-1747999494.jpg)
काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले मे २७ मा विश्वभरका आफ्ना दूतावासहरूलाई नयाँ विद्यार्थी भिसा अन्तरवार्ताहरू अस्थायी रूपमा रोक्न निर्देशन दियो । यो कदम ट्रम्प प्रशासनले अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि सामाजिक सञ्जाल जाँच विस्तार गर्न खोज्दै गरेको अन्तिम प्रतिबन्धहरूमध्ये एक थियो ।
भर्खरै जर्जटाउन विश्वविद्यालयको तेस्रो वर्ष सकेकी एक अन्तर्राष्ट्रिय विद्यार्थी हुन्, २१ वर्षीया खदिजा महमूद । अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि भर्खर जारी गरेको सीमा नियन्त्रण नीतिहरूका कारण उनी चिन्तित र आतंकित छिन् । “यो धेरै अस्थिर र डरलाग्दो अवस्था हो, प्रत्येक नयाँ विकाससँगै डर बढ्दै गइरहेको छ,” महमूदले भनिन् ।
अलजजिराका अनुसार यस्तो महसुस गर्नेमा महमूद एक्ली होइनन् । धेरै अन्य अन्तर्राष्ट्रिय विद्यार्थीहरूले डराउँदै चुपचाप बस्नुपर्छ भन्ने महसुस गरिरहेका छन्, किनभने सानोतिनो समस्याले पनि उनीहरूलाई निर्वासित गराउन सक्छ ।
ट्रम्प प्रशासनले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्या घटाउन गरेका घोषणा र कार्यहरूले अमेरिकाका उच्च शिक्षा संस्थाहरूमा अनिश्चितताको आतंक फैलिएको छ ।
ट्रम्पले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भर्नालाई सीमित गर्ने नीतिहरूले देशको अर्थतन्त्रमा ठूलो नकारात्मक प्रभाव पार्न सक्ने विश्लेषकहरूले चेतावनी दिएका छन् । विश्वविद्यालयहरूका प्रशासकहरूले यसले शैक्षिक संस्थानहरूको वित्तीय स्थिरतामा असर पार्ने बताएका छन् भने अर्थशास्त्रीहरूले दीर्घकालीन आर्थिक नोक्सानको चेतावनी दिएका छन् ।
संघीय सरकारबाट प्राप्त हुने सहयोग घट्दै जाँदा अमेरिकाका शिक्षण संस्थाहरू अन्तर्राष्ट्रिय विद्यार्थीहरूले तिर्ने उच्च शुल्कमा बढी निर्भर हुँदै आएका थिए । अब, उनीहरूको आर्थिक स्थिरतामा हलचल आउन सक्ने बताइएको छ ।
अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अमेरिकी विश्वविद्यालयहरूलाई प्रतिवर्ष अर्बौं डलर राजस्व दिन्छन् र स्नातकपछि देशको उच्च प्रविधि उद्योगहरूमा योगदान पुर्याउँछन् ।
विज्ञहरूले यसले नवप्रवर्तनमा असर पार्ने, प्रविधि क्षेत्रमा श्रमिक अभाव बढाउने र देशको वैश्विक प्रतिस्पर्धात्मकतामा ठूलो चुनौती सिर्जना गर्ने बताएका छन् ।
यसले अमेरिकामा जन्मिएका कलेज अध्ययन गर्न खोज्ने विद्यार्थीहरूमा नकारात्मक प्रभाव पार्न सक्ने अर्थशास्त्री तथा अनुसन्धानकर्ताहरूले चेतावनी दिएका छन् । उनीहरूले यसको प्रभाव कलेज, क्याम्पसभन्दा पनि धेरै टाढासम्म पुग्न सक्ने बताएका छन् । अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्या घट्नाले आगामी वर्षहरूमा अमेरिकी श्रम बजार र व्यापक अर्थतन्त्रमा तरंग आउन सक्ने सीएनएनले जनाएको छ ।
कोर्नेल विश्वविद्यालयको स्कूल अफ इन्डस्ट्रियल एन्ड लेबर रिलेसन्सका श्रम अर्थशास्त्री तथा प्राध्यापक माइकल लोभेनहाइमले भने, “अन्तर्राष्ट्रिय विद्यार्थीहरूले आफ्नै उच्च आयबाट मात्र फाइदा लिन्नन्, तिनीहरू आर्थिक वृद्धि गर्ने क्षेत्रहरूमा काम गर्छन्, व्यवसाय सुरु गर्छन्, उत्पादकत्व बढाउने र जीडीपी बढाउने उच्च वृद्धि भएका क्षेत्रहरूमा कार्यरत हुन्छन् ।”
एसोसिएसन अफ इन्टरनेसनल एजुकेटर्स (एनएएफएसएएम)का अनुसार, सन् २०२३/२०२४ शैक्षिक वर्षमा अमेरिकामा ११ लाखभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अध्ययन गरेका थिए ।
यी अन्तर्राष्ट्रिय विद्यार्थीहरूले सम्पूर्ण अमेरिकाका लगभग १९ लाख उच्च शिक्षा विद्यार्थीहरूमध्ये ५.६ प्रतिशत ओगटेका छन् । भारत र चीनका विद्यार्थीहरू गरी अमेरिकामा कुल ५४ प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थीहरू रहेका छन् । जसमा भारत तीन लाख ३१ हजार ६०२ जना (२९ प्रतिशत) र चीन दुई लाख ७७ हजार ३९८ जना (२५ प्रतिशत)को हिस्सेदारी छ ।
सन् २०२३–२४ शैक्षिक वर्षमा ११ आख अन्तर्राष्ट्रिय विद्यार्थीहरूले तीन लाख सात हजार १७५ रोजगारीलाई सहयोग गरेको देखिन्छ । यसको आधा रोजगारी कलेज तथा विश्वविद्यालयमा छन् भने बाँकी आवास, खाद्य सेवा, खुद्रा बिक्री, यातायात र बिमाजस्ता अन्य क्षेत्रमा छन् ।
यसले जम्मा ४३.८ बिलियन डलरको रेकर्ड उच्च आर्थिक योगदान दिएको छ ।
धेरै अन्तर्राष्ट्रिय विद्यार्थीहरू पूर्वी र पश्चिमी तटका प्रमुख विश्वविद्यालयहरूमा केन्द्रित छन् । तर मध्यपश्चिम र अमेरिकाका अन्य भागहरूका प्रख्यात विश्वविद्यालयहरूमा पनि पर्याप्त संख्यामा विद्यार्थीहरू अध्ययन गर्दै छन् ।
ओपन डोर्सद्वारा संकलन गरेको तथ्यांकअनुसार, सन् २०२३/२०२४ शैक्षिक वर्षमा न्युयोर्क सिटीले सबैभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरूको आतिथ्य गरेको छ । यसमा न्युयोर्क विश्वविद्यालयमा २७ हजार २४७ र कोलम्बिया विश्वविद्यालयमा २० हजार ३२१ विद्यार्थी छन् । बोस्टनको नर्थइस्टर्न विश्वविद्यालय २१ हजार ०२३ अन्तर्राष्ट्रिय विद्यार्थीसहित दोस्रो स्थानमा छ ।
प्राध्यापक माइकल लोभेनहाइमले थपे, “अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्या घटाउनुले मध्यम अवधिमा हाम्रो आर्थिक प्रतिस्पर्धात्मक स्तरलाई कमजोर पार्नेछ र लामो अवधिमा पनि असर गर्न सक्छ । तर यो कसरी विकसित हुन्छ भन्नेमा निर्भर गर्दछ ।”
ट्रम्प प्रशासनले अन्तर्राष्ट्रिय विद्यार्थीहरूमा सीमा लगाउने कदमले युनिभर्सिटी अफ क्यालिफोर्निया, डेभिसमा रहेको ग्लोबल माइग्रेसन सेन्टरलाई पहिले नै असर गरिसकेको सेन्टर निर्देशक तथा यूसी–डेभिस प्राध्यापक जियोवानी पेरीले बताए । उनी अन्तर्राष्ट्रिय आप्रवासको आर्थिक प्रभावबारे अनुसन्धान गर्ने अर्थशास्त्री पनि हुन् ।
उनले भने, “हामीले प्रदान गर्ने फन्डिङ र भिसाको अनिश्चितताका कारण अन्य देशहरूबाट आउने विद्यार्थीहरूको नयाँ समूहमध्ये केहीलाई हामी पहिले नै गुमाइसकेका छौँ । युरोपका एक–दुईजनाले इंग्ल्यान्ड जाने निर्णय गरिसकेका छन् ।”
“अहिलेसम्म संसारको सबैभन्दा बलियो विश्वविद्यालय वातावरणको रूपमा आफूलाई स्थापित गर्न अमेरिकालाई धेरै लामो समय लाग्यो । तर विषयहरू परिवर्तन हुन्छन् र यो परिवर्तन स्थायी रूपमा पनि हुन सक्छ ।”
उनले हाल सेन्टरमा अनुसन्धान गरिरहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूले पनि कठिनाइ भोगिरहेका पनि बताए ।
अन्तर्राष्ट्रिय विद्यार्थीहरूले क्यानडा, युरोप, अस्ट्रेलिया वा अन्य क्षेत्रहरूमा पढ्ने निर्णय गरे भने त्यसले अन्ततः अमेरिकी अर्थतन्त्रलाई नोक्सान पुर्याउने उनी बताउँछन् ।
आफैँ पूर्वअन्तर्राष्ट्रिय विद्यार्थी रहेका एनएएफएसएका कार्यकारी निर्देशक र सीईओ, फान्टा आव वर्तमान अन्तर्सम्बन्धित विश्वमा अन्तर्राष्ट्रिय विद्यार्थीहरू र स्थानीय समुदायबीचको सांस्कृतिक आदानप्रदान महत्त्वपूर्ण रहेको बताउँछिन् ।
“मलाई लाग्छ, यो अमेरिकाका लागि ठूलो क्षति हो । अन्य देशहरूले आफ्ना ढोका खोल्नेछन् र उनीहरूले पहिले नै विद्यार्थीहरूलाई स्वागत गरिरहेका छन्,” आवले भनिन् ।
“एकचोटि तपाईं यो पथमा लाग्नुभयो भने यसबाट उठ्न वर्षौं लाग्न सक्छ वा कहिल्यै नउभ्रन पनि सक्नुहुन्छ । किनभने त्यतिबेलासम्म यी विद्यार्थीहरूका लागि धेरै देशहरू प्रतिस्पर्धा गरिरहेका हुनेछन् ।”
“हामी जर्मनीलाई हेरौँ, जापान, दक्षिण कोरिया वा मलेसियालाई हेर्छौं जो सधैँ विद्यार्थीहरूका लागि गन्तव्य बनेर रहेको छ । मध्यपूर्व, जहाँ सबै अमेरिकी–शैलीका विश्वविद्यालयहरू छन् । यिनीहरूसँग अमेरिका प्रतिस्पर्धा गरिरहेको छ ।”
यूसी–डेभिस प्राध्यापक जियोवानी पेरीले आफ्नो अनुसन्धानलाई उद्धृत गर्दै भने, “अमेरिकामा विदेशी विद्यार्थीहरूले स्नातकपछि कम्पनी स्थापना गर्ने दर अमेरिकीहरूको तुलनामा करिब चार गुणा बढी छ । त्यसैले, नयाँ कम्पनीहरू घट्नेछन् । अमेरिकाका अन्य कम्पनीहरूमा काम गर्न वैज्ञानिक र इन्जिनियरहरू पनि कम हुने र कम्पनीहरूको वृद्धि विकास, रोजगारी र स्थानीय अर्थतन्त्रहरूमा आय पनि घट्नेछ ।”
पेरीले यसरी व्यवसाय सिर्जनाको सम्भावित प्रभाव पहिले नै आप्रवासन प्रतिबन्ध वा चुनौतीहरूले बाधित भएको बताए ।
उनले एक अघिल्लो अध्ययनमा अध्यागमन र भिसा प्रतिबन्धको कारण, अमेरिकामा स्नातकोत्तर गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूको मात्र २० प्रतिशतले अमेरिकामा नै बसेर कम्तीमा दुई वर्ष काम गरको निष्कर्ष थियो ।
उनले भने, “अमेरिकामा डिग्री हासिल गर्ने विद्यार्थीहरूलाई ग्रिन कार्ड दिने प्रस्तावहरू पनि आए यो कार्यान्वयन भएन, झन् हामी उल्टो दिशातिर कदम चालेका छौँ ।”
उनले चेतावनी दिँदै थपे, “यदि ट्रम्प प्रशासनको अन्तर्राष्ट्रिय विद्यार्थीहरूप्रति नीति र दृष्टिकोणमा ठूलो परिवर्तन गरेन भने यी नकारात्मक परिणामहरू २–३ वर्षभित्र अमेरिकी अर्थतन्त्रमा महसुस गर्न सकिनेछ ।”
सन् २०२३–२०२४ शैक्षिक वर्षमा ११ लाख विद्यार्थीमध्ये गणित र कम्प्युटर विज्ञान, इन्जिनियरिङ, र व्यवस्थापन सबैभन्दा लोकप्रिय विषयहरू थिए ।
अंग्रेजी भाषा कार्यक्रममा नामांकन गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले ३७१.३ मिलियन डलरको योगदान गरे र दुई हजार ६९१ रोजगारहरूमा सहयोग गरे ।
डिग्रीका हिसाबले, लगभग आधा (५ लाख दुई हजार) अन्तर्राष्ट्रिय विद्यार्थीहरू स्नातकोत्तर कार्यक्रममा, तीन लाख ४३ हजार स्नातक कार्यक्रममा, दुई लाख ४३ हजार अप्सनल प्राक्टिकल ट्रेनिङमा, र ३९ हजार गैर–डिग्री कार्यक्रममा दर्ता थिए ।
प्रिन्सटन विश्वविद्यालयका इतिहासका प्रोफेसर डेभिड बेलले न्युयोर्क टाइम्समा लेखेको लेखमा ट्रम्प प्रशासनको दृष्टिकोण सन्दर्भमा हालका घटनाहरूले अमेरिकी विद्यार्थी समुदायको अन्तर्राष्ट्रियीकरणबारे गम्भीर छलफल सुरु गर्न सक्ने बताए ।
बेलले उल्लेख गरे कि २०२३–२०२४ शैक्षिक सत्रमा १.१ मिलियन अन्तर्राष्ट्रिय विद्यार्थीहरूले भर्ना गरेका थिए, जुन ४५ वर्षअघिको भन्दा चार गुणा बढी हो ।
उनले लेखे, “धेरै ठूला सामाजिक परिवर्तनहरू जस्तै यो पनि कुनै चेतनशील योजना वा बहसबिना नै भएको हो । विदेशी विद्यार्थीहरूले झन् बढी संख्यामा आवेदन दिँदै गए र विश्वविद्यालयहरूले खुसीले उनीहरूलाई प्रवेश दिए । किनभने गैर–अमेरिकीहरूले अमेरिकीहरूको तुलनामा धेरै कम दरमा योग्यता र आवश्यकतामा आधारित आर्थिक सहयोग पाउँछन् । डोनाल्ड ट्रम्पले हार्वर्डप्रति गरेको अशिष्ट र प्रतिशोधात्मक हमलाले मात्र यस विषयमा ध्यान आकर्षित गराएको छ ।”
सीएनएन, अलजजिरासहित विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमबाट