site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
१५ वर्षदेखिको ठगी धन्दामा क्रियाशील श्याम पाण्डे यसरी पुगे जेल 

काठमाडौं । वैदेशिक रोजगार विभाग ताहाचलले २०८० पुस ४ मा नुवाकोट बेलकोटगढी नगरपालिका–१३ का ४० वर्षीय श्यामराज पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी गर्‍यो । 

पाण्डेविरुद्ध जारी पक्राउ पुर्जी प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पठाएको थियो । तर, लामो समयसम्म प्रहरीले पाण्डेलाई पक्राउ गर्न सकेन । पाण्डेविरुद्ध आकाश प्रधानसहितका युवाहरूले आफूहरूलाई क्यानडा तथा अमेरिका पठाइदिने भन्दै लाखौं रकम लिएर नपठाई ठगी गरेको भन्दै वैदेशिक रोजगार विभाग पुगेका थिए ।

उनीहरूकै निवेदनका आधारमा विभागले पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । आकाशसहितका सयौँ युवाबाट त्यसरी नै रकम उठाएर फरार पाण्डे पक्राउ नपरेपछि पीडित हैरानीमा थिए । पाण्डेको खोजीमा पीडित आफैँसमेत लागे ।
 
ललितपुर बस्ने पाण्डेको घरदेखि खाजा खान पुग्ने रेष्टुरेन्टसम्म पीडितहरु धाइरहेका थिए । प्रहरीलाई छक्क्याउँदै भाग्न सफल भएका पाण्डे अन्ततः ७ जेठमा पीडित समूहको पञ्जाबाट भने उम्कन सकेनन् ।
 
७ जेठमा पाण्डे बस्दै गरेको कमलपोखरी पाण्डे ट्याक्सी चढेर पुगे । त्यहाँ पाण्डेकै खोजीका लागि बसेका थिए, पर्वत जलजलका २३ वर्षीय विज्ञान रेग्मी र दाङका श्रवणकुमार वली पाण्डे ।

कमलपोखरीमा रहेका नवीन चाम्लिङसँग भेट गर्न पुगेका पाण्डेलाई पीडितको समूहले त्यहीँ समातेको थियो । तर चाम्लिङले आफ्नो कार्यालयमा बसेर पाण्डेसँग कुरा नगर्न भनेपछि धुम्बाराही पुगेर छलफल गर्न भन्दै बाहिरिए ।
 
विज्ञानसँग अमेरिका पठाउने भन्दै पाण्डेले ३० लाख रुपैयाँ लिएका थिए । त्यस्तै वलीसँग मेडिकल सामग्री ल्याइदिने भन्दै करिब ६० लाख रुपैयाँ लिएर गायव भएको आरोप छ ।

धुम्बाराही पुगेपछि भने पाण्डे र विज्ञानबीच हात हालाहालको अवस्था सिर्जना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । त्यहीबेला दरबारमार्ग प्रहरी वृत्तका डीएसपी गोविन्द थापाको फोन श्रवणकुमार वलीलाई आयो । डिएसपी थापाले भनेका थिए, “तिमीहरू तुरुन्त दरबारमार्ग प्रहरीमा आउनू ।”

डीएसपीले फोन गरेपछि श्रणवसहित विज्ञान र पाण्डे ट्याक्सीमै दरबारमार्ग प्रहरी वृत्त पुगे । पाण्डेले ठगी गरेका अन्य पीडितसमेत दरबारमार्ग पुगेका थिए ।

दरबारमार्ग पुगेपछि भने उल्टै पाण्डेले आफूलाई अपहरण गरेको बताएपछि पीडितलाई पनि पाण्डेसँगै थुनामा राखियो ।  लाखौं रकम डुबेर असुल गर्ने उद्देश्यले पाण्डेको पिछा लागेका विज्ञान र श्रवणमाथि प्रहरीले अपहरण तथा शरीर बन्धकको मुद्दामा ७ जेठदेखि थुनामा राखेको छ ।
 
उनीहरूमाथिको अनुसन्धान शुक्रबारमात्रै दरबारमार्ग प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाइसकेको छ । दरबारमार्ग प्रहरी वृत्तका डीएसपी गोविन्द थापाले पीडितहरूले आफूहरू सीआईबीका प्रहरी हौं भन्दै जबर्जस्ती ट्याक्सीमा राखेर रेष्टुरेन्ट पुर्‍याएर कुटपिट गरेको पाइएपछि अपहरणको मुद्दा चलाएको दाबी गरे ।

“पाण्डेले ठगी गरेका होलान् तर, पाण्डेलाई गर्नुपर्ने उनीहरूको व्यवहार त्यो ठीक थिएन । अपराधी नै भए पनि कानुनी प्रक्रिया हुन्छ । कानुनलाई हातमा लिन मिल्दैन,” डीएसपी थापाले भने ।

अनि जेल चलान भए पाण्डे
 
दरबारमार्ग प्रहरीमा रहेका पाण्डे थुनामा रहेपछिमात्रै उनको पुरानो अवस्थाका बारेमा थप पुष्टि हुँदै गयो । नुवाकोटका पाण्डेको सुरुवाती व्यवसाय सोलार कम्पनीको बिक्री वितरण थियो ।  जावलाखेलमा उनले स्काई ब्लु टेक्नोलोजी कार्यालयसमेत खोलेका थिए । पछि भने उनी वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी धन्दामा लागेको पाइएको प्रहरीले जनाएको छ ।

उनीविरुद्ध वैदेशिक रोजगार विभागमा पनि उजुरीको चाङ छ । उनले करोडौं रकम असुल गरेर ठगी गरेको पाइएको छ । पछिल्लो पटक पक्राउ पुर्जी जारी हुनुपूर्व नै २०६८ सालमै वैदेशिक रोजगारी ठगीमा एक वर्ष ६ महिना कैद र एक लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको खुलेपछि उनी जेल चलान भएका हुन् ।

वैदेशिक रोजगार विभागबाट उनीविरुद्ध ३० भन्दा धेरै पटक पक्राउ पुर्जी जारी भएको पाइएको छ । 

उनले वैदेशिक रोजगारीका नाममा करिब १५ वर्षअघिदेखि ठगी धन्दा गरेको खुलेको हो । ठगी धन्दाबाहेक पाण्डे कीर्ते प्रकरणमा समेत मुछिएका छन् । प्रहरीको अनुसन्धानबाट पाण्डेले दुईवटा पासपोर्टसमेत लिएको पाइएको छ । 

श्यामराज पाण्डेकै नामबाट उनले १०५९५१२५ नम्बर र अर्को १२३४३४१२ नम्बरको पासपोर्ट प्रयोग गरेको फेला परेको हो । पहिलो पासपोर्ट उनले २०१७ र दोस्रो २०२१ मा लिएको देखिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १४:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro