पारि छिमेकी गाउँमा
गाडी गुडिरहेको देखेर
आफ्नो गाउँमा गाडी आउने सपना बुन्दै
ढाडमा जलजलाउँदा फोका उठाएर
फाटेको टोपीले पसिना पुछ्दै
उकाली र ओराली गर्दै
तोक्माको सहाराले
नुनको भारी खेपिरहेछ बलम्टा
कहिले नाकै ठोकिने उकाली चढ्छ
कहिले ठाडो ओराली झर्छ
नुन, तेल र रासनको खोजीमा
घरी चनौटे हुँदै भण्डारे पुग्छ
घरी चनौटे हुँदै रसुवा पुग्छ
नियति नै बनिसकेको छ यो उसको
एक्काइसौँ शताब्दीमा पुगिसक्दा समेत
अँध्यारो ओढिरहेछ बलम्टा
नजिकै अविरल बगिरहेकी
उर्लंदो सुनकोसीलाई टुलुटुलु हेर्दै
बिजुली बत्तीको कल्पना गरिरहेछ
र, जुनकिरीको उज्यालोजतिकै
टुकी बत्तीमा चित्त बुझाइरहेछ
एक गाग्री पानीका निम्ति
सिंगै बिहान बिताउँछ बलम्टा
पापी पेटका निम्ति दिनभरि
माटोसँग पौँठाजोरी खेल्छ
पसिनामा चुर्लुम्मै डुब्छ
र, नुहाउने सपना देख्दै
डुङडुङ्ती गन्हाउँछ
ऊ राज्यलाई चिन्दैन
राज्य उसलाई वास्ता गर्दैन
राज्य पहुँच खोज्छ
ऊसँग पहुँच छैन
र त तड्पिरहेछ बलम्टा
पीडित बनिरहेछ बलम्टा
बिचरा बलम्टा !