site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Global Ime bankGlobal Ime bank
भगौडा ‘बाहुनलाहुरे’को बकपत्र - २

नेपाल छोडेर हिँडेको अर्थात् चलनचल्तीको शब्दमा ‘भगौडा’ भएको चौध वर्ष भएछ ।  पुराना लेखहरू खोतल्दै गर्दा सन् २०१५ तिर लेखेको एउटा आफ्नै लेख भेटेँ - भगौडा बाहुनलाहुरेको बकपत्र ! त्यसैको दोस्रो भाग लेख्न कस्सिएको छु। 

गएका चौध वर्षमा म जन्मे हुर्केको फाँट नजिकै बग्ने वाग्मतीमा निकै पानी वा ढल बगे हुनन्, त्यसको के लेखा गरिबस्नु? 

भर्खरै क्रिकेटको बीस-बीसे विश्वकपको संस्करणमा नेपालको लोभलाग्दो प्रदर्शन रह्यो । रमाएँ ।  त्यो क्रिकेट टोलीले हासिल गरेको उपलब्धिमा वा निराशामा मजस्ताको चिम्टीभर पनि योगदान छैन र पनि जतिखेर अन्तिम विजयी रन बनाउन गुलसन झा अलमलिए, उनको ढाडमा बज्रेको बल मेरै ढाडमा बज्रे झैँ लाग्यो । टेक्ससको रंगशालामा नेपाल नेपाल भनेर उफ्रेको निलो जर्सीधारी समुद्र देखेँ, सोचेँ - अहो, भगौडा दरिएकाहरू कति रहेछन् नेपाललाई माया गर्ने भनेर । 

बंगलादेशी खेलाडी तान्जिमले रोहित पौडेललाई के भन्यो कुन्नि, उसको बोके दारीमा झुन्डिउँ कि जस्तो रिस उठ्यो । सँगै मेरी छोरी खेल हेर्दै थिई ऊ पनि आवेशमा आई । यो के भएको हो थाहा छैन तर पनि अहिले म जुन देशको नागरिक छु त्यसको पनि क्रिकेट टिम थियो त्यो प्रतियोगितामा । एकै खेल उनीहरूको चाहिँ हेरिएनछ। 

बंगलादेशसँगको हारपछि टीभीको ठूलो स्क्रिनमा रोइरहेको एक परिचित अनुज देखेँ । पञ्चायतले ती भाइका हजुरबुवा श्रीप्रसाद पराजुलीलाई प्रजातन्त्र मागेकै कारण मारेको सम्झेँ । सहिदको नाति, वर्तमान प्रदेश सांसदको छोरो नेपाल हारेकोमा रोइरहेको देखेँ । मन काटियो । त्यो पराजुली भाइ भगौडा दरिएकाहरूको प्रतिनिधि पात्र हो उत्तर अमेरिकामा रहेका नेपाली मूलकाहरूको । खेलप्रतिको लगाव र नेपालप्रतिको स्नेहले उसलाई क्यानाडादेखि क्यारेबियन पुर्‍याएछ । 

नेपाल र नेपालीप्रति त्यत्रो अगाध स्नेह भएरै पनि किन भाग्छन् नेपालीहरू ? प्रश्न फेरि बल्झियो । विसं २०६५ छेक हुनुपर्छ विवेक लुइँटेल र कोटेश्वरले चर्चा पाएको । अब त ती बालक तिनका बाउआमाबाहेक अरूका विस्मृतिमा पुगे होलान् ।  त्यतिखेर घरीघरी मलाई मेरो छोराको अनुहार विवेकसँग मिलेझैँ लाग्थ्यो र झसङ्ग झसङ्ग भइरहन्थेँ म ।  अलिपछि ख्याती श्रेष्ठको निर्जीव तस्बिरमा मेरी छोरीको अनुहार देख्न थालेपछि म बेतोड भाग्न थालेँ । एउटा भगौडा बन्न सयकडौं हिम्मत जुटाउनुपर्ने रहेछ।  त्यो सबै कर्म गरेर भूगोलको अर्को पाटोमा रहेको देशमा ‘लाहुरे’ हुन पुगेँ । यी मेरा कथा हुन् र सायद मजस्ता भगौडाको प्रतिनिधि आख्यान पनि। हो ! म बाहुनलाहुरे - क्यानाडाको ।  

विदेश पलायन रहर होइन बाध्यता हो भनेर आत्मरतिमा रमाउनेहरूलाई म चुनौती दिन्छु - विदेश पलायन रहर हो, बाध्यता हुँदै होइन। अधिकांश नेपालीका सोचमा बसेको ' दोस्रो दर्जाको नागरिक' भन्ने पदावलीलाई समेत चुनौती दिन्छु - सबै विदेसिएकाहरू दोस्रो दर्जाको नागरिक छैनन् । रहर वा बाध्यताले आफ्नो पेसागत प्रोफाइल किरिङमिरिङ पार्नेहरू भने छन् यस जगतमा। 

सन् १९९७ को जुन महिनामा बेलारुसको आर्किटेक्चर पढाइको अन्त्यमा मेरा थेसिस गुरु भ्लादिमिर इलिच बकाएभले विद्यावारिधि ढिलो चाडो गर्न सकिन्छ।  काम गर्न मिन्स्क नै  बस, म खाने बस्नेसम्मको जोहो गरिदिउँला भनेका थिए मलाई । महिनाको एक हजार अमेरिकी डलरले रहर उमार्नै सकेन उतिखेर । बडो गर्वका साथ भने - मान्यवर,  म नेपाली हुँ । मेरो देश, मेरा बाउआमा, मेरो समाज मलाई पर्खिरहेछ, म फर्किन्छु। र म फर्केँ । 

लगत्तै भर्खर खुलेको निजी इञ्जिनियरिङ कलेज 'नेक' ले प्राध्यापनको मौका दियो । मलाई लाग्यो २५ वर्षे भर्भराउँदो उमेरमा बिनाकुनै उपाधिको फुर्को  उपप्राध्यापकको पद के मैले मिन्स्कमा पाउथेँ ? 

विसं २०५५ सालमा पुल्चोक क्याम्पसले करारसेवामा नियुक्ति दियो उपप्राध्यापककै ।  त्यो पनि नेपालमा भएरमात्रै सम्भव भएको हो। मिन्स्कमा ? भन्न सकिन्न । किनभने त्यतिखेरसम्म स्नातकले स्नातकलाई पढाउन पाइन्थ्यो त्रिविका प्राविधिक अध्ययन संस्थानहरूमा । 

विसं २०५५ कार्तिकमा करार सेवामा प्रवेश गरेपछि मैले फर्केर हेर्नै  परेन । उँभो लागेको लाग्यै २०५७ चैतमा स्थायी, २०५८ चैतमा परीक्षण कालको  समाप्ति, २०५८ चैत २४ को निर्णयले वैशाख २, २०५९ देखि पूर्वान्चल क्याम्पस धरानको क्याम्पस प्रमुखमा नियुक्ति । मैले कुन मुखले भन्न मिल्छ देशले मलाई केही दिएन भनेर ? बत्तीस वर्षको उमेरमा त्रिविको आंगिक क्याम्पसको क्याम्पस प्रमुख हुने मान्छे हुँ म । मैले भन्न मिल्छ पलायन मेरो बाध्यता हो भनेर ? 

मलाई लाग्छ, पहिलो विश्वमा पलायन भएका सबै कि त राज्यको सुविधामा पढ्न हिँडेका वा राज्यको सुविधामै पढेर मुलुकमा फर्की काम गरेर कमाएको अनुभव प्राप्त भएको अंकका आधारमा हिँडेका हुन् । तिनलाई पलायन रहर थियो बाध्यता होइन।  म आफू पनि त्यही कोटीको हुँ । यो वा त्यो बहाना देखाएर भागेको भगौडा । रगत पसिना खर्चेर अर्काको देश बनाउने युवा पाखुराहरू भने भगौडा होइनन् । ती फर्किन्छन् - कोही सार्सउँदो त कोही बक्सामा । 

किस्साको अर्को पाटो पनि कम खँदिलो भने छैन । गरिखान नदिए पनि, घुँडोचिउँडो एक गरेर जिम्मेवारी पूरा गर्दा थरिथरिका भाँजो हाले पनि त्यतिखेरसम्म मान्छेले सहँदो रहेछ जबसम्म उसको चरित्रहत्या गरिँदैन वा उसको हुर्मत काढिँदैन । जब आफ्नो कुत्सित राजनैतिक (?)  स्वार्थ  सिद्ध  गर्न कसैलाई घुस्याहा भनिन्छ अनि घुस्याहा नबनी माथि पुग्ने सपना देख्नेको चित्त फाट्दो रहेछ । आफ्नो मेहनतले माथि पुग्ने अभीष्ट भएको नौजवानलाई  बाउपट्टिका र आमापट्टिका थरीथरीका नाता गाँसिदिएर जब हुर्मत लिने प्रयास गरिन्छ त्यो अत्तालिँदो रहेछ र भाग्दो रहेछ । 

