site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
१० वर्ष जेल बस्दा पनि सुध्रिएनन् सम्बरबहादुर, बालिकालाई कोठी पुर्‍याउन खोज्दा फेरि परे जालमा

काठमाडौं । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले १४ वर्षीया बालिकालाई बेचबिखन गर्ने उद्देश्यले भारत लैजान खोजेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

कमजोर आर्थिक अवस्थाको फाइदा उठाएर बालिकालाई भारत लैजान खोजेको आरोपमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ का ३९ वर्षीय सम्बरबहादुर तामाङ र नुवाकोटकै तादी गाउँपालिका–२ का ३३ वर्षीया इन्दिरा कटुवाल तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूलाई आइतबार ललितपुरबाट पक्राउ गरिएको ब्युरोका प्रवक्ता तथा एसपी ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए । भारत लैजान खोजेकी बालिकाको समेत ब्युरोको टोलीले उद्धार गरेको छ ।

प्रहरीको अनुसन्धानका क्रममा सम्बरबहादुर र इन्दिराले ललितपुरको चापागाउँको बाटो हुँदै हेटौँडा र त्यहाँबाट वीरगञ्ज र रक्सौल नाकाबाट भारत पुर्‍याउने उद्देश्यले बालिकालाई प्रलोभनमा पारेको खुलाएको छ ।

एसपी फुयालका अनुसार पक्राउ परेका सम्बरबहादुरले पीडित बालिकाकी आफन्तलाई समेत प्रभावमा पारेर पोखरामा आफ्नो होटल रहेको र मासिक २० हजार रुपैयाँ तलब दिने आश्वासन दिएर फकाएको खुलेको छ ।

तर, उनीहरूले पोखरा नभई भारत लिन खोज्दा प्रहरीको जालोमा परेका हुन् । प्रहरीको अनुसन्धानले बालिकालाई भारत लैजाँदा बाटोमा प्रहरीले जाँच गरेमा नागरिकता देखाउन भन्दै अर्कै युवतीको नागरिकतासमेत दिएको पाइएको छ ।

उनीहरूले नुवाकोटकै २२ वर्षीया एक युवतीको नागरिकता दुरुपयोग गरेको खुलेको छ । प्रहरीको अनुसन्धानका क्रममा पक्राउ परेकी इन्द्रिराले नेपाली युवती खोज्ने र सम्बरबहादुर तामाङले युवतीलाई भारत पुर्‍याउने गरेको खुलेको हो ।

त्यसका लागि सम्बरबहादुरले भारतमा अवैध धन्दा चलाएकी एक नेपाली महिलाबाट बाटो खर्चका लागि केही रकमसमेत बुझेको पाइएको छ । पक्राउ परेका सम्बरबहादुरको साथबाट प्रहरीले १३ हजार ९०० भारतीय रुपैयाँ र सात हजार नेपाली रुपैयाँसमेत बरामद गरेको छ ।

प्रहरीको अनुसन्धानका क्रममा नुवाकोटकै एक महिलाले भारतको पुर्णेमा कोठी सञ्चालन गरेको र त्यसैका लागि सम्बरबहादुरले बालिकालाई लिन खोजेको देखिएको छ । सम्बरबहादुर र भारतमा कोठी सञ्चालन गरेकी माया तामाङबीच ह्वाट्सएपमार्फत पटक–पटक सम्पर्क भएको देखिएको छ ।

१० वर्षजेल बस्दा पनि नचेतेका सम्बरबहादुर

१४ वर्षीया बालिकालाई भारत लैजान खोज्दा पक्राउ परेका सम्बरबहादुर यसअघिसमेत मानव बेचबिखन तथा ओसारपसार मुद्दामा १० वर्ष जेल बसेर छुटेको खुलेको छ ।

०७० सालमा पक्राउ परेका उनी २०८० वैशाखमा मात्रै छुटेको खुलेको ब्युरोका एसपी फुयालको भनाइ छ । त्यो बेलासमेत उनले एक युवतीलाई भारमा पुर्‍याएको खुलेको थियो । सोही अभियोगमा १० वर्ष जेल बस्दासमेत उनी फेरि सोही धन्दामा फर्किएका हुन् ।

प्रहरीको अनुसन्धानका क्रममा सम्बरबहादुर युवती बेचबिखन धन्दाका नाइके भएको दाबी गरेको छ । उद्धार गरिएकी बालिकाबाहेक अन्य युवतीलाई समेत भारत पुर्‍याएको आशंका प्रहरीले गरेको छ । प्रहरीको अनुसन्धानका क्रममा आर्थिक अवस्था कमजोर भएका युवतीलाई विभिन्न प्रभावमा पारेर उनले युवतीहरूलाई भारतको विभिन्न कोठीसम्म पुर्‍याउने धन्दा थालेका हुन् ।

आइतबार उद्धार गरिएकी बालिकालाई प्रहरीले एक निजी संस्थाको जिम्मा लगाएको छ ।

कहाँकहाँ पर्छन् युवती बेचबिखनमा ?

प्रहरीको अनुसन्धानका क्रममा नेपाली युवतीहरूलाई विभिन्न बहानामा भारतबाहेक तेस्रो मुलुकसम्म बेचबिखन गरिने गरेको खुलेको छ ।

ब्युरोको तथ्याकं अनुसार आर्थिक वर्ष ०७७/०७८ देखि हालसम्म ब्युरोमा मात्रै २४९ जना महिला बेचबिखनमा परेको उजुरी आएको छ । ती घटनामा संलग्नमध्ये ५७८ जनालाई ब्युरोको टोलीले नियन्त्रणमासमेत लिएको छ ।

नियन्त्रणमा लिएकाहरूमा १७७ जना महिला नै संलग्न भएको खुलेका थिए । ब्युरोबाहेक देशभरका प्रहरी कार्यालयबाट समेत मानव बेचबिखन मुद्दामा अनुसन्धान हुँदै आएको छ ।

ब्युरो बाहेकका अन्य प्रहरी कार्यालबाट समेत २०७७/०७८ यता १३९ मुद्दा चलाइएको तथ्यांक प्रहरीसँग छ । ब्युरोका अनुसार भारतबाहेक युवतीहरू बढी बेचबिखनमा पर्ने देशमा कुवेत, ओमान तथा दुबई छन् । भारतसहितका २५ विभिन्न देशबाट प्रहरीले ४७७ महिलाको उद्धार गरेको छ ।

प्रहरीको अनुसन्धानले विभिन्न रात्रिकालीन व्यवसायमा जाने महिलाहरू बेचबिखनमा पर्दै आएको खुलेको छ । उनीहरूलाई विभिन्न प्रलोभन देखाएर अवैध धन्दामा लगाउने गरेको खुलेको हो ।

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १८:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro