site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
एउटा हास्य–कथा
Sarbottam CementSarbottam Cement

सीट थिएन, तैपनि कन्डक्टरले एउटा सीट बल्ल तल्ल बनाइदियो र दुवैतिरबाट मानिसहरूको चेपुवामा परेर बसे हाम्रा गुरुबाजे पनि ।

आठबजे चल्नुपर्ने बसको साढे आठ हुने बेलासम्म केही अत्तो पत्तो थिएन । ‘दखिन काली, दखिन काली !’ भन्दै कन्डक्टर मानिसहरूलाई कराउँदै बोलाइरहेको थियो । कोचाकोच गरेर बसिरहेका यात्रीहरू अचम्म मान्दै कुरा गर्थे, कति मान्छेलाई बोलाएर कहाँ गुन्द्रुक खाँदेझैँ खाँद्ने हो ।

दुई जना गाउँले जस्ता मान्छे फेरि बसमा चढे । कन्डक्टरले फेरि उनी बसेकै ठाउँमा एक जनालाई देखाइदियो । उ आएर हाम्रा गुरुबाजेको छेउमा घुस्न बल गर्‍यो ।

Prabhu Bank
Agni Group
NIC Asia

गुरुबाजेले आखिर आफ्नो साँगुरो ठाउँ पनि छाडेर उठ्ने विचार गरे र त्यो आउने व्यक्तिलाई नै बस्ने ठाउँ दिए । अब उनी समेत दुई जनालाई ठाउँ थिएन ।

कन्डक्टरले सारा कुना काप्चामा दृष्टि पुर्‍यायो । उनका साथमा आफ्नी श्रीमती र दुई जना बालकहरू पनि थिए जो सीटमा कुच्रिरहेका थिए बोकाको दाम्लो समातेर ।

Global Ime bank

तिनलाई देखेर कन्डक्टरले भन्यो, ‘तिनको पैसा लाग्छ । काखमा लिए लाग्दैन ।’

हाम्रा गुरुबाजे ती दुई बालकलाई आफ्नो काखमा लिएर आफ्नी श्रीमतीसित ढेस्सिएर बसे । उनीसितै आर्को उभिने व्यक्ति आएर बस्यो ।

उसले बोकेको कुखुराको नंग्राले उनको हात चिथरियो । कुखुराको क्याँ क्याँ, मानिसको छटपटीले कराएको स्वर सँगसँगै कुखुरा लिनेलाई उनले गाली गरेको स्वर पनि मिसियो ।

चुरोटको धूवाँ, असारको गर्मी, पसीनाले निथु्रक्क हुन लागे सबै जना ।

साढे आठबज्दा ड्राइभर देखा पर्यो र आफ्नो सीटमा गएर बस्यो । बस स्टार्ट गर्यो । थोत्रो बस धूवाँले सडक भर्दै दगुर्न लाग्यो ।

सडकमा अरूपछि आउने मोटर र ट्रक लरीहरूको बाटो छेक्तै आफ्नो मगनमस्तीमा बिस्तारै दगुरिरहेको बस पेट्रोल पम्पमा आएर पेट्रोल भर्न अडियो । त्यसपछि त्रिपुरेश्वर, टेकू, त्रिभुवन विश्वविद्यालय मार्ग, चोभार हुँदै हात्ती वन, फर्पिङ, सिपाटार हुँदै डेढ घण्टापछि दक्षिण कालीको माथि रत्न सोपान अगाडि रोकियो ।

हाम्रो गुरुपत्नी आफ्ना पोका पन्तरा झुण्ड्याउँदै गुरुबाजेलाई बोकाको दाम्लो समात्न दिएर बसबाट ओर्लिन् ।

गुरुबाजे सिंढीबाट ओर्लिंदै थिए जहानका सारमा लागेर । बाटोमा मानिसका भीडमाथि झन् भीड लागिरहेको थियो । शायद कसैको बगली मारिएको थियो ।

साँगुरो बाटोमा माग्ने, पसले आदिले गर्दा झन् हिँड्न साँगुरो बाटोबाट उनीहरू होसियारीसाथ सिंढी ओर्लँदै खोल्सामा स्थित दक्षिणकालीको स्थाननिर एउटा पौवामा पुगेर आफ्ना मालसमान राखे ।

यूरोपीयन, अमेरिकन आदि विदेशीहरू क्यामेरा आँखामा पुर्‍याउँदै उत्साह र रमाइलो मान्दै फोटोमाथि फोटो खिचिरहेका थिए । कोही पूजाआजा गरेको हेरिरहेका थिए ।

खोलाको खुलुलुलु आवाजमा कोही युवक–युवतीहरू प्रेमालाप गर्दै ढुंगाहरूमाथि चढ्दै पछाडि फर्कंदै जनसमूहतिर हेर्न लागेका थिए । खोलापारि पाटीमा एउटा ठूलो फोसीजस्तो भाँडोमा बोकाका गीँडहरू चोपल्दै रौँ खुइल्याइरहेका र अर्कोतिर मरेका बोकाका ताँती लाममा राखिएका थिए ।

हाम्रा गुरुबाजेले झटपट गरी खोलामा बोका लगेर पर्साएर कालीजीको थानमा लगे । बोका सेर्ने मान्छेलाई हारगुहार गरी बोका सेर्न लगाए । काट्नेले बोकाको गला राखेर टाउको र गोडमात्र उनलाई दियो ।

काटिएको बोकालाई बोकेर लुगाभरि रगत लगाउँदै खोलापारी पाटीमा खुइल्याउनका लागि लाममा राखे ।

घडीमा बाह्र बजिसकेको थियो । बोका खुइल्याउने पालो आउन अझै एक साढे एक बजे नभई नहुने अनुमान गर्न सकिन्थ्यो । हाम्री गुरुपत्नी पाटीमा खानेकुराको पोको कुरेर बसिरहेकी थिइन् ।

भोकले उनका बालकहरू पिलपिलाउँदो मुख लगाइराखेका थिए कहिले बोकाको भित्र्याँस पकाएर दही चिउरा खाने हो तिनलाई मेलोमेसो थिएन । गुरुबज्यै पतिदेवलाई भन्न लागिन्, ‘बस तीनबजे फर्किन्छ रे । चाँडै गर्नुपर्ने भनेको । चाँडो खानपीन गरेर बस भेट्न पुग्नुपर्ने, कहिले हो । चाँडो खुइल्याउन लाउनुस्न । तपाईं त असाद्धे जुम्से क्या ।’

गुरुबाजेले उनको वचनको प्रतिपालन गर्न नै लाममा राखेको बोको झिकेर ल्याए । किन पाँच रुपियाँ तिरी बोका खुइल्याउन लगाउने ? किन दुई दुई रुपियाँ तिरेर आन्द्रा भूँडी सफा गर्न लगाउने ?

पैसा तिर्दा पनि काम चाँडो नहुने देखेर गुरुबाजेले चार रुपियाँको दाउरा किनेर बनको एउटा कुनामा लगी आगो दन्काए र बोकालाई पोले । रौँ डढाएर एउटा छुरी पसलेसित मागेर ल्याए । आन्द्रा भुँडी सफा पारे । अनि एउटा पाटीको चिया च्यूरा पसलमा गएर भित्र्याँस पकाएर दही चिउरा सबै मिलेर खान लागे ।

त्यति गरुञ्जेल पौने तीन भैसकेको थियो । बसमा पुग्दा दक्षिणकालीको कृपाले बस गएको रहेनछ किनकि हाम्रा गुरुबाजेहरूभन्दा अझै पछि बस भेट्टाउन आउने यात्रीहरू धेरै बाँकी थिए । तिनीहरू पनि गुरुबाजेलाई परेको झैँ हस्याङ फस्याङ गर्दै थिए ।

बस फेरि पहिले झैँ खाँदाखाँद र कोचाकोच भएपछि त्यस गर्मीमा यात्रीहरू निसास्सिँदै पिल्सिँदै काठमाडौंतिर फर्के ।

