site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पक्राउ पर्नुअघि बर्खास्तीका न्यायाधीशसँग मदिरा सेवनमा थिए भण्डारी

काठमाडौं । नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लालीगुराँस सहकारी संस्थाका अध्यक्षसहित चारजनालाई पक्राउ गर्‍यो । बचतकर्ताको रकम अपचलन गरेको उजुरीपछि सहकारीका अध्यक्ष अमरदास श्रेष्ठ, सचिव एवं प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी पक्राउ परेका हुन् ।

कोषाध्यक्ष अमृतकुमार अर्याल र सञ्चालक सदस्य कदमबाबा जोशी प्रधानलाई समेत पक्राउ गरिएको कार्यालयका प्रमुख एवं एसएसपी सानुराम भट्टराईले जानकारी दिए । उनीहरूले तीन करोड रुपैयाँ ठगी गरेको उजुरी प्रहरीले पाएको एसएसपी भट्टराईले बताए ।

ललितपुरको पुल्चोकमा मुख्य कार्यालय रहेको लालीगुराँस सहकारीमा २२ हजार बचतकर्ताले ६ अर्ब ३० करोड रुपैयाँ जम्मा गरेका पाइएको छ । बचतकर्ताले रकम फिर्ता नपाएपछि गएको चैत १ मा जिल्ला प्रहरी कार्यालय ललितपुरमा जाहेरी दिएका थिए ।

Lalai-1719757707.jpeg
 

प्रहरीले जाहेरी दर्ता गरी अनुसन्धान थालेदेखि भण्डारी लुकीछिपी बस्न थालेका थिए । उनीसहित सहकारीका नौजनामाथि अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत ललितपुरबाट पक्राउ अनुमति लिएको थियो । तीमध्ये प्रहरीले चारजनालाई शुक्रबार र शनिबार गरेर नियन्त्रणमा लिएको हो ।

चार महिनायता भण्डारी ललितपुर र काठमाडौंका विभिन्न ठाउँमा ‘सेल्टर’ बनाउँदै बसेका थिए । अन्ततः काठमाडौंको चुनदेवीस्थित एक रेस्टुरेन्टबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले भण्डारीलाई पक्राउ गरेपछि अरू तीनजनालाई नियन्त्रणमा लिएको थियो ।

बर्खास्तीका जिल्ला न्यायाधीशसँग मदिरा पिउँदै थिए भण्डारी
प्रहरीले सहकारीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीलाई चैतदेखि खोजीको सूचीमा राखेर अनुसन्धान थालेको थियो । तर, करिब चार महिनासम्म उनी प्रहरीलाई छक्याउन सफल भए ।

प्रहरीको पन्जाबाट उम्कन उनी काठमाडौं र ललितपुरको भैँसेपाटीस्थित घरमा राति मात्र प्रवेश गर्थे । अधिकांश समय घरबाहिर बस्थे ।

प्रहरीले उनीमाथि पछिल्लो समय निगरानी बढाएको थियो । राजनीतिक दलका उपल्ला तहका नेतादेखि सुरक्षा निकायका अधिकारीसँग समेत भण्डारीको निकट सम्बन्ध छ ।

पछिल्लो समय भण्डारीलाई जसरी पनि पक्राउ गर्नुपर्ने दबाब प्रहरी अधिकारीलाई थियो । त्यसनिम्ति उक्त कार्यालयले प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिल घिमिरेको नेतृत्वमा टोली परिचालन गरेको थियो ।

qwfmdkgm-1719752340.jpg

घिमिरेको कमान्ड र ललितपुर प्रहरीको टोलीले भण्डारी राति घर फर्कन सक्ने भन्दै निगरानी थालेको थियो । त्यो सूचना भण्डारीको कानसम्म पुग्यो । भण्डारीले उल्टै आफन्तमार्फत प्रहरीलाई घर फोड्ने तरिकाले ‘चोर’हरूले निगरानी गरेको सूचना दिए ।

त्यसपछि प्रहरी टोलीमाथि सोधपुछ गराउन प्रहरी प्रभाग भैँसेपाटीको कार्यालयमा फोन गयो । लगत्तै प्रहरीले भण्डरीको खोजी झन् तीव्र पार्‍यो ।

गएको शुक्रबार उनले काठमाडौंको चण्डोलस्थित एक कोरियन रेस्टुरेन्टमा मदिरा सेवन गर्दै गरेको सूचना प्रहरीले पायो । प्रहरी टोली त्यहाँ पुग्यो ।

अनुसन्धानमा खटिएका प्रहरीका अनुसार, त्यति बेला भण्डारी केही समयअघि मात्र न्याय परिषद्ले बर्खास्त गरेका एक जिल्ला न्यायाधीशसँग मदिरा सेवन गरिरहेका थिए । मदिरा सेवनका बेला प्रहरीले उनीमाथि सोधखोज गरेन । निगरानी मात्र गर्‍यो ।

सोही बेलुका साढे आठ बजेतिर उनी क्याप र मास्क लगाउँदै त्यहाँबाट निस्कन खोजे । त्यतिखेर प्रहरीको टोलीको सोध्यो, ‘तपाईं सुरेन्द्र भण्डारी हो ?’

भण्डारीको जवाफ थियो, ‘हो, म सुरेन्द्र हो । किन सोधेको ?’

त्यसपछि प्रहरी टोलीले उनलाई नियन्त्रणमा लियो । थप अनुसन्धान गर्न उनीहरूलाई ललितपुर प्रहरी कार्यालयमा पठाइएको छ ।

पक्राउ परेका अध्यक्ष श्रेष्ठ ३१ वर्ष नेपाल बैंक लिमिटेडमा काम गरी म्यानेजर पदबाट अवकाश पाएका कर्मचारी रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । आरोपितविरुद्ध काठमाडौं प्रहरीमा समेत ठगीको उजुरी छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १८:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro