site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
असारको सार : सारपूर्ण असार
Siddhartha BankSiddhartha Bank

असारको सार : सारपूर्ण असार ! अन्नको सह साँच्ने महिना । अन्नकोे भण्डार ढुकुटी भरिलो पार्ने महिना । मुट्ठी रोपी मुरी फलाउने महिना । असारको दबदबेमा डुबेर भरिलो मंसिर ल्याउने महिना । असार पन्ध्र र धान दिवससँगै दहीचिउरा खाएर शुभसाइत र सुस्वास्थ्यको कामना गर्ने महिना ।

स्वभावतः कृषिप्रधान देशका कृषकहरूलाई कामको चटारो । कार्यालयहरूमा बजेट सिध्याउन हतारो । असारमै हुन्छ विकास निर्माणका कामहरू पनि धेरै । विकासले पनि असार नै पर्खिंदो रहेछ ।

‘असारे विकास’को आरोप सहेर काम नगरे विनियोजित बजेट ‘फ्रिज’ भएर ‘फिर्ता’ जान्छ । फिर्ता पठाउनुभन्दा काम गर्नु राम्रो । छेलोखेलो बजेटलाई ख्यालख्यालैमा फिर्ता पठाउनुभन्दा काम गर्नुको उत्तम कर्म अरू हुँदैन । कृषक र कर्मचारीलाई कामको चाप ।

Prabhu Bank
Agni Group
NIC Asia

एकप्रकारले असारको पन्ध्र कामैकाम, काममै धपेटी, काममै मग्न । कामबाहेक अरू छैन छलछाम । कामकै रापताप । कसैसँग छैन व्यर्थको बकबास । अलग्गै संसार । कामकै दौडधुप । कामकै मेलोमेसो । आखिर कामले थकित ज्यान । कामले हैरान तन । कामले लखतरान प्राण ।

कामबाहेक अरू सोचाइ केही हुँदैन । कामले जोताएको । कामले एकोर्‍याएको । कामले घोटाएको । वर्ष दिनमा यति काम यही महिना नगरे खान पाइँदैन । किसानले अन्न उब्जाउन सक्दैनन् ।

Global Ime bank

असारको प्रन्धमा सारपूर्ण असारको ‘सह’ राख्नुपर्छ । यति बेला हिलोसँग घिनाएर हुँदैन । पानीमा भिजिन्छ भनेर ओभानोमा ओत लाग्नु हुँदैन । आरामले ओछ्यानमा सुतिरहन सकिँदैन ।

बिदा छैन, व्यर्थ बस्ने समय हुँदैन । हरदम काम, कामले हिरिक्क ज्यान । व्यस्त पनि कतिसम्म भने खाने, बोल्ने, घुम्ने, डुल्ने वा बरालिने कहाँ पाउनु फुर्सद ! यही बेफुर्सदमा जिन्दगीको समृद्धितिरको यात्रा । खेतीकिसानीको उत्पादन उपल्लो फाँटमा पुर्‍याउने प्रयत्न र परिश्रम ।

छुपुछुपु धान रोप्नुको आनन्द बेग्लै । हिलोमा हिलाम्मे हुनुको अर्थ अर्कै । रोपाहारहरूको रोपाइँ रमाइलो । अनि, असारे गीति गुञ्जनको मिठासयुक्त भाका र भक्कानो । आपसी हार्दिकताको मेल । यस्तोमा कहाँ तनावको भेल ? कहाँ भोक र प्यास !

दर्के झरीको पानीमा भिज्नुको पनि शीतलता । प्रचण्ड घाममा पसिनापसिना भएर निथ्रुक्कै हुनुको पनि मज्जा । न थकाइ न त विश्राम । एकोहोरो कामकै मेलोमसो ।

आहा ! यही हो असारको सार । यही हो सारपूर्ण असारको उपहार । कृषकलाई राम रमाइलो । खेतीपाती नै पानीपँधेरो । असार पन्ध्र फलिफाप ।

न यहाँ लोभलालच न रिसराग । बरु, मित्रताको सुमधुर सौन्दर्य प्रकृतिमा मिसिएर झुल्के घामअघि नै उदाएको । धमिलो हिलोमा पनि सुकिलो मन घाम अस्ताउञ्जेल मिसिएको ।

जताततै हिलाम्मे असार तर यति बेला हिलो नभए अनर्थ हुन्छ । मुसलधारे पानी नपरे प्रकृतिको बिरुप स्वरूप हुन्छ । पानीले व्यर्थ, बर्बाद मात्रै गर्दैन । झमझम पानीको वर्षाले हराभरा बन्छ प्रकृति । सुन्दरताले आफैँ सजिन्छ धरती । बिरुवामा जीवन भरिन्छ । अन्न–ऐश्वर्य समृद्धिको चुली चुलिन्छ । बल्ल किसानका सपना विपनामा परिणत हुन्छ ।

असारकै सार कोपिला फक्रिनु । फूल फुल्नु । लटरम्म फलफूल फलेर झुल्नु । अंकुरित बीउबिजनले जरा गाड्नु । हलक्क हुर्किनु । जीवन बाँच्नु र बचाउनु । अनि, मानिसलाई अन्न–उब्जनीले अनिकाल टारिदिनु । समृद्धिको सुखमा मानिसलाई हाइसन्चो राख्नु । खुसीको स्पर्शले चुम्नु ।

किसानका लागि यही त हो आनन्दको पल । तिनको खुसीसँग हाम्रो सुख र समृद्धि पनि साझेदार हुन्छ ।

बेलाबखत दैवी विपत्ति पनि आउँछ । बाढीपहिरो, डुबान आदि समस्याले घरखेत बगाउँछ । जिउज्यानलाई नै बगाएर परमधाम लैजान्छ । रोइकराइका क्रन्दन कति कति ! हारगुहारका गुञ्जन अझ कति ।

खाने र बस्ने कुराको बिचल्लीले निम्त्याएका कहालीलाग्दा कहरहरू छन् धेरै । हुन त यस्तो प्राकृतिक प्रकोपको ताण्डव–नृत्य प्रकृतिको दोहन गरेर आएको संकट हो ।

असारमा पानी नपरे, बाढी नआए खडेरीले जमिन धाँजा फाट्छ । धरती धर्धरी रुन्छ । बोटबिरुवा सुक्छ । हुर्किएका वनस्पति विनापानीको माछा बन्छन् । अनि, बाँच्न हम्मे हुन्छ र मृत्युवरण गर्न बाध्य बन्छन् ।

अन्ततः अनिकाल भित्रिन्छ । थाहै नपाई पत्याइनसक्नुको भोकमरीले ज्यानहरू भटाभट मर्न थाल्छन् । महामारीले गति लिएपछि विपत्तिको डरलाग्दो अवस्था आउँछ । मान्छेमा क्रमशः दयामायाको भावना पनि मर्न थाल्छ । बाँच्नका लागि जे गर्न पनि तयार हुने मानसिकता वृद्धि हुन थाल्छ ।

यद्यपि, असारको सारमा जिन्दगीका सुखद पलहरू रमाएको हुन्छ । ती मस्तले छुनुमुनु गर्दै कोरोना, डेंगी आदिलाई बिर्सिंदै उघ्राइरहेको पाइन्छ । अनेकौँ महामारीलाई पराजित गर्दै हिँडिरहेको हुन्छ । सधैँ काममा तनमन दिइरहेको । रोपाइँमा रमाइरहेको । हाँसिरहेको र नाचिरहेकै हुन्छ ।

असारको सौन्दर्यभन्दा सुन्दर अरू के छ ? कामप्रतिको हार्दिकताभन्दा पवित्र के हुन्छ ? असारकै आगमनले भित्रिएको खुसी कति निर्मल, निःस्वार्थ र निश्चल !

असारमा सुन्दरता उद्घाटित नभए खानपानको सौजन्य सकिन्छ । असारमा रोपाइँको रौनक नभए भातभान्साको क्रम भंग हुन्छ । असारमा किसानले खेती नगरे अन्न भण्डार भरिँदैन । रित्तिन्छ ढुकुटी र महँगीले सीमा नाघ्छ ।

खेतबारी पनि सुक्खा भूमिमा परिणत हुँदा उजाडिन्छ गाउँघर पनि । मरुभूमितुल्य बन्छ बस्ती सबै । घर पनि घरजस्तो रहँदैन । बजारभाउले आकाश छुन्छ । नक्कली दालचामल, तरकारीले बजार लिन्छ । जीवन धान्नै धौधौ हुन्छ ।

मान्छेको मनभन्दा ठूलो र फराकिलो हृदय किसान र प्रकृतिसँग छ । मान्छेको मन त झन्झन् खिइँदै, मानवता मर्दै गइरहेछ । दिनदिनै अल्छे स्वभाव हुर्किरहेछ ।

कामधामको सिलसिलाले नेटो काटेको छ । खेतीपातीको ध्याउन्न छैन । पानी पटाउने, छेउकुनो खन्ने, कुलो बनाउने, जोतेर मजाले दबदबे हिलो निकाल्ने झ्याउ गर्दैनन् धेरैले । हिलोमा गाडिएर आज कसले काम गर्छ र !

गर्दैनन् कोही परिश्रम । मिहिनेतको मानमर्दन भएको समय छ । सामाजिक सद्भाव शून्यतिर ओरालो झरिरहेछ । परम्परागत मूल्यमान्यता परमधाम गएको कालवेला छ । जस्तो कि असारे भाका हालिने, बेठी राख्ने, पन्चेबाजा आदिको प्रचलन प्रायः लोप भइसकेको छ । मिलेमतो र मेलापात बिरानो बन्दै गइसकेको छ ।

ऐनमौका यस्तोमा कसैले मानवता देखाउँदैन । कसैले कसैको वास्ता गर्ने समय छैन । कसैसँग बोल्ने, भेट्ने मन–माया समेत मर्दै गइरहेछ । संवेदना, सहयोग पनि केही बाँकी रहँदैन ।

समय यसरी बद्लिँदै जाँदा, मान्छेका मन मैलिँदै गर्दा, संस्कृति, सद्भाव छियाछिया हुँदा असारले सार दिएको छ । असारले साथ दिँदै आएको छ ।

खासमा जीवन चलायमान, प्रकृति हराभरा बनाएको छ यही असारले । असार नआए कहाँ फल्छ र धान ? असार नआए कहाँ रमाउँछ र किसानका मन ! किसान रमाउनु, तिनका आँखामा खुसी उदाउनु भनेको वस्तुतः हामीले खाने दालभात, तरकारी सबैसबै अब सस्तो, पर्याप्त र सजिलै पूरा हुन्छ भन्ने हो ।

क्रमशः बढिरहेछ समयको विचलन र विघटन । खेतीकिसानीमा प्रविधिको फड्को शून्य । समयमा मलबीउ नपाउनुको पिरलो । कहिले बाढीले बित्यास पार्ने, कहिले खडेरीले सुक्खा राख्ने । किसान चिन्तित, हैरान हैरान ।

यसो भएपछि किसानका लागि सुखका दिन टाढै रहने रहेछ । कृषकको बेखुसी भन्नु हाम्रै दुःखका दिन निम्तिनु हो ।

वास्तवमा असारको सार भन्नु नवजीवन प्राप्ति पनि हो । खुसीको मौसम पनि हो । असार नआए, समयमा वर्षा नभए, किसानले खेती नगरे ? जे नहुनुपर्ने हो, त्यही हुन्छ । विनाशलीला प्रारम्भ हुन थाल्छ ।

अतः असार जीवनसँग सन्निकट । असार बर्सादसँग अन्तरसम्बन्धित । किनभने, असार र वर्षा, किसान र खेती प्रकृतिको सुमधुर सम्बन्धको सेतु । असारको सार र सौन्दर्य भन्नु कृषकको व्यस्ततामा फल्ने, फुल्ने अन्न–उब्जनी ।

फलतः कृषकको खुसी बालीनालीमा मुस्कान भएर हुर्किन्छ । उर्लिंदो वर्षासँगै सर्वत्र खेतीपातीको धन्दाले किसानको मन भरिन्छ । बालीनाली लहराउँछ । अनि, असारको सार साँच्चै सारपूर्ण असारमा रूपान्तरित हुन्छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १५, २०८१  ०५:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय