काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले कुनै समूह विशेषको प्रभावमा परेर भन्सार महसुल निर्धारण गरेको प्रमाण पेस गर्न चुनौती दिएका छन् ।
मंगलबार प्रतिनिधिसभामा भन्सार ऐनका विषयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री पुनले आफूले आर्थिक विधेयकमा कुनै पनि व्यवसायी समूहको प्रभाव र दबाबमा निर्धारण नगरेको स्पष्टीकरण दिए ।
"सरकारले कुनै समूह विशेषलाई हिजो वा आज त्यसको प्रभावमा परेर भन्सार महसुल निर्धारण गरियो भन्ने कुरा सोझै खारेज गर्छु । यदि माननीयसँग प्रमाण र त्यस्तो लाग्छ भने सांसद वा बाहिर अन्य निकायमा पेस गरे सामना गर्न तयार छु," उनले भने ।
उनले चालु आर्थिक वर्षको जस्तो ४१ प्रतिशतको राजस्व संकलन गर्ने अस्वाभाविक महत्त्वाकांक्षा नराखेकाले आगामी वर्ष राजस्वको लक्ष्य पूरा हुने जिकिर गरे ।