site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
मानवता मेटिएकै हो त !  

लैनसिंह बाङदेलद्वारा लिखित ‘लङ्गडाको साथी’ विधागत दृष्टिकोणले उत्कृष्ट उपन्यास हो । झन्डै १६ वर्षअगाडि प्रथम संस्करणका रूपमा यो कृतिले बजारमा प्रवेश पाएको रहेछ । रत्न पुस्तक भण्डारले अठारौँ संस्करणको रूपमा २०८० मा यो पुस्तक बजारमा ल्याएको रहेछ । उपन्यास जम्मा ६९ पानामा संरचित छ । उपन्यास एकै बसाइमा पढेर सकिने, क्षीण कथानक भएको लघुआकारको छ ।

क्यापिटल सिनेमा, टाउन हल, लोयड्स रोड, माउन्ट प्लेजेन्ट, डाकघर, स्टेसनजस्ता ठाउँहरूले दार्जिलिङलाई प्रतिनिधित्व गरेका छन् ।

दुवै खुट्टा नचल्ने र सडकमा मागेर गुजारा गर्ने लङ्गडो उल्लिखित तिनै ठाउँहरूमा प्राण धान्नका लागि संघर्षरत छ । उसका कोही आफन्त छैनन् । उसको साथी, आफन्त वा प्राण जे भने पनि पछि मानवेतर प्राणी कुकुर जोडिन पुग्छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

एक समयपछि कुकुर हराएको छ । लङ्गडामा बेचैन उत्पन्न भएको छ । जिन्दगीदेखि विरक्तिएको छ । अब उसमा बाँच्ने आशा पनि कम हुँदै गएको छ । बाँच्नका लागि कसै न कसैको सहारा त आखिर चाहिने नै रहेछ ।

सम्पन्नताले भरिपूर्ण व्यक्तिले घृणाको दृष्टिकोणले हेर्ने समाजमा कोइला बोक्ने, कुल्ली, ठिटो, मातेको मान्छेले बरु सद्भाव, प्रेम देखाएका, दुःख भोग्नेले मात्र थाहा पाउँछ अर्थात् अचनोको पीर खुकुरीले जान्दैन युक्ति ठ्याक्कै चरितार्थ भएको छ । बरु, दुःखी मान्छेको पीडा मानवेतर प्राणी कुकुरले बुझेको छ ।

दया, माया र सद्भाव पनि वर्गीय हुने कुरा देखाउन खोजिएको छ । कस्तो निर्दयी समय !

जस्तो कि–
लङ्गडाले हात पसार्‍यो । एउटा ताँवाको पैसा र दुइटा दुअन्नी हातमा खसे । .... उसको अनुहार कोइलाको धुलोले कालो देखिए पनि त्यो कोइला बोक्ने कुल्लीको आभ्यन्तर उदारता, मानवता र आत्मीयताले साह्रै उज्ज्वल, साह्रै पवित्र र निष्कलङ्क देखिन्थ्यो । (पृष्ठ – ४९)

समाजकै रक्षार्थ खटिएका पुलिस, भलादमी किन यतिविघ्न मात्तिएका ! यिनै पात्रहरूसँग लङ्गडो प्रताडित छ ।

स्कुल पढ्ने केटाकेटी किन यतिविघ्न उच्छृंखल भएका ! हामीले कस्तो खालको शिक्षा दियौँ ? कठै ! बल्लबल्ल जोडेको दुई÷चार रुपैयाँ पनि चोरी हुने ।

लङ्गडाले आफ्नो परिचय दिन समेत नमान्नु स्वयं मान्छेप्रति विश्वास उडेको अवस्था हो ।

घर न घाट भएको लङ्गडो प्राकृतिक विपत्ति पानीसहितको हावाहुरीबाट बच्नका लागि कुनै घरको सिँढीमा आश्रय लिन लाग्दा दानवरूपी मान्छेले लछारपछार गर्दै सिँढीबाट लडाइदिन्छ । त्यही लछराइ नै लङ्गडाको मृत्युको कारण बन्छ पुग्छ ।

साँच्चिकै मान्छे यो हदसम्म पनि पुग्न सक्छ र ? साँच्चिकै मान्छेमा दया, माया निख्रिएकै हो त ?

हामीले कस्तो समाज बनायौँ, ओहो ! बडो सोचनीय लाग्ने ।

समाज चेतनाशून्य, स्वार्थी, चरम व्यक्तिवादी बन्दै गएको छ भन्नका लागि यी कुरा पर्याप्त छन् भन्न सकिन्छ ।

दार्जिलिङको जाडो, एकसरो कपडा समेत तनमा नभएको लङ्गडोलाई प्रकृतिले बरु विभेद नगरेको, अवस्था हेरेर सहयोग नै गरेको तर मानवले असाध्यै निन्दनीय व्यवहार गरेको विषयमा उपन्यासमा छ ।

‘मानवता हराएको समाज’ उपन्यासको सार हो । उपन्यासमा बाङदेलले तत्कालीन समाजको अवस्था चित्रण गरेको देखिन्छ । वर्तमान पुँजीवादी समाजमा यो अवस्था अझै विकराल बन्दै छ । यसर्थमा यो उपन्यास कालचेतनाले युक्त छ भन्न सकिन्छ ।

उही ठाउँहरू दोहोरिइरहने, क्षीण कथावस्तु, उही परिवेश र शब्द पनि दोहोरिइरहने कारण उपन्यास कहीँकहीँ पट्यारलाग्दो पनि बन्न गएको छ । तर, मान्छेभित्रको मानवताको लेखाजोखा उपन्यासको मर्म छ, त्यसले पाठकलाई तान्छ नै ।

निःसहाय, आफन्तहीन, समाजहीन मान्छे के आधारले बाँच्छ होला ? जिउनु के हो ? सास केमा अड्केको छ ? मेरो मनमा उत्पन्न प्रश्न !
 

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  ०७:१३
प्रतिक्रिया दिनुहोस्