site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
फणिन्द्र देवकोटालाई माओवादीको कारबाही, संसद्‌मा आजै पदमुक्तको पत्र वाचन गर्ने तयारी

पोखरा । गण्डकीका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री फणिन्द्र देवकोटालाई नेकपा (माओवादी केन्द्र)ले कारबाही गरेको छ । संसद्‌बाट आजै उनलाई पदमुक्त गरिएको पत्र वाचन गर्ने तयारी गरिएको छ ।

हँसिया हथौडा चुनाव चिह्नबाट निर्वाचित देवकोटाले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई ‘फ्लोर क्रस’ गर्दै विश्वसाको मत दिएर ह्विप उल्लंघन गरेको माओवादीको आरोप छ । तर, देवकोटा साझा चुनाव चिह्नबाट निर्वाचनमा सहभागी भए पनि आफ्नो दल नेपाल समाजवादी पार्टी रहेको र माओवादीले कारबाही गर्न नपाउने तर्क गर्दै आएका छन् ।

Argakhachi Cement Island Ad

माओवादीले निर्वाचन चिह्न प्रयोग गरेपछि उनी माओवादीकै सांसद भएको दाबी गर्दै आएको छ ।

जेठ २८ गते मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदा माओवादी र एमालेले विपक्षमा मतदान गर्ने निर्णय गराएका थिए । तर, देवकोटाले पाण्डेलाई मत दिए ।

लगत्तै माओवादी संसदीय दलको बैठकले देवकोटाविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउने बताएको थियो । माओवादीले सुरुमा स्पष्टीकरणदेखि पार्टी केन्द्रीय कमिटीलाई कारबाहीका लागि पत्राचार गर्‍यो । सोहीअनुरूप उनलाई कारबाही गरिएको माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले बताए ।

माओवादीले उनलाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा २८ अनुसार कारबाही गरेको हो । जहाँ भनिएको छ, "संसदीय दलका नेताको निर्देशनबमोजिम त्यस्तो दलको सचेतकले देहायका प्रस्तावमा संघीय संसद्को कुनै सदन वा प्रदेशसभामा हुने मतदानमा त्यस्तो प्रस्तावको पक्ष वा विपक्षमा मतदान गर्न संसदीय दलको सदस्यलाई निर्देशन ‘ह्विप’ जारी गर्न सक्नेछ ।"

शुक्रबार नै गण्डकीमा नीति तथा कार्यक्रम निर्णयार्थ पेस हुने कार्यसूची छ । नीति तथा कार्यक्रमपछि नै सभामुखले पद रिक्त भएको पत्र वाचन गर्ने सम्भावना छ ।

गण्डकीमा सभामुख धिताल पनि माओवादी पृष्ठभूमिका हुन् । उनले यसअगाडि नै गण्डकीमा खगराज अधिकारीले विश्वासको मत लिँदा विवादास्पद भूमिका निर्वाह गरिसकेका छन् ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  १२:२७
प्रतिक्रिया दिनुहोस्