site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुस्ताएको पपसंगीत
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । वि.सं. २०५०/०६० को दशकमा पपसंगीतको जुन उचाइ थियो, अहिले छैन । पपसंगीत बजारमा जसरी ल्याइन्थ्यो र रुचाइन्थ्यो, त्यसको पारो घटेको छ । ०५५ देखि ०६५ को दशकलाई नेपाली पपगीतको स्वर्णयुग मानिन्छ । त्यो १० वर्ष नेपाली पपगीतले सुगम संगीत, चलचित्रका गीत र लोकगीतलाई चुनौती दिएको थियो ।

कतिपय पपगायक यो विषय स्वीकार्न तयार छैनन् । केही यही नै यथार्थ भएको बताउँछन् । केही अग्रज गायक पपगीत पहिलाको तुलनामा अहिले पछि परेको सुनाउँछन् । केही ०५०–०६० दशकको जस्तै पपसंगीतको क्रेज रहेको जिकिर गर्छन् ।

“त्यो समय पपगीत र पपगीतको कन्सर्टको जुन माहोल थियो, अहिले त्यस्तो छैन । निकै कम भएको छ,” पपगायक सञ्जय श्रेष्ठ भन्छन्, “जेनेरेसनअनुसार टेस्ट चेन्ज भएको होला । सायद पपगीत सुन्ने स्रोता फेरि बढ्नुहुन्छ होला ।”

KFC Island Ad
Dabur Nepal
NIC Asia

हातहातमा एन्ड्रोइड मोबाइलले समग्रमा गीत सुन्ने र कन्सर्टमा जाने कल्चर नै कम भएको सञ्जय बताउँछन् । पछिल्लो समय राम्रोभन्दा नराम्रो डिजिटल कन्टेनमा मान्छे केन्द्रित भएका उनको बुझाइ छ ।

“मैले पपबाहेक अरू विधाका गीतलाई नराम्रो भन्न खोजेको होइन । हरेक विधाका गीतको आ–आफ्नै टेस्ट र स्रोता हुनुहुन्छ,” उनी अगाडि थप्छन्, “तर, पछिल्लो समय राम्रा गीत सुन्नेभन्दा पनि भाइरल कन्टेनमा मान्छे देखिन्छन् ।”

Royal Enfield Island Ad

राम्राभन्दा भाइरल हुन बनाइएका गीत र कन्टेनमा धेरै भ्युज आउने उनको भनाइ छ । “सत्यवचन कसैले बोलेको, भजन अथवा राम्रा गीत कसैले युट्युबमा, फेसबुकमा राख्यो भने त्यसको भ्युज सयकै संख्यामा हुन्छ,” सञ्जय प्रस्ट पार्छन्, “तर, कसैले अश्लील बोलेर त्यही प्लेटफर्ममा राख्यो भने मिलियनमा भ्युज हुन्छ ।”

प्रत्येक दशकमा स्रोतादर्शकको रुचिमा बदलाव आउने र त्यसको प्रभाव पर्ने तथ्यलाई नकार्न नसकिने सञ्जय बताउँछन् । “कुनै डिकेडमा पप, कुनैमा सुगम, कुनैमा लोक, कुनैमा चलचित्रका गीत धेरै रुचाइन्छ,” उनी भन्छन्, “अहिले अरूभन्दा पपसंगीत केही कम होला ।”

पपगीत सुन्ने स्रोता अझै रहेका तर केही कम भएको उनी स्वीकार गर्छन् । “पपगीत अहिले सुन्दै नसुन्ने भन्ने होइन । अहिले पनि हामी गाइरहेका छौँ । ४० वर्षअगाडिका गीत गाइरहेका छौँ । अहिलेको मोर्डन पुस्ताले रुचाइरहेको पनि छ,” सञ्जय भन्छन् ।

प्रविधिले गर्दा गीत डिजिटलाइज सुनिएको उनी बताउँछन् । उनी पहिले गितारमा मात्र गाउने गीतलाई पप भन्ने गरिएको स्मरण गर्छन् । हाल एरेन्जरले स्याम्पिलिङ गरेको साउन्ड भए पनि पुग्ने समय आएको सञ्जय सुनाउँछन् । 

