site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भेदभावरहित समाज निर्माण गर्न न्यायपालिका क्रियाशील छ : प्रधानन्यायाधीश

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायिक स्वतन्त्रता तथा न्यायसम्बन्धी हकलाई नेपालको संविधानले प्रत्याभूत गरेको उल्लेख गर्दै सामाजिक रुपान्तरण एवं भेदभावरहित समाज निर्माण गर्न न्यायपालिका क्रियाशील रहेको बताएका छन् ।

बंगलादेशको राजधानी ढाकामा शनिबार भएको न्यायपालिकासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा उनले नेपालमा भएका न्यायिक सुधारका बारेमा जानकारी दिँदै न्यायपालिकाको पाँचवर्षे रणनीतिक  योजना तयारी भइरहेको जानकारी बताए ।

Argakhachi Cement Island Ad

संविधानले प्रत्याभूत गरेका आधारभूत अधिकारलाई हनन हुन नदिन सर्वोच्च अदालतले महत्त्वपूर्ण निर्णय गरेको बताउँदै न्यायमा सबैको पहुँच सुनिश्चित गर्न कानुनी एवं संस्थागत संयन्त्र बनाएर काम भइरहेको प्रधानन्यायाधीश श्रेष्ठले जानकारी दिए ।

त्यसअधि उनले बंगलादेशका प्रधानन्यायाधीश ओबाइदुल हसनसँग भेटवार्ता गरेका थिए । प्रधानन्यायाधीश श्रेष्ठको सम्मानमा उनले रात्रिभोजको आयोजना गरेका थिए । त्यस अवसरमा बंगलादेशका कानुनमन्त्री अनिसुल हक तथा सर्वोच्च अदालतका न्यायाधीशहरूको सहभागिता थियो ।

प्रधानन्यायाधीश श्रेष्ठ सहभागी भएका औपचारिक कार्यक्रमहरूमा उनकी धर्मपत्नी रोशनी श्रेष्ठ, सर्वोच्च अदालतका रजिष्ट्रार विमल पौडेल, बंगलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारी पनि थिए । प्रधानन्यायाधीश श्रेष्ठ आफ्ना बंगलादेशी समकक्षी ओबाइदुल हसनको निमन्त्रणामा यही जेठ २४ देखि २७ गतेसम्म बंगलादेशको भ्रमणमा छन् । रासस

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  ०७:४३
प्रतिक्रिया दिनुहोस्