सहश्र गन्जागोलभित्र पनि सकारात्मक सुधार गर्न सकिन्छ भन्नेलाई खेदो खनिन्छ भने त्यसले गर्छ के ? कि जोदाहा बनेर प्रतिरोध गर्छ नभए 'लौ  गरिखाओ ' भनेर पलायन हुन्छ, भगौडा बन्छ ।  म भगौडा हुँ । 

पूर्वाञ्चल क्याम्पसमा आफ्नो ठेकिएको चार वर्षे कार्यकालको डेढ वर्ष बाँकी थियो। समय बाँकी  छँदै बाध्यात्मक परिस्थिति स्वीकारेर सहर्ष बहिर्गमित हुँदै गर्दा मैले एउटा उपमा दिएको थिएँ - म नालापानी  किल्ला  छोडेर  हिँडेको बलभद्र कुँवर हुँ।   मुलुक र दरबारभित्रका तमाम बेथितिको मुकाबिला गर्न नसकेर भागेको थकित, पराजित एउटा योद्धा । आफ्नो खुकुरीको सीपको कदर खोज्दै बलभद्र अंग्रेज सेना सँग लड्न आफ्ना रहलपहल शक्तिसहित शिख महाराज रणजीत सिंहको सेनामा समाहित भए । म सीपको खुकुरी बोकेर काठमाडौं फर्केँ । अझै सीप तिखारेँ । 

जो मलाई कदम कदममा घुस्याहा भन्थे, मेरो चुनौती स्वीकार गरेर ममाथि लगाइएको आरोपको पुष्टि गर्न बनेको प्रतिवेदन सिरानीमा हालेर बसे, मलाई त्यो रिपोर्ट देखाउने आँटसम्म गरेनन्, किनभने त्यो पुष्टि हुनै सक्दैन थियो । मान्छेको चरित्रहत्याको पश्चाताप सायद उनीहरूको नियति थियो, अहिले यदाकदा साखुल्ले पल्टिने गर्छन् । 

आदर्शले पेट भरिन्न । आदर्शले, बाउबाजेले कमाइदिएको प्रतिष्ठाले, आमाले आजन्म दिएको शिक्षाले अनैतिक हुन दिएन । घुस्याहा हुन सकिएन । अनर्थ नलागोस्, नेपालभित्रै  रहेका सबै घुस्याहा, अनैतिक, आदर्शविहीन भन्न खोजिन । नेपाल अहिले राम्रो नराम्रो जे छ त्यसको जस अपजस त्यहीँ भित्र रहेकाले पाउनुपर्छ । जो जुधेर बसे, स्तुत्य छन् । सबै त्यति जोधाहा हुन्नन्, लुरे, लुखुरे पनि हुन्छन्। सबैमा बेथितिसँग जुध्ने ताकत हुँदैन । सत्य त्यही हो। त्यस्ता लुखुरे, लुरेहरूले गर्ने के ? भाग्ने । 

अनेक प्रपञ्च रचेर बहादुर बनेकाहरू नेपालभित्रबाट चिच्याएर 'ए भगौडा' भन्छन् र म ‘ज्यू ख्वामित’ भन्छु । आफ्नो कर्मले आर्जेको सम्पत्तिमा जब आफ्नै शिष्यको मुखुण्डो लगाएका तन्नेरीहरूले पुल्ठो झोस्ने बहादुरी प्रदर्शन गर्छन्, लुखुरेहरूले गर्ने के हो ? भाग्ने । हो, म  त्यस्तै एउटा भगौडा हुँ । 

अन्त्यमा, नागरिकको दर्जा हुँदैन ।ऊ कि नागरिक हुन्छ कि अनागरिक । म विसङ्गतिसँग लड्न थाकेर भागेको एउटा हुतिहारा भगौडा बाहुनलाहुरे, नेपाली मूलको क्यानाडेली नागरिक । आधाआधी बैंस नेपालको जागिरमा गिरेर बुढ्यौलीमा भागेको भगौडा । जुनदिन हिमालको काखले आइज भनेको सुन्ला अन्तःस्करणले, आउन पनि कसैले छेक्न नसक्ला । नजा भनेर कसैले नरोक्ला पनि । त्यसैले जता रहे पनि मन मुटुमा नेपाल राखेर बाँच्ने हो, बाध्यता केही छैन। उतै आएर पुर्लुक्क पनि हुन सक्छु, यतै घुप्लुक्क हुन पनि सक्छु !  तर, जतिन्जेल बाँच्छुछु, जहाँ जिउँछु, नेपालको छोरो भनेर चिनिने छु ! जय नेपाल !

(न्युमार्केट, क्यानाडा) 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, असार १७, २०८१  ०८:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro