काठमाडौं । चलचित्रकर्मी स्वयं राम्रा सिनेमा नबनिरहेको बताउँछन् । दर्शकलाई मनोरञ्जन दिने राम्रा सिनेमा नै नबनेको चलचित्रकर्मीको भनाइ छ ।
निर्देशक घनश्याम लामिछाने राम्रा चलचित्र नबनेको भन्न हिचकिचाउँदैनन् । दर्शकले मन पराउने खालका चलचित्र नबनेको उनको निष्कर्ष छ ।
“जुन चलचित्र राम्रा बनेका छन्, ती चलचित्र दर्शकले हेरिरहेका छन् । त्यसैले चलचित्र नै राम्रा बनेनन् भन्ने मेरो बुझाइ छ,” घनश्याम भन्छन् ।
तर, राम्रा चलचित्र बन्नु र चल्नु/नचल्नु फरक विषय हो । चलचित्र चल्ने र नचल्नेमा पब्लिसिटीले ठूलो अर्थ राख्छ । सिनेमाअनुसारको पब्लिसिटी हुनुपर्छ । अन्यथा, राम्रो चलचित्र पनि नचल्ने निर्देशक घनश्यामको निष्कर्ष छ ।
मार्केटिङ कमजोर हुँदा ठिकठाक चलचित्रले पनि दर्शक तान्न नसकेको उनको बुझाइ छ । मार्केटिङ स्टाटेजी नै नरहेको उनी टिप्पणी गर्छन् । “मेरो नजरमा नेपाली चलचित्र उद्योगमा दुईवटा समस्या छन् । पहिलो, राम्रा चलचित्र बनिरहेका छैनन् । दोस्रो, मार्केटिङ राम्रो छैन,” उनी भन्छन्, “हामी अहिले पनि पुरानै मार्केटिङको ढर्रामा अल्झिरहेका छौँ । हाम्रो मार्केटिङ स्टाटेजी नै कमजोर छ ।”
नेपाली चलचित्र क्षेत्रलाई कसैले उद्योग नै नभन्ने र मार्केटिङको स्टाटेजी गर्ने संस्था तथा व्यक्ति नरहेको उनको अनुभव छ । मार्केटिङको पोलेसी बनाउने स्किल्ड मेनपावर नै नरहेको उनको गुनासो छ ।
नेपाली चलचित्रको मार्केटिङ दुईचार अनलाइन, केही सोसल मिडिया र दुईचार सहरमा गएर मान्छे भेटघाट गर्ने पुरातन शैलीमै रमाइरहेको छ । यसैलाई पर्याप्त मानिरहेको छ । घनश्याम यसलाई यसरी पुष्टि गर्छन्, “हामी फर्मुला सिनेमा भन्छौँ, हाम्रो प्रमोसन पनि त्यस्तै पुरातन फर्मुला शैलीकै छ । मार्केटिङको पुरानै शैलीका कारण सिनेमा नचलेको मैले अनुभव गरिरहेको छु ।”
जानराअनुसार सिनेमाको लक्षित समूह हुन्छ । लक्षित समूहमा पुग्ने गरी पब्लिसिटी गर्नुपर्ने हुन्छ । होइन भने आमजनतालाई कुन सिनेमा कहिले आउँदै छ भन्ने नै थाहा हुँदैन । यो हुनु भनेको चलचित्र रिलिज भएको र उत्रिएको बारेमै आमजनता बेखबर प्रायः हुनु हो । त्यसैले अहिले अधिकांश चलचित्र लक्षित समूहसम्म नपुग्ने गरेको सत्यलाई स्वीकार गर्नुपर्छ ।
“युथसेन्ट्रिक सिनेमा भए पनि पब्लिसिटी त्यही, फेमेली ड्रामा छ भने पनि एउटै शैली छ । एक्सन सिनेमा छ भने पनि त्यही पुरानै ढर्राको प्रचारशैली छ,” घनश्याम भन्छन्, “सिनेमाका यी तीनवटा जानरा हुन् । तीन जानराका छुट्टाछुट्टै दर्शक छन् । ती छुट्टाछुट्टै दर्शकसामु पुग्नुपर्ने हो । तर, त्यसरी पब्लिसिटी भइरहेको छैन ।”
कुन सिनेमाको लक्षित समूह कुन भनेर क्याटागोराइज गरेर त्यहीअनुसारको मार्केटिङ स्टाटेजी बनाउनुपर्ने अहिलेको आवश्यकता हो । तर, यही मुख्य पक्ष हुन सकिरहेको छैन ।
बजेट हुनेले पनि मार्केटिङ स्टाटेजी नहुँदा राम्रोसँग पब्लिसिटी गर्न नपाएको उनी बताउँछन् । सिनेमा बनाइरहेका ६० प्रतिशत मेकरसम्म पब्लिसिटी गर्ने बजेट हुने तर मार्केटिङ स्टाटेजी गर्ने स्किल्ड मेनपावर नहुने घनश्यामको जिकिर छ ।
मार्केटिङको स्टाटेजीमा परिवर्तन आउन नसक्नुका पछाडि निर्माता पनि उत्तिकै भागीदार छन् । दुईचार अनलाइन र प्रोगाममा नाम आएकै भरमा सिनेमाको पब्लिसिटी भयो भनेर दंग हुने निर्माता र निर्देशक पनि नेपाली चलचित्रको फर्मुला पब्लिसिटीको हिस्सेदार हुन् ।
“हामी पब्लिसिटी भयो भनेर बसिरहेका हुन्छौँ । तर, हाम्रो सिनेमाको टार्गेट अडियन्ससम्म सूचना नै पुगिरहेको हुँदैन,” उनी भन्छन्, “यो म आफैँले ‘लन्डन टु पेरिस’ चलचित्रमा गरेको अनुभव हो । मेरो सिनेमाको टार्गेट ग्रुप जुन हो, त्यसमा मैले नै सिनेमा पु¥याउन सकिनँ ।”
सही स्टाटेजी नहुनु भनेको टार्गेट अडियन्ससम्म सिनेमा नपुग्नु हो । मेकरले बुझ्न नसकेको पनि यही हो ।
चलचित्र रिलिजअगाडि सार्वजनिक गरिने पोस्टर, टिजर, ट्रेलर, गीत नै नेपाली सिनेमाका पब्लिसिटीका मुख्य कन्टेन हुन् । यसबाहेक ठूला ब्यानरमा निर्मित चलचित्रले देशका केही मुख्य सहरमा गएर पत्रकार सम्मेलन र कतिपय स्कुलमा गर्ने साक्षात्कार तथा सिजनमा केही महोत्सवमा स्टेज सेयर गर्छन् । यसबाहेक केही सञ्चारमाध्यममा दिने अन्तर्वार्ता र सूचना नै मुख्य पब्लिसिटी हो । हलमा ट्रेलर बजाउने पनि चलन छ ।
‘बोक्सीको घर’जस्ता सोसल ड्रामा वा ‘लन्डन टु पेरिस’जस्ता रोमान्टिक लभस्टोरी अथवा एक्सन सिनेमा ‘लाखे’ आए पनि पब्लिसिटी गर्ने तरिका यही नै हो ।
समय फेरियो, सूचना थाहा पाउने माध्यम फेरिए । चलचित्रमा अभिनय गर्ने कलाकार फेरिए । त्योभन्दा पनि महत्त्वपूर्ण त सिनेमा हेर्ने दर्शक फेरिए । योभन्दा पनि महत्त्वपूर्ण त मनोरञ्जनका प्लेटफर्म फेरिए । थपिए । प्रचारको शैली भने उही राजेश हमालकै पालाको छ । उही पोस्टर, उही ट्रेलर । अनि, कसरी पुग्छ सिनेमाको सूचना टार्गेट अडियन्समा ?
त्यसमा पनि सिनेमा कस्तो, के हो कथा भनेर मेकर र कलाकारलाई सोधे सबैले सधैँ दिने रेडिमेड जवाफ एउटै छ– अहिले नै कथा भन्यो भने सिनेमामा चाहिँ के हेर्ने ? कथा थाहा पाउन सिनेमा नै हेर्नुपर्छ । कथा थाहा पाउनु र त्यही कथा सिनेमामा हेर्नु फरक पक्ष हो ।
रिलिजअगाडि सिनेमाको कथा जानकारी नदिने हो भने के हेर्न दर्शक हलमा जाने ? सिनेमाबारे केही कुरा थाहा पाएपछि त्यसको बाँकी विषय अथवा कसरी प्रस्तुत गरिएको रहेछ भन्ने हेर्न दर्शक हलमा जाने होइन र ?
सिनेमाको कथाबारे जानकारी दिए चलचित्र हेर्न दर्शक हलमा आउँदैनन् भन्ने लाग्छ भने प्रकाशनमा आएर हिट भइसकेका कृतिमा किन चलचित्र बनाइन्छ ?
‘सेतो बाघ’, ‘वासुदेव’, ‘मसान’, ‘समर लभ’, ‘तीन घुम्ती’ ‘वसन्ती’, ‘बसाइँ’, ‘प्रेमपिण्ड’, ‘झोला’, ‘मसान’, ‘सिरिसको फूल’, ‘मुनामदन’लगायत आख्यान धेरैले पढिसकेका थिए । दर्शकले कथा थाहा पाइसकेका थिए । त्यसो भए किन चलचित्र बनाइयो ?
विश्वका सीमित प्रसिद्ध सिनेमाका नाम लिँदा साहित्यिक कृतिमाथि निर्मित चलचित्र पर्छन् । त्यसैले सिनेमाको कथा भन्दैमा दर्शक घट्छन् भन्ने भ्रममा मेकर पर्नु हुँदैन ।
विश्वमा थुप्रै बायोपिक बनेका छन् । आत्मकथा निस्किएर लोकप्रिय भएपछि त्यसकै आधारमा चलचित्र बनाइएको छ । र, तिनै बायोपिक लोकप्रिय भएका छन् । कुनै सफल व्यक्तिले जीवनमा कति अन्तर्वार्ता दिएको हुन्छ ? उसका सयौँ अन्तर्वार्ता र न्युज स्टोरी आइसकेका हुन्छन् । पुस्तक आइसकेको हुन्छ । उनीहरूकै बायोपिक पनि हिट हुन्छन् । त्यसैले कथा रिलिज हुँदा/मिडियामा आउँदा हलमा दर्शक नआउने होइन, त्यसले थप कौतूहल सिर्जना गर्छ भन्ने तथ्यलाई बुझ्नुपर्छ ।
नेपाली मेकरले मार्केटिङ स्टाटेजी बुझ्न नसक्दा धेरै चलचित्रले सम्भावना हुँदाहुँदै दर्शकको अभाव झेल्नु परिरहेको निर्देशक मिलन चाम्स बताउँछन् । यो उनको आफ्नै अनुभव पनि हो ।
“हामी मेकर अहिले नै कथा खोलेर सिनेमामा के देखाउने भन्छौँ, वस्तावमा यो नै गलत रहेछ,” मिलन भन्छन्, “कथा के हो भनेर खोलेपछि दर्शक सिनेमा हेर्न जाँदैनन् भन्ने भ्रमबाट हामी बाहिर आउनुपर्ने रहेछ ।”
मिलन पब्लिसिटीको आइडिया नहुँदा यसो भन्ने गरिएको बताउँछन् । सिनेमा के हो, के देखाउन खोजिएको छ, कस्तो कथा समेटिएको छ त्यो दर्शकलाई थाहा दिएर कौतूहल सिर्जना गर्न सक्नुपर्नेमा उनी जोड दिन्छन् । तर, यसमै नेपाली मेकर चुकिरहेका उनी बताउँछन् ।
पब्लिसिटीले कौतूहल सिर्जना गर्न सक्नुपर्छ, जसले हलसम्म दर्शकलाई तान्न सहयोग गरोस् ।
जसरी नेपाली चलचित्र उद्योगमा लामो समय एउटै फर्मुलामा चलचित्र बनाइयो, ठिक त्यसैगरी अहिले एउटै फर्मुला/ढर्रामा पब्लिसिटी भइरहेको छ । यसमा तत्काल समयानुकूल परिवर्तनको आवश्यकता छ ।
सिनेमाको कथा, विषयवस्तु नै लुकाएपछि दर्शकमा न कौतूहल हुन्छ न कुनै अपेक्षा । त्यसैले दर्शक केका लागि हलसम्म जान्छन् ? मेकरमा लुकाउन खोजेको विषयमा नै कौतूहल हुन्छ भन्ने भ्रमले घर गरेको छ ।
तर, त्यही कौतूहल सिर्जना गर्न केही न केही कथा त खोल्नुपर्ला । अन्ततः जसरी सिनेमाको कथा पाठकस्रोता वा दर्शकसमक्ष मेकरले लुकाउँदै जानकारी दिन आवश्यक ठान्दैनन्, त्यसैगरी दर्शकले पनि उनीहरूका सिनेमा हेर्न आवश्यक ठानिरहेका छैनन् ।