भोलिपल्ट हाम्रा गुरुबाजेले यही घटनालाई लिएर बयान गरी गोरखापत्रमा– सम्पादकजीलाई चिट्ठी लेखेर छाप्न पठाए— जुन गोरखापत्रमा छापियो र सबैले पढे ।

हाम्रा गुरुबाजेको आफ्नो जीवनका व्यथा–कथाहरूको रिपोट गरिहाल्ने र यसप्रति आफ्नो प्रतिक्रिया जनाउने अनौठो किसिमको विनोदी आदत पनि थियो । गुरुबाजेले के कुरा जानेका थिएनन्, कुरा मात्रै होइन, काम पनि जान्दथे । जुनसुकै विषय होस्, त्यसमा क्यै न क्यै ज्ञान राख्थे ।

भनिहालौँ–अस्ति हाम्रो घरमा मेरो भाइ रीतेन्द्रको व्रतबन्ध थियो, उनैले हवन, जपपाठ, मन्त्र सुनाउनु आदि गरेका थिए । तर भगवान् जानून् उनले कति पास गरेका थिए, तर पास किन चाहियो हरेक कामकुरो गर्न पास भएपछि ।

उनको जुँगाले ओठ छोपेको हुन्थ्यो । हामीलाई बाटामा कहीँ भेट भयो कि काजी हो होटेल गुल्जार पारौँन त । जिन्दगी यस्तै न हो । धेरै दिनमा भेट भयो काजीहरूलाई भन्दै हामीलाई होटेलतिर मोडिहाल्थे ।

उनको बोली वचनमा मिठास भएर नहो ! हामी होटेलमा पस्तै भन्थ्यौँ– गुरुबाजे त चोखीनिती गर्नुहुन्छ । फुल अण्डा त चल्दैन होला ।

‘खाने मुखलाई जुँगाले कहाँ छेक्छ र’ भन्दै आफ्नो ओठमाथिको घोप्टे जुँगा औंलाले माथितिर धकेल्न थाल्दथे ।

‘गुरुबाजे ! तपाईं त हाम्रो घरमा आमाहरूले दिनुभएको बेला खानु हुन्नथ्यो । कुरै गर्नु हुन्नथ्यो जिब्रो टोक्नुहुन्थ्यो राम राम भन्दै –’ हाम्रो प्रश्न र आपत्तिमा उनको जवाफ हुन्थ्यो– ‘त्यहाँ त आफ्नो जातधर्म, मान इज्जत राख्नुपर्यो नि । मैले त्यसरी खान लागे कल्ले बिहे व्रतबन्धमा बोलाउला मलाई । काजीहरू भनेको प्रगतिशील विचार राख्ने युवावर्ग ।’

उनको पहिरनबाट कुनै मूल्याङ्कन गर्न सकिन्नथ्यो उनी कस्ता स्वभाव र चरित्र विचारका हुन् भनेर । कहिले फ्याङ्लो लुगा लाएका छन्, कहिले भोटो सुरुवाल नै लाएर शहरबजार पुगेका छन् । कहिले पैंट र कमीज, कपाल कोरेर नवयुवक बनेर पनि हिँडेको देख्ता राष्ट्रिय आदर्शमै अविश्वास पैदा हुन्थ्यो ।

तर उनी भने आन्तरिक हृदयमा पूरा नेपाली संस्कृतिले पूर्ण थिए ।

उनको जेठो छोरालाई उनले ‘शत्रु’ नाम राखेका थिए । शत्रुजित् हो पूरानाउँ, तर उनी बोलाउँथे ‘शत्रु ! शत्रु ! यहाँ आइज त बाबु !’ भनेर ।

थाहा नपाउनेका लागि बहुलट्टी सिवाय के लाग्थ्यो आफ्नो छोरालाई शत्रु भनेको देखेर । हामीले पनि उनको छोरालाई ‘शत्रुजित्’ नभनेर ‘शत्रुजी’ भन्न लागेको सुनेर हो कि ‘तपाईंहरूले अशुद्ध गर्नुभो काजी हो ! पूरा नाउँले बोलाउनुस्’ भनेर हामीलाई सम्झाएका थिए ।

छोराको नामकरणबारे कारण बताउँदै उनले भनेका थिए— यी शत्रुहरू नै हुन्, सोचेर हेर्नुस्, हामी बूढो हुँदै जाँदा छौँ यी तरूना हुँदा छन् । हाम्रो मृत्युपछि घिउभात खाने पनि यिनै हुन् । यसैले यी शत्रु हुन्, दुश्मनै हुन् ।

गुरू बाजेको कुरो कति हो कति मलाई क्रमबद्ध रूपमा बयान गर्न पनि आउँदैन । झूठो साँचो जे होस् उनको जीवन ईमानदारीपूर्ण थिएन भन्न शायदै कसैले सक्ला किनकि हामी उनको विचारदेखि एकएक परिचित थियौँ ।

उनी हाम्रो जीवनको एक अंश नै भएका थिए । हाम्रो घरमा चाड–पर्वमा उनी आएर सब प्रबन्ध मिलाउने गर्थे । कतै पिकनिक गए पनि हामी उनको मीठो घतलाग्दो कुरा सुन्नलाई नै सँगै लिएर जाने गर्थ्यौं । काम पनि गर्ने कुरो पनि गर्ने मान्छे उनी जस्तो हामीले अरूलाई देखेका थिएनौँ ।

हामीले उनलाई दर्के पानीमा बेपर्वाहसित लम्किरहेका देखेका छौँ भने पुर्पुरो सेक्ने घाममा विनाछाता हिँडेका पनि । उनलाई जहाँ पनि समयमै पुग्नुपर्थ्यो । जहाँ पुग्थे त्यहाँ उनको समय चेतनाको प्रशंसा भइहाल्थ्यो ।

यसैले त घामझरी, असिना, हुरी, तुसारो र पसीनाले उनलाई कहिल्यै बाधा दिन नसकेका ।

उनको पेशा विविध थियो । कुनै बेला पुरेत्याइँ, कुनै बेला मास्टरी, कुनै बेला पण्डित्याइँ, अर्थात् भागवत पुराण पनि अर्थ्याई अर्थ्याई सुनाउन सक्थे वेदीमा पलेटी कसेर रातो भोटो र झल्लरवाल टोपी लाएर ।

कहिले उनी मेलामा पुगेका हुन्थे– आफ्नी श्रीमतीलाई डालो बोकाएर, कसैको श्राद्ध गराउनु, गोदान गराउनु आदि गरी दिनभरिको कामले डालोभरि अक्षता र दान दक्षिणाका चीज र खल्तीभरि द्रव्य कोचेर घर फर्कन्थे ।

उनको व्यस्त जीवन हाम्रो दृष्टिमा कठोर भए पनि उनको लागि थिएन । उनलाई फुर्सत कहिल्यै थिएन जहिले पनि एक न एक कामले बाटोमा लम्किरहेका हामी भेट्थ्यौँ ।

‘कहाँ जानुहुन्छ गुरूबाजे दौडादौड गरेर ?’ भनी सोधिहाल्यौँ भने उनी हाँसेर रोकिन्थे र जवाफ दिन्थे– ‘के गर्नु काजी ! फलानो ठाउँमा जान अबेर भइहाल्यो ।’

उनको भित्री र मार्मिक जीवनका व्यथा कथाहरूलाई हामीले कहिल्यै प्रकाशमा ल्याएनौँ र तपाईंसित पनि अनुरोध छ– ‘एउटा हास्यकथा’ भनेर यसलाई नछापि दिनुहोला । डर लाग्छ कहीँ उनले आफ्नो हास्यकथा पत्रिकामा छापिएको नपढुन् ।

किनकि उनी यदाकदा सार्वजनिक पुस्तकालयमा पढ्न पसेको पनि हामीले देखेका छौँ । उनले आफ्नै जीवनलाई पढे भने कस्तो अनर्थ ? कसैको जीवनलाई गिज्याएर आनन्द ? उनको जीवन कहिल्यै हास्यपूर्ण होला र ?

(कोइरालाको कथाकृति ‘सुर्तीको पातमा झुण्डिएको जीवन’बाट ।)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  ०७:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय