site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
तातो हावा कसरी चल्छ, यसबाट बच्न के गर्ने ?

काठमाडौं । लुम्बिनी र सुदूरपश्चिमका तराई भू–भागमा कम्तीमा अबको तीन दिन तातो हावा चल्नेछ । तर, पानी नपरेको र अन्य कुनै जलवाष्पयुक्त प्रणाली विकास भएर त्यसको ठूलो प्रभाव नपरे तातो हावा चल्ने समय थप लम्बिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  

विभागका अनुसार तराईका कतिपय जिल्लाको अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । जसका कारण स्थानीय जनजीवन समेत प्रभावित हुन थालेको छ । विभागले आज नेपालगन्जको तापक्रम ४१.७ डिग्री सेल्सियस पुग्ने अनुमान गरेको छ । तराईका कतिपय स्थानमा केही दिनयता यसकै सेरोफेरोमा अधिकतम तापक्रम पुग्ने गरेको विभागले जनाएको छ । 

किन चल्छ तातो हावा ?
सूर्य उत्तरायण भएपछि उत्तरी गोलाद्र्धमा तापक्रम बढ्न थाल्छ । यसरी बढ्न थालेको तापक्रम जबसम्म मनसुन सुरु हुँदैन तबसम्म गर्मी बढ्ने मौसमविद् प्रतिभा मानन्धर बताउँछिन् । “मनसुन सुरु नभएसम्म निरन्तर तापक्रम बढ्ने हुन्छ । स्थानीय वायुको प्रभावका कारण वर्षा हुने सम्भावना रहन्छ । तर, जुन ठाउँमा स्थानीय वायुको प्रभाव परेको हुन्छ । त्यसले बादल बनाउन नसक्ने र वर्षा गराउन नसक्दा तापक्रम बढ्दै जान्छ,” उनी भन्छिन्, “पहाडी भू–भागमा तापक्रम बढे पनि बादल बन्ने र घाम छेक्ने सम्भावना भएकाले धेरै गर्मी हुँदैन । तर, समथर भू–भाग तराईमा तापक्रम बढेपछि बादल पनि नलाग्ने र घाम नछेकिने भएकाले हरेक दिन तापक्रम बढ्दै जान्छ ।” 

Dabur Nepal
NIC Asia

४० डिग्री पुगेपछि तातो लहर
तराईमा तापक्रम बढ्दै गएर जब अधिकतम तापक्रम ४० डिग्री नाघ्छ, त्यसपछि हावा पनि तातो नै चल्ने मौसमविद् मानन्धर बताउँछिन् । त्यसपछि दिन मात्रै होइन रातको समयमा पनि उच्च गर्मी हुने उनको भनाइ छ । “४० डिग्री तापक्रम नाघेपछि जल तथा मौसम विज्ञान विभागले सचेत गराउँदै विशेष बुलेटिन नै निकाल्ने गरेका छौँ,” उनी भन्छिन्, “अधिकतम तापक्रम ४० डिग्री पुगेका स्थानमा पनि दिनभर एकैनासको तापक्रम हुँदैन । तापक्रम घट्ने/बढ्ने भइरहेको हुन्छ ।” 

गर्मीको समयमा दिउँसो र रातिको तापक्रमको फरक औसतमा आठदेखि १२ डिग्री फरक हुन्छ । मंगलबार नेपालगन्जमा ४१ डिग्री तापक्रम हुँदा न्यूनतम तापक्रम २८ डिग्री सेल्सियस रहेको मानन्धर बताउँछिन् । यद्यपि, जाडो महिनामा भने अधिकतम र न्यूनतम तापक्रमको फरक यही अनुपातमा हुँदैन । जाडोमा अधिकतम र न्यूनतम तापक्रमबीचको फरक निकै कम हुन्छ । “जाडोमा शितलहर चलेका बेला अधिकतम र न्यूनतम तापक्रमको फरक दुईदेखि तीन डिग्रीको मात्रै हुन्छ,” उनी भन्छिन् । 

तातो हावा कहाँबाट आउँछ ? 
“हरेक समय हावा प्राकृतिक रूपमै उत्पादन भइरहेको हुन्छ । स्थानीयस्तरमा भइरहेको हावा नै उच्च तापक्रमका कारण तातो हुने हो,” मौसमविद् मानन्धर भन्छिन्, “कुन स्थान र कताबाट जन्मिएको हावा हो त्यसमा पनि भर पर्छ । अहिले हाम्रोमा पश्चिमी वायुको प्रभाव रहेको छ । पूर्वी नेपालमा बंगलादेश आसपासको न्यूनचापीय प्रणालीको प्रभाव परिरहेको छ । तर, यसको धेरै प्रभाव नरहेका कारण गर्मी बढिरहेको छ ।” 

त्यसैले निरन्तर चलिरहने हावा नै तातो भएको उनको भनाइ छ । जुनसुकै स्थानबाट बहेर हावा आए पनि सूर्यको किरण परेर तातो हुने हो । “हावा तातो हुनुमा सबैभन्दा ठूलो प्रभाव स्थान विशेषमा आइपुगेपछि सूर्यको किरणको तातो नै हो,” उनले भनिन् । 

मनसुन सुरु नहुँदासम्म गर्मी
नेपालमा प्रि–मनसुनको समय मार्च, अप्रिल र मे सबैभन्दा धेरै गर्मी हुने अवधि हो । यी तीन महिना तातो हावाको लहर सबैभन्दा धेरै चल्ने सम्भावना उच्च हुन्छ । “मनसुन सुरु हुनुभन्दा अगाडिसम्म तातो हावाको लहर रहने सम्भावना रहिरहन्छ । बीचमा केही समय स्थानीय र पश्चिमी वायुले बादल बनाएर पानी पर्‍यो भने त्यो छुट्टै कुरा भयो । स्थानीय वायुले एकै पटक देशभर बादल बनाउने र वर्षा गराउने सम्भावना हुँदैन,” उनी भन्छिन्, “प्रि–मनसुन १३ जुनसम्म मात्रै हो । जुन सुरु भएसँगै मनसुन अवधि सुरु हुन्छ । तर, जुन १३ बाटैभन्दा पनि मनसुन कुनै वर्ष केही दिन ढिलो वा केही दिन चाँडै पनि सुरु हुनसक्छ ।” जुन १३ नेपालमा मनसुन प्रवेश गर्ने औसत मिति हो ।

जुन दिनसम्म मनसुन आउँदैन त्यो दिनसम्म प्रि–मनसुन गतिविधि नै सक्रिय हुने भएकाले गमी पनि भइरहन्छ । मनसुनको जलवाष्पयुक्त हावा नभित्रिएसम्म तातो हावा नै चल्ने मौसमविद् मानन्धर बताउँछिन् । 

कति हो हालसम्मकै गर्मीको उच्च रेकर्ड ? 
नेपालमा हालसम्मकै उच्च तापक्रम सन् १९९५ मा मापन गरिएको थियो । १९९५ को जुन ५ मा धनगढीमा भएको उच्च तापक्रम नै अहिलेसम्म नेपालमा मापन गरिएको सबैभन्दा धेरै गर्मी हो । 

विभागका अनुसार १९९५ को जुन ५ मा धनगढीको तापक्रम ४६.४ डिग्री सेल्सियस मापन गरिएको थियो । त्यसयता त्यति धेरै तापक्रम नेपालमा मापन भएको तथ्यांक छैन । 

काठमाडौंको अहिलेसम्मको उच्च तापक्रम ३६.६ डिग्री सेल्सियस हो । सन् १९८९ मे ७ मा काठमाडौंको तापक्रम ३६.६ डिग्री सेल्सियस पुगेको थियो । सन् १९९५ मा नेपालगन्ज र भैरहवामा ४५ डिग्री सेल्सियस तापक्रम पुगेको थियो । त्यसयता ती क्षेत्रमा त्यति तापक्रम मापन भएको छैन । 

विभागका अनुसार यस वर्षको सबैभन्दा उच्च तापक्रम भैरहवामा वैशाख ८ (अप्रिल २०) मा मापन गरिएको थियो । त्यसदिन भैरहवाको अधिकतम तापक्रम ४३.६ डिग्री सेल्सियस मापन गरिएको थियो । त्यस्तै, काठमाडौंमा यो वर्षका लागि अहिलेसम्मको अधिकतम तापक्रम ३४.४ डिग्री सेल्सियस मापन गरिएको छ । यही जेठ ११ (मे २४) मा काठमाडौंको तापक्रम यस वर्षकै उच्च मापन गरिएको हो । 

तातो हावाका सम्भावित असर 
तातो हावाको लहरबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी प्यास लाग्ने, टाउको दुख्ने विभागले जनाएको छ । खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेसीहरू दुख्ने, बान्ता हुनसक्ने भन्दै विभागले सचेत हुन आग्रह गर्दै आएको छ । 

तातो हावाको असरबाट कसरी बच्ने ? 
तातो हावाको लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा बस्न र बाहिरी वातावरणमा बढी नजान विभागले सुझाएको छ । घाममा धेरै नबस्ने, हल्का लुगा लगाउने, सुतीको कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ (जुस, सर्वत आदि पिउन विभागको आग्रह छ । 

प्रशस्त मात्रामा पानी तथा पेय पदार्थ पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत विभागको सुझाव छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  १२:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro