site stats
बाह्रखरी :: Baahrakhari
खेल
सेमिफाइनल प्रवेशपछि अफगानिस्तानका कप्तान भन्छन्– यो हाम्राे लागि सपनाजस्तै

काठमाडौं । अफगानिस्तानका कप्तान राशिद खानले आईसीसी ट्वान्टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गर्नु ‘सपनाजस्तै’ भएको बताएका छन् ।

मंगलबार भएको सुपर–८ को अन्तिम खेलमा बंगलादेशविरुद्ध डकवर्थ लेविस पद्धति (डीएलएस) अनुसार आठ रनले हराउँदै अफगानिस्तानले विश्वकपको इतिहासमै पहिलोपटक सेमिफाइनलको यात्रा पक्का गरेको हो ।

“यो अविश्वसनीय क्षण हो । हाम्रो घरमा सबै जना धेरै खुसी छन् । विश्वकपको सेमिफाइनलमा पुग्नु हाम्रो लागि सपनाजस्तै हो,” बंगलादेशविरुद्धको जितपछि अफगानिस्तानका कप्तान राशिद खानले भने ।

अफगानिस्तानले सन् २००१ मा मात्र आईसीसीबाट एसोसियट राष्ट्रको मान्यता पाएको थियो । सन् २०१७ मा आईसीसीको पूर्ण सदस्य बनेको अफगानिस्तानले अब फाइनल प्रवेशका लागि दक्षिण अफ्रिकाविरुद्ध खेल्नेछ । यो खेल ट्रिनिडाडमा बिहीबार हुनेछ ।

“हामीले देशका जनताका लागि पनि अघि बढाउन आवश्यक थियो । उनीहरूको खुसी र देशलाई नै गौरवान्वित बनाउन पनि । यो हाम्रो लागि ठूलो उपलब्धि हो,” राशिदले थपे ।
 

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १४:४३
प्रतिक्रिया दिनुहोस्