site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
आईईएलटीएसमा ६ अंक ल्याउने मात्र श्रम सहचारी बन्न पाउने

काठमाडौं । विदेशस्थित नेपाली नियोगहरूमा काउन्सेलर तथा श्रम सहचारी पदमा काम गर्न जाने कर्मचारीले अब अनिवार्य आईईएलटीएसमा ६ अंक (स्कोर) ल्याउनु पर्नेछ । 

आईईएलटीएसमा उक्त अंक नल्याए श्रम सहचारी पदमा काम गर्न जान पाउने छैनन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ल्याएको ‘काउन्सेलर (श्रम) तथा श्रम सहचारी छनोट तथा नियुक्तिसम्बन्धी मापदण्ड, २०८१’ मा उक्त व्यवस्था गरिएको हो ।

“विदेशस्थित नेपाली कूटनीतिक नियोगमा रहने काउन्सेलर (श्रम) तथा श्रम सहचारीको नियुक्तिलाई व्यवस्थित र नियमित गर्न वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ४३(२) बमोजिम यो मापदण्ड बनाइएको छ,” मामदण्डमा भनिएको छ । मापदण्डमा नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूहका कर्मचारी मात्र काउन्सेलर तथा श्रम सहचारी पदमा नियुक्तिको लागि सम्भाव्य उमेदवार हुन पाउने व्यवस्था गरिएको छ । 

काउन्सेलर र श्रम सहचारी बन्न आवेदन फाराम भर्ने अन्तिम मितिसम्म छनोट हुने पदका निमित्त आवश्यक पर्ने श्रेणी र पदमा सेवा अवधि कम्तीमा तीन वर्ष पूरा भएको र सम्बन्धित कार्यालयमा लगातार कम्तीमा एक वर्षदेखि कार्यरत रहेको हुनुपर्ने नयाँ मापदण्डमा उल्लेख छ । 

“यस प्रयोजनका लागि अन्यत्र दरबन्दी रही श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र मातहत निकायमा अविच्छिन्न कार्यरत अवधि समेतलाई गणना गरिने छ,” नयाँ मापदण्डमा भनिएको छ, “तर, पदस्थापन मन्त्रालय वा अन्तर्गत भई अन्यत्र निकायमा काजमा रहेको अवधि गणना हुने छैन ।” 

काउन्सेलर तथा श्रम सहचारीको लागि अंग्रेजी भाषा अनिवार्य गरिएको छ । आईईएलटीएस परीक्षामा ६ स्कोर वा टोफेल पीबीटी/सीबीटी/आईबीटीमध्ये कुनै एउटा परीक्षामा कम्तीमा क्रमशः ५५०/२१३/७९ स्कोर ल्याउने मात्र काउन्सेलर तथा श्रम सहचारीको लागि योग्य हुने मापदण्डमा उल्लेख गरिएको छ । 

नयाँ मापदण्डमा पीटीई परीक्षामा कम्तीमा ५१ अंक प्राप्त गरेको र आईईएलटीएस, टोफेल जस्ता भाषा परीक्षामा सहभागी भई तोकेको अंक ल्याएको अवधि दुई वर्ष ननाघेकोको मात्र योग्य हुने जनाइएको छ । छनोटको सूचना प्रकाशन भएको मितिदेखि अनिवार्य अवकाशको अवधि दुई वर्षभन्दा कम भएको कर्मचारी काउन्सेलर तथा श्रम सहचारीमा छनोटका लागि योग्य नहुने व्यवस्था नयाँ मापदण्डले गरेको छ । 

छनोटको सूचना प्रकाशन भएको मितिले विगत एक वर्षको अवधिमा कुनै विभागीय सजाय पाएको, कुनै कसुरको अभियोगमा अनुसन्धानको लागि थुनामा रहेको वा निलम्बनमा रहेको अवधिभर र एक पटक काउन्सेलर तथा श्रम सहभारी भइसकेको कर्मचारी पनि अयोग्य ठहरिनेछ । 

छनोटको सूचना प्रकाशन भएको मितिदेखि लगत्तै अघिको दुई वर्षको अवधिमा पटक पटक वा एकमुष्ठ ६ महिनाभन्दा बढी बेतलवी वा असाधारण बिदा बसेको कर्मचारी पनि काउन्सेलर तथा श्रम सहचारीको लागि अयोग्य हुने व्यवस्था नयाँ मापदण्डमा गरिएको छ । “काउन्सेलर तथा श्रम सहचारीले आफू कार्यरत रहेको दूतावास वा नियोग प्रमुखको प्रत्यक्ष नियन्त्रणमा रही अन्य कूटनीतिक कर्मचारी सरह कार्य गर्नेछ र निजले कूटनीतिक कर्मचारीका लागि तोकिएको आचरणको पालना गर्नुपर्नेछ,” नयाँ मापदण्डमा भनिएको छ । 

नयाँ मापदण्डमा श्रम सहचारीको पदावधि दुई वर्षको बनाइएको छ । विशेष परिस्थितिको कारण समयमै नयाँ श्रम सहचारी छनोट तथा नियुक्ति हुन नसकेको अवस्थमा मात्र मन्त्रालयले बढीमा ६ महिनाको लागि कार्याविधि थप गर्न सक्नेछ । 

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  १८:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro