लगातार दोस्रोपटक युरोपियन च्याम्पियन बनेको थियो ।

यी दुई टिम एकपटक फेरि युरोपियन च्याम्पियनसिपको नकआउट चरणमा प्रतिस्पर्धाका निम्ति उत्रिँदै छन् । जर्मनीको म्युनिखस्थित बुन्डेसलिगा क्लब बायर्न म्युनिखको घरेलु मैदान एलियन्ज रंगाशालामा यी दुई टिमबीच प्रतिस्पर्धा हुँदै छ । नेपाली समयअनुसार राति १२ः४५ बजेदेखि सुरु हुने खेलमा जित निकाल्ने टिम पुनः एकपटक फाइनलमा पुरानो इतिहासलाई दोहोर्‍याउने लक्ष्यमा हुनेछन् ।

स्पेन र फ्रान्सबीचको खेलमा जित निकाल्ने टिमले युरोपियन च्याम्पियनसिपको उपाधिका निम्ति आइतबार बर्लिनमा इंग्ल्यान्ड र नेदरल्यान्ड्सबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १२:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro