site stats
बाह्रखरी :: Baahrakhari
विदेश
फोर्दो परमाणुस्थलमा इरानले सुरु गर्‍यो निर्माणकार्य ?

काठमाडौं । इरानको फोर्दो परमाणु सुविधा भएको क्षेत्रमा ठूलो संख्यामा निर्माण उपकरणहरू परिचालन गरेर विभिन्न काम भइरहेको देखिएको छ । म्याक्सार टेक्नोलोजीको स्याटेलाइट तस्बिरको विश्लेषणबाट फोर्दो परमाणु केन्द्रमा काम भइरहेको पत्ता लागेको हो । 

फोर्दो परमाणु केन्द्रलाई अमेरिकाले बी २ बंकर–ब्ल्स्टर बम आक्रमणको निशाना बनाएको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जुन २९ मा लिइएका स्याटेलाइट तस्बिरहरूमा अमेरिकी बंकर–बस्टिङ बमले आक्रमण गरेको क्षेत्रमा नयाँ बनेको बाटोबाट खन्ने उपकरण र क्रेनहरू गइरहेको देखिएको बीबीसीले जनाएको छ । पहाडको तल बुलडोजर र ट्रक पनि देखिएका छन् ।

निर्माणसँग सम्बन्धित मेसिनहरू प्रवेशद्वार र परिसरको पूर्वी भागको भवनमा पनि काम गरिरहेका देखिएको समाचारमा उल्लेख छ ।
 
प्रवेशद्वार र भवनको पूर्वी भाग अमेरिका र इजरायलको आक्रमणबाट क्षति पुगेको थियो ।
 
परमाणु हतियारविज्ञ डेभिड अल्ब्राइटले जुन २८ मा सोही साइटको तस्बिरहरूको विश्लेषण गरेका थिए । उनका अनुसार निर्माण कार्यमा खाल्डाहरू भर्ने काम हुनसक्ने समाचारमा उल्लेख छ । उनले क्षतिको मूल्यांकन वा रेडियोलोजिकल नमूना लिइरहेको हुनसक्ने बताएका छन् । 

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी आक्रमणपछि इरानको प्रमुख परमाणु केन्द्रहरू नष्ट गरिएको बताएका थिए ।

तर, अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीका महानिर्देशक राफेल ग्रोसीले शुक्रबार इरानले केही महिनामै युरेनियम परिक्षण पुनः सुरु गर्नसक्ने बताएका थिए ।

यसैबीच, म्याक्सारको ताजा स्याटेलाइट तस्बिरअनुसार इरानको फोर्दो परमाणु सुविधामा इरानी सरकारले युरेनियम परिक्षण गरिरहेको देखिएको छ ।

इजरायलले जुन १३ मा इरानमा परमाणु र सैन्य स्थलहरूलाई निशाना बनाउँदै आक्रमण सुरु गरेको थियो । आक्रमणमा इरानका सैन्य कमान्डरहरू र वैज्ञानिकहरूको हत्या भएको थियो ।
 
इरानले जवाफमा इजरायलमाथि आक्रमण गर्दा १२ दिनसम्म यो संघर्ष चलेको थियो । यस अवधिमा अमेरिकाले इरानका तीन परमाणु स्थलहरू फोर्दो, नटान्ज र इस्फहानमा बम खसालेको थियो । बीबीसी

प्रकाशित मिति: मंगलबार, असार १७, २०८२  ०७:३६
प्रतिक्रिया दिनुहोस्