“अहिले चलिरहेको अत्याधुनिक गीतलाई नै पपगीत भनिन्छ । हामीले गाउँदा गितारमा गाएकोलाई मात्रै अहिले पप भनिँदैन,” उनी भन्छन्, “जुन किसिमको रकपप गीत आउँथे, त्यस्ता गीत आएका छैनन् । त्यस्ता गीत गाउने गायकगायिका कमै आएका छन् ।”

सिजनको फलफूलजस्तै हरेक समय फरक–फरक गीत ल्याइने र मन पराउने गरिएको सञ्जय बताउँछन् ।

सञ्जयको मतमा पपगायक नवीन के भट्टराई भने सहमत छैनन् । पपसंगीत उत्तिकै चलिरहेको उनको जिकिर छ ।

“पपसंगीत पहिला चलेको थियो तर अहिले छैन भन्ने होइन । अहिले नयाँ जेनेरेसनका गायकगायिकाले पपगीत चलाइरहेका छन्,” उनी भन्छन् ।

केही समयअघि पपगायनको फ्रन्टमा आफूहरू रहेजस्तै पछिल्लो पुस्ता रहेको र यो स्वाभाविक भएको उनको भनाइ छ । “केही समयअगाडिसम्म हामी थियौँ । अहिले नयाँ जेनेरेसनका भाइबहिनीले यसलाई अगाडि बढाइरहनुभएको छ,” नवीन भन्छन्, “कतिपय ठाउँमा अहिले पनि हामी छौँ । केही कन्सर्ट र लाइभ म्युजिक गरिरहेकै छौँ ।”

संगीत चलायमान हुने उनी बताउँछन् । मिडियामा कम बजाउँदैमा वा थोरै कभरेज पाउँदैमा पपसंगीत ओझेलमा परेको भन्न नमिल्ने उनको तर्क छ । “तपाईंले लोकगीत हेर्नुभयो भने त्यतै राम्रो देख्नुहुन्छ । आधुनिक गीत हेर्नुभयो भने त्यही धेरै चलेको देख्नुहुन्छ,” नवीन थप्छन्, “अहिले हेर्नुभयो भने पपगीतका सबै गायकगायिका प्याक छन् ।”

काठमाडौंको ठमेलदेखि पोखरासम्म, धरानदेखि पूर्वी नेपालका जुनसुकै ठाउँमा पपगीतको शो भइरहेको तथ्यलाई भुल्न नहुनेमा उनको जोड छ । “पपसंगीत पनि सिर्जना हो, यो मर्दैन । हरेक चिज वल्ड भएपछि सँगै ग्रो पनि हुन्छ,” नवीन भन्छन्, “यो सामान्य प्रक्रिया हो । हिजो एउटा व्यक्तिले इन्डस्ट्री चलाए होला, आज अर्कैले चलाइरहेको होला । भोलि अर्कैले चलाउँछ ।”

पपगायक धीरज राई पछिल्लो समय पपगायनमा आउनेको संख्या न्यून रहेको बताउँछन् । आफूहरूको पुस्ताको तुलनामा पपगायनमा आउनेको संख्या निकै कम रहेको उनको भनाइ छ ।

उमेर समूहअनुसारका स्रोता र तिनका स्टार फरक–फरक हुने धीरजको बुझाइ छ । “नयाँ आउने पुस्ताले हाम्रो गीत मन नपराउन सक्छ । हामीलाई उनीहरूको गीत मन नपर्न सक्छ । तर, यो स्वभाविक हो,” उनी भन्छन्, “एकले अर्का उमेर समूहको गीत मन नपराए पनि आफ्नै उमेर समूहको गीत सुनिरहेका हुन्छन् । विश्वभर नै यही ट्रेन्ड चल्ने हो ।”

पपगीत सुन्ने स्रोता नघटेको उनको टिप्पणी छ । आफूले पहिलेजत्तिकै कार्यक्रम गरिरहेको उनी बताउँछन् । पछिल्लो समय आफ्ना समकालीनमध्ये धेरै अरू पेसामा लागेको तथ्य भने उनी सुनाउँछन् । कुनै समय पिकमा रहेकाले गीत गाउन छोडेको उनको भनाइ छ ।

त्यति बेला गीतलाई नै पेसा बनाउन सक्ने अवस्था नरहेका कारण धेरैजना पलायन भएको उनी बताउँछन् । “हामी पपगीतमा आएर आधुनिक गीतलाई नै टक्कर दियौँ । तर, अहिले त्यस्तो अवस्था छैन । ०५३ देखि ०६५ सम्म हामी पिकमा थियौँ,” उनी भन्छन्, “हामीले पपसंगीत स्थापित गर्न गीत गायौँ । यो विधालाई रेडियो नेपालले गीत नै मान्दैन थियो । त्यसैले अस्तित्वका लागि लड्न राम्रा–राम्रा गीत निकाल्यौँ । तर, अहिलेको पुस्ताले केका लागि गीत गाइरहेको छ ?”

तत्काल पपुलर हुन, पैसा कमाउन र विदेश भ्रमण तथा त्यहाँ सिफ्ट हुने उद्देश्यले गीत गाइरहेको धीरजको बुझाइ छ । त्यसैले वर्तमान पुस्ताको पपले अरू विधाका गीतलाई चुनौती दिन नसकेको उनको तर्क छ ।

पपमा पैसा र करिअर नहुँदा पनि आफूहरूको पुस्ताले संघर्ष गरेर राम्रा गीत निकालेको उनी बताउँछन् । उनी भन्छन्, “अहिलेको पुस्तालाई छिट्टै स्टार हुनु छ । पैसा कमाउनु छ ।”

आफ्नो जेनेरेसनको सेलेक्टेड पपगायकका फ्यान अझै उत्तिकै रहेका उनको जिकिर छ । तिनै फ्यानले मन पराएका कारण कन्सर्ट गरिरहेको उनी बताउँछन् । पपगीत पिकमा हुँदाभन्दा अहिले आफ्नो कमाइ धेरै र उत्तिकै व्यस्त रहेको धीरज सुनाउँछन् ।

हाल पपगीतमा आउने पुस्तालाई स्रोता बनाउनै सकस छ । “उनीहरूको स्कुलिङ कमजोर भयो । स्वार्थबाट प्रेरित छन्,” किन भन्ने प्रश्नको जवाफमा धीरजको जवाफ छ, “अहिलेका पपगायकलाई तिमी किन गाउँछौ भनेर सोधे चाँडै पपुलर हुनु छ, पैसा चाँडै कमाउनु छ, विदेश जानु छ भन्ने जवाफ आउँछ ।”

स्वार्थ बोकेर हिँडेको पुस्ता अगाडि बढ्न नसक्ने धीरज बताउँछन् । रक, हिपहप जे भनिए पनि ती सबै विधालाई पपभित्रै राखेर हेर्दा यसमा आउने नयाँ पुस्ताको संख्या कम रहेको उनी स्पष्ट पार्छन् । “यो विधामा आउनेको संख्या धेरै देखिँदैन,” उनी भन्छन् ।

पपगायनमा अझै पुरानै पुस्ताको वर्चस्व देखिन्छ । केही नयाँ व्यक्ति आएका त छन्, तर उनीहरूले बलियो प्रभाव छाड्न सकेका छैनन् । त्यसैले ५० र ६० को दशकमा पपगीतलाई स्थापित र रजगज गरेका कलाकार अहिले पनि स्टेजमा देखिन्छन् ।

“हाम्रा आफ्नै स्रोता छन् । उनीहरूको मायाले हामीले कार्यक्रम गरिरहेका हुन्छौँ,” धीरज भन्छन्, “हाम्रो बुवा पुस्ताको नेपथ्यलाई अहिलेको नयाँ पुस्ताले मन नपराउला रे, तर उहाँको कार्यक्रममा दर्शकको अभाव छ र ?” हरेक पुस्ताका गायकगायिकाको आफ्नै स्रोता हुने तथ्यलाई भुल्न नहुनेमा उनको जोड छ । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ८, २०८१  ०९:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro