
काठमाडौं । ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयले इजरायली र यहुदी विद्यार्थीहरूप्रति गरेको व्यवहारले नागरिक अधिकार कानुनहरूको उल्लंघन गरेको बताएको छ । अमेरिकी सरकारको यस्तो निष्कर्षपछि सम्भवतः हार्वर्ड विश्वविद्यालयको संघीय सरकारबाट प्राप्त हुने कोषलाई थप जोखिममा पार्नसक्ने बीबीसीले जनाएको छ ।
ट्रम्प प्रशासनले हार्वर्डलाई पठाइएको पत्रमा विश्वविद्यालय प्रशासनले क्याम्पसमा असुरक्षा महसुस गरेका यहुदी विद्यार्थीको चासोप्रति जानाजानी उदासिनता देखाएको आरोप लगाएको छ ।
यो कदम हार्वर्ड र ह्वाइट हाउसबीचको कानुनी र आर्थिक लडाइँको श्रृंखलाको पछिल्लो कडी भएको समाचारमा उल्लेख छ । ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयमाथि विभिन्न कदमहरू चालिरहेको छ । हार्वर्ड र ह्वाइट हाउसबीच आरोपप्रत्यारोप चलिरहेको छ ।
तर, हार्वर्डले भेदभावविरुद्ध महत्वपूर्ण सुधार गरेको र सरकारको निष्कर्षसँग कडा असहमति भएको जनाएको समाचारमा उल्लेख छ ।
ट्रम्प प्रशासनले पठाएको पत्रमा भनिएको छ, “तत्काल पर्याप्त परिवर्तनहरू लागु गर्न असफल भएमा हार्वर्डले संघीय सरकारबाट प्राप्त गर्ने वित्तीय स्रोतहरू गुमाउनेछ ।”
संघीय अनुसन्धानकर्ताहरूले अधिकांश यहुदी विद्यार्थीले आफूविरुद्ध भेदभाव वा पक्षपात भएको रिपोर्ट गरेको थाहा हुन आएको छ । अनुसन्धानमा समावेश गरिएकामध्ये एक चौथाइले शारीरिक रूपमा असुरक्षा महसुस गरेको बताएका छन् । बीबीसी