site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
विश्वकपमा १० वर्षअघिको तुलनामा खस्किएको नेपालको प्रदर्शन !
SkywellSkywell

काठमाडौं । उच्च मनोबलका साथ १० वर्षपछि आईसीसी ट्वान्टी–२० विश्वकपको मञ्चमा उक्लिएको नेपाली क्रिकेट टिमको प्रदर्शन एक दशकअघिको जस्तो पनि रहेन भन्दा अन्यथा नहोला ।

प्रतियोगिताको समूह चरणका चारमध्ये तीन खेलमा हार बेहोरेपछि नेपाली टिमको विश्वकप यात्रा सुपर–८ सम्म लम्बिन सकेन । नेपाली टिम जुन २ देखि सुरु भएको विश्वकपमा प्रतिस्पर्धा गरेर फर्किसकेको छ ।

स्वदेश फर्किएलगत्तै विश्वकपको सन्दर्भमा नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दा कप्तान रोहितकुमार पौडेललाई पत्रकारको प्रश्नमा जवाफ फर्काउन हम्मेहम्मे नै पर्‍यो ।

Dabur Nepal
NIC Asia

प्रश्न थिए– ‘विश्वकपबाट नेपालले के सिक्यो ?’, ‘दक्षिण अफ्रिकाविरुद्ध एक रनले हार्दा कस्तो भयो ?’, ‘दुई बलमा दुई रन लिन नसक्दा गुल्सनको अवस्था कस्तो थियो ?’, ‘अब नेपाली क्रिकेटमा के हुन्छ ?’ आदि ।

करिब एक घण्टासम्म चलेको पत्रकार सम्मेलनमा अधिकांश प्रश्नको जवाफ रोहितले नै दिए । पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक मोन्टी देसाई अनुपस्थित थिए । उपस्थित भएका सहायक प्रशिक्षक वसन्त शाही, टिमका व्यवस्थापक प्रदीप मजगैया र कन्सल्ट्यान्ट प्रशिक्षक नन्दन यादवलाई निकै कम प्रश्न आए ।

विश्वकपमा जितविहीन बनेको नेपाली टिमको ब्याटिङ झनै नाजुक थियो । नेपाली टिमका कप्तान रोहित पनि प्रतियोगितामा नेपाली ब्याटरले लिनुपर्ने जिम्मेवारी नलिएको स्वीकार्छन् । उनी भन्छन्, "हामीले अवसरको फाइदा लिनै सकेनौँ ।"

“हामी पहिलो खेलमा पनि त्यत्तिकै विश्वासी थियौँ । पहिलो खेलमा पनि राम्रो प्रतिस्पर्धा दिएका थियौँ । तेस्रो खेलमा जितको निक्कै नजिक पुगेर हार्न पुग्यौँ । त्यो अवसर मिस भयो,” रोहित भन्छन्, “बंगलादेशसँगको खेलमा हाम्रो ब्याटिङ लाइनअपले जिम्मेवारी लिन सकेनौँ । समग्र विश्वकपको कुरा गर्दा बलिङ राम्रो भयो । यो कुरामा हामी सकारात्मक छौँ । टिमको प्रदर्शनमा म गौरवान्वित छु ।”

विश्वकपमा नेपालको नतिजा 

दश वर्षअघि बंगलादेशमा भएको विश्वकपमा पहिलोपटक प्रतिस्पर्धा गरेको नेपालले त्यहाँ तीन खेलमध्ये दुईमा जित निकालेको थियो । नेपालले समूह चरणको खेलमा बंगलादेशसँग आठ विकेटको हार बेहोरे पनि अफगानिस्तानलाई नौ रनले र हङकङलाई ८० रनले हराएको थियो । यी दुई जित नै हालसम्म विश्वकपमा नेपालले निकालेको पछिल्ला जित हुन् । 

जारी विश्वकपमा नेपाली टिम समूह ‘डी’मा थियो । तीन टेस्ट मान्यता प्राप्त राष्ट्रसँगै अर्को बलियो एसोसियट मुलुक भएकाले पनि यस समूहलाई विश्वकपकै ‘ग्रुप अफ डेथ’को रूपमा विश्लेषण गरिएको थियो । समूहमा नेपालसँगै थिए, श्रीलंका, बंगलादेश, दक्षिण अफ्रिका र नेदरल्यान्ड्स ।

नेपालले प्रतियोगिताको पहिलो खेल नेदरल्यान्ड्ससँग खेलेको थियो । दुई एसोसियट राष्ट्रबीचको भिड्न्तमा डच टिमले नतिजा ६ विकेटले आफ्नो पक्षमा राख्यो । नेपालले दिएको १०७ रनको लक्ष्य नेदरल्यान्ड्सले आठ बलअघि नै भेटाएको थियो ।

दोस्रो खेल श्रीलंकासँग खेल्ने तालिका रहे पनि वर्षाका कारण खेल नै सुरु हुन सकेन । दुवै टिमले एक–एक अंक बाँडे । विश्वकपमा नेपालले जोडेको यो नै एकमात्र अंक बन्न पुग्यो ।

तेस्रो खेलमा दक्षिण अफ्रिकाविरुद्ध नेपालको प्रदर्शन प्रतियोगिताभर नै चर्चाको केन्द्रमा रह्यो । आइदेन मार्करमको कप्तानीमा रहेको अफ्रिकी प्रतिद्वन्द्वीलाई ११५ रनमै रोक्दै नेपालले टेस्ट राष्ट्रविरुद्ध सहजै नतिजा नसुम्पिने सन्देश दियो । जितका लागि ११६ रनको लक्ष्यसहित मैदान उत्रिएको नेपाल ऐतिहासिक नतिजा नजिक रहे पनि एक रनले निराश बन्यो । 

तेस्रो खेलमा अर्को टेस्ट राष्ट्र बंगलादेशलाई नेपालले १०६ रनमा रोकेको थियो । तर, लक्ष्य पछ्याउने क्रममा ब्याटिङ पुनः धराशायी बनेपछि नेपाल ८५ रनमै समेटियो । नतिजा २१ रनले आफ्नो पक्षमा पार्दै दक्षिण एसियाली प्रतिद्वन्द्वी सुपर–८ को समीकरणमा समेटियो ।

फ्लड लाइटको असर !

नेपाली क्रिकेट टिमले घरेलु मैदानका रूपमा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान र मूलपानीस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानलाई प्रयोग गर्दै आएको छ । अन्तर्राष्ट्रिय मैदानको मान्यता मुस्किलसँग पूरा गर्ने यी दुवै रंगशालामा फ्लड लाइटको व्यवस्था छैन । नेपाल सरकारले पछिल्लो दुई आर्थिक वर्षयता बजेटमै फ्लड लाइट जोड्ने कुरालाई समेटे पनि हालसम्म यसमा देखिने गरी प्रगति हुन सकेको छैन ।

फ्लड लाइट नहुँदा नेपालमा आयोजना हुने अधिकांश क्रिकेट प्रतियोगिता दिउँसो हुन्छन् । अर्थात्, नेपाली टिमले फ्लड लाइटमा प्रतिस्पर्धा गर्ने अवसर विरलै पाउँछ । 

फ्लड लाइटमा खेल्ने अनुभव नहुँदाको असर विश्वकपमा देखियो पनि । नेपाली फिल्डरले लाइटकै कारण करिब आधा दर्जन क्याच छोडे । ओपनर कुशल भुर्तेलले दक्षिण अफ्रिकाविरुद्धको क्याच मिस हुँदा त फ्लड लाइटकै कारण क्याच छुटेको इसारा गरे । 

कप्तान रोहितले पनि डे–नाइट खेल खेल्ने अनुभव नहुँदा प्रदर्शनमा असर परेको स्वीकार गरे ।

“गाह्रो त हुन्छ । किनभने हामीले प्रायः सबै खेलहरू दिनमा खेलिरहेका थियौँ । त्यसैले डे–नाइटमा खेल्दा गाह्रो त हुन्छ,” उनले भने, “तर, पनि त्यही कुरा गरेर एक्सक्युज लिन मिल्दैन । हामीले पाएको अवसरमा राम्रो गर्न सक्नुपर्‍यो । अब फ्लड लाइट आयो भने हामीलाई केही त्यस्तो अवस्थामा खेल्न सहज हुन्छ ।”

‘गुल्सनलाई ब्याक गर्नु हाम्रो जिम्मेवारी हो’

विश्वकपकै सबैभन्दा रोमाञ्चकमध्येको एक बनेको दक्षिण अफ्रिकासँगको खेलमा नेपाल एक रनले स्तब्ध बन्यो । ११६ रनको रनको लक्ष्यसहित मैदान उत्रिएको नेपाललाई जितका लागि अन्तिम दुई ओभरमा १६ रन आवश्यक थियो । हातमा अझै पाँच विकेट बाँकी नै थियो । 

खेलको १९औँ ओभरमा नेपालबाट क्रिजमा सोमपाल कामी र गुल्सन झा थिए । उक्त ओभरको चार बलसम्म एक विकेट गुमाए पनि नेपालले रन जोड्न सकेको थिएन । तर, पाँचौँ बलमा सोमपालले छक्का प्रहार गर्दै नेपालको दबाब कम गरेका थिए । सोही ओभरको अन्तिम बलमा दुई रन लिएपछि नेपाललाई जितका लागि अन्तिम ओभरमा आठ रनको आवश्यकता थियो ।

दक्षिण अफ्रिकाका कप्तान आइदेन मार्करमले २०औँ ओभर ओट्नेल बार्टमानलाई थमाएका थिए । बार्टमानले पहिलो दुई बल डट फ्याँके । तर, तेस्रो बलमा चौका प्रहार गर्दै गुल्सन झाले नेपालको जित सम्भावना कायम राखेका थिए । चौथो बलमा गुल्सनले दुई रन लिए । जितका लागि अन्तिम बलमा दुई रन हुँदा गुल्सनले पाँचौँ बल डट खेले । छैटौँ बललाई पनि उनले ब्याटसँग कनेक्ट गराउन सकेनन् । एक रनका लागि दौडिए पनि ‘नन स्ट्राइक एन्ड’मा गुल्सनले ब्याट लाइनपार गराउन नसक्दा नेपाल एक रनले स्तब्ध बनेको हो ।

दुई बलमा दुई रन बनाउन नसक्दा खेलपछि गुल्सनले समर्थकबाट चर्को आलोचना खेपे । तर, बिहीबारको पत्रकार सम्मेलनमा नेपाली टिम भने गुल्सनको प्रतिरक्षामा उत्रियो । 

“दक्षिण अफ्रिकाविरुद्ध हामीसँग जितको नजिक थियौँ । दुई बलमा दुई रन हुँदा पाँचौँ बलमा रिस्क लिनपर्थ्यो । ब्याटमा लागे पनि नलागे पनि रनका लागि दौडिनु पर्‍थ्यो,” नेपाली टिमका सहायक प्रशिक्षक शाहीले भने, “किनकि हामीसँग विकेट पर्याप्त थियो । तर, त्यस्तो कन्डिसनमा ब्याटरको दिमाग ब्ल्यांक हुन्छ । उसमा पनि टिमलाई जिताउँछु नै भन्ने थियो । उसलाई हारको जिम्मेवार बनाउनु कसैगरी पनि उचित छैन ।”

नेपाली टिमका कप्तान रोहितले पनि दक्षिण अफ्रिकाको खेलपछि समर्थकभन्दा गुल्सन धेरै निराश बनेको सुनाए । रोहितले नेपाललाई एसिया कपमा गुल्सनले नै पुर्‍याएको स्मरण गराउँदै उनलाई गाली नगर्न आग्रहसमेत गरे ।

“खेल सकिएपछि समर्थकभन्दा पनि धेरै निराश गुल्सन थियो । कतिपय समर्थकले हामी फर्केर आउँदा गुल्सनको अगाडि नै यसको कारणले हार्‍यौँ भन्दै थिए,” रोहितले भने, “खेलाडी भएपछि कोही पनि टिमलाई हराउँछु भनेर जाँदैनन् । दुई–तीन जनाले भन्दा नराम्रो महसुस भयो । त्यस्तो नभनिदिनुहोला । हामीलाई एसिया कपमा पनि उसैले पुर्‍याएको हो । एक टिमको रूपमा ब्याक गर्नु हाम्रो जिम्मेवारी पनि हो । अहिले एउटा खेलाडीलाई यस्तो गर्दा आगामी दिनमा आमा–बुवाहरूले आफ्नो छोराछोरीलाई पनि क्रिकेट खेल्न पठाउँदैनन् ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  २०:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro