काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले सहकारीको बचत अपचलन प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने दोषी भएजसरी नेपाली कांग्रेसले प्रस्ताव ल्याएको बताएका छन् । उक्त प्रकरण छानबिनका निम्ति बनाउने भनिएको संसदीय समितिको ‘टीओआर’ तयार पार्न आइतबार दिउँसो सिंहदरबारमा बसेको कार्यदलको बैठकपछि उनले यस्तो बताएका हुन् ।
समितिको कार्यादेश बनाउँदा नै व्यक्तिलाई दोषी मान्न नसकिने उनले उल्लेख गरे । “समितिले कसलाई दोषी करार गर्छ, त्यो एउटा कुरा हो । आजको दिनमा नै एउटा व्यक्तिलाई दोषी करार गरेर छानबिन गर्नुपर्छ भन्ने न्यायसंगत हुँदैन,” उनले भने ।
उनले सबै सहकारीपीडितलाई न्याय दिने गरी छानबिन गरिनुपर्ने आफूहरूको भनाइ रहेको स्पष्ट पारे । आजको संसद् बैठकमा गृहमन्त्री लामिछानेले जवाफ दिने र त्यसपछि फेरि कार्यदलको बैठक बस्ने उनले जानकारी दिए ।