site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गण्डकी सरकारविरुद्धको रिट : रेग्मी र पोखरेलको इजलासमा सुनुवाइ सुरु

काठमाडौं । गण्डकी प्रदेशको सरकारविरुद्धको रिटमाथि सोमबार सर्वोच्च अदालतमा सुरुवाइ सुरु भएको छ । न्यायाधीशद्वय कुमार रेग्मी र सुनीलकुमार पोखरेलको इजलासमा सुरुवाइ सुरु भएको हो ।

गण्डकीका प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखविरुद्धको रिट यही जेठ ८ गतेदेखि ‘हेर्दाहेर्दै’मा परेको छ । जेठ ८ र ९ गते लगातार सुनुवाइपछि पेसी आजका निम्ति तोकिएको थियो ।

नेपाली कांग्रेस गण्डकी संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले रिट दायर गरेका हुन् । सभामुख समेतको हस्ताक्षरमा बहुमत दाबी गरिएको भन्दै दायर अघिल्लो रिटमा न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासले ६० सदस्यीय प्रदेशसभामा सभामुख हटाएर ३० नै बहुमत हुने व्याख्या गरेको थियो ।

सर्वोच्चको उक्त व्याख्याबमोजिम वैशाख २५ गते गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिएका थिए । त्यसपछि वैशाख २७ गते पाण्डेले पुनः रिट दायर गरेका हुन् । रिटमाथि प्रारम्भिक सुनुवाइपछि वैशाख २८ मा सर्वोच्चका न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले अन्तरिम आदेश जारी गरेको थियो । त्यससँगै मुख्यमन्त्री अधिकारी दोस्रोपटक कामचलाउ भएका छन् ।

संविधानतः विश्वासको मत माग्ने प्रस्तावमा सम्पूर्ण सभाको बहुमत नपाएपछि मुख्यमन्त्री स्वतः पदमुक्त हुने व्यवस्था छ । तर, सर्वोच्चकै फैसलाअनुरूप विश्वासको मत लिएको देखिँदा न्यायाधीश मुसलमानको इजलासले मुख्यमन्त्रीलाई कामचलाउ भूमिका मात्र निर्वाह गर्न र पूर्ण सुनुवाइबाटै मुद्दा टुंगो लाग्ने आदेश गरेको थियो ।

सत्तापक्षले उक्त मुद्दा लम्ब्याउन संवैधानिक इजलास माग्नेसहितका प्रयास जारी राखेको छ । रिट निवेदक कांग्रेसले चाँडो फैसलाका निम्ति प्रयास गरिरहेको छ ।

गएको चैत २५ गते प्रदेशसभाका सभामुख समेतको नाम राखी बहुमत देखाएर एमाले गण्डकी संसदीय दलका नेता अधिकारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । त्यसअघि, पूर्वमुख्यमन्त्री पाण्डेले सभामुखलाई बहुमत/अल्पमतमा सहभागी नगराउन प्रदेश प्रमुखलाई पत्राचार गरेका थिए ।

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  १२:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro