site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
क्यान कार्यसमिति बैठकमा सदस्यहरूको असन्तुष्टि

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय कार्यसमिति बैठकप्रति पदाधिकारीहरू असन्तुष्ट बनेका छन् ।

क्यानको बिहीबार बसेको बैठकले कुल १३ निर्णय गरेको थियो । सोही बैठकले क्यानका उपाध्यक्ष रोशनकुमार सिंहसहित दुई कार्यसमिति सदस्य र एक जिल्ला क्रिकेट संघका अध्यक्षलाई स्पष्टीकरण सोध्ने निर्णयसमेत गरेको छ । जसमा कार्यसमिति सदस्यद्वय दुर्गाराज पाठक र माधवकुमार कर्माचार्यसँगै सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष चेतनाथ पौडेल छन् ।

क्यानले ट्वान्टी–२० विश्वकपमा दौरान संघ र पदाधिकारीहरूलाई लक्षित गरी आधारहिन कुराहरू र विवादास्पद अभिव्यक्ति दिएर नकारात्मक सन्देश प्रवाह गरेको भन्दै पदाधिकारीहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरिएको जनाएको छ । तर, केन्द्रीय सदस्य पाठकले भने क्यानमा व्यक्तिवाद हावी बनेको बताए ।

“विश्वकपका लागि गएको नेपाली टिमको खर्चमा हाम्रो असहमति छ । खर्चको विवरण नल्याइ आफ्नो तरिकाले गर्न खोजिरहेका छन् । यसमा हाम्रो आपत्ति हो । हामीले यसमा कुरा राख्दा उहाँहरू अलि आक्रोशित बन्नु भयो,” पाठकले बाह्रखरीसँग भने, “अलि व्यक्तिवाद हावी भएजस्तो भयो । यो लोकतान्त्रिक संस्था हो । यहाँ आफ्नो विचार राख्न पाउने अधिकार छ । संस्थागत विषयमा धारणा राख्ने हो । मैले अहिलेसम्म संस्थाको अहितमा कुनै पनि धारणा राखेको छैन ।”

यस्तै, उपाध्यक्ष सिंहले सत्य नलुक्ने जनाउँदै आउँदो आइतबार क्यानबाट भएको निर्णयप्रति आफूहरूले धारणा सार्वजनिक गर्ने बताए ।

“उहाँहरूले के गर्नुभयो– के आधारमा गर्नुभयो भन्ने विषयमा जान चाहँदैनौँ । आइतबारपछि यसबारे केही कुरा आउँछ होला,” सिंहले बाह्रखरीसँग भने, “सत्य लुक्दैन । सत्यको लडाइँमा लड्दा भएका कुराहरू प्रमाणित नै छन् । हामीले पनि यसबारे आफ्नो कुराहरू बाहिर ल्याउने छौँ ।”

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १८:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro