काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले मुलुक अहिले कमजोर भएको टिप्पणी गरेका छन् ।
पद र कुर्सीका लागि नेताहरू राष्ट्रिय हितमा अडिन नसक्ने मुलुक एकदमै कमजोर अवस्था पुगेको उनको तर्क थियो । सोमबार बेपत्ता योद्धा समाज परिवार, नेपालले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव विप्लवले नेताहरू पदीय लोभमा फस्दा शान्ति प्रक्रियाका बाँकी कामहरू पनि ओझेलमा परेको दाबी गरे ।
उनले नेपालको संविधान विगतका सबै संविधानभन्दा उत्कृष्ट भए पनि त्यसको कार्यान्वयनमा लाग्ने काममा नेताहरू पछि परेको बताए । महासचिव चन्दले बेपत्ता योद्धाहरूलाई राष्ट्रिय सम्मान गर्ने कुरामा राज्यले स्वामित्व लिने कुरामा ढिलाइ गर्न नहुने पनि बताए ।
"नेपालको राजनीतिक आन्दोलन आत्मनिर्भर बन्न सकिराखेको छैन । नेपालको राजनीतिक आन्दोलन देशलाई केन्द्रविन्दुमा राखेर जान सकिराखेका छैन । पार्टीहरू, नेताहरूले आत्मनिर्भर तरिकाले निर्णय लिन सकिराखेका छैनन् । कतै न कतैबाट प्रभावित हुन्छन् । टुटफुटदेखि लिएर सरकार ढल्ने, बन्ने भन्ने कुरा सबै पार्टीभित्र यो बहस छ । अहिले हामी यसो बाहिर हेर्छौँ– नेपाल एकदम कमजोर भएको देख्छौँ," उनले भने ।
महासचिव चन्दले मुलुकलाई अघि बढाउन नेताहरूले आत्मनिर्भरताको बाटो रोज्नुपर्ने आवश्यकता पनि औल्याए ।