site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
तत्काल पानी नपर्ने, गर्मी अझै बढ्ने
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । देशका धेरै क्षेत्रमा केही दिनयता तापक्रम बढ्दो क्रममा छ । गर्मीले कतिपय स्थानमा दैनिक जीवनयापनमा समेत समस्या हुन थालेको छ । तापक्रममा तत्काल गिरावट आउने सम्भावना पनि नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तराई क्षेत्रमा आउँदा केही दिन तापक्रम अहिलेकै जस्तो वा थोरै बढी हुन सक्ने पूर्वानुमान छ । “केही दिन गर्मी बढ्ने देखिन्छ । तत्काल तापक्रम घट्ने सम्भावना छैन,” महाशाखाका मौसमविद् रोजन लामिछानेले बाह्रखरीसित भने ।

पश्चिमको तुलनामा पूर्वी तराई क्षेत्रमा हिजोअस्ति तापक्रम केही कम थियो । अब पूर्वी तराईमा पनि तापक्रम उकालो लाग्ने सम्भावना रहेको उनले बताए । “हिजोअस्तिको तुलनामा पूर्वी मधेससहित पूर्वी तराईमा तापक्रम केही बढ्ने देखिन्छ,” उनले भने, “पश्चिमी तराई क्षेत्रमा त अहिले पनि तापक्रम बढी नै छ ।”

तल्लो पहाड र तराई–मधेस क्षेत्रमा गर्मी अझै बढ्ने सम्भावना रहेको उनले बताए । तर, तापक्रम अत्यधिक वृद्धि हुने स्थिति नदेखिएको उनले स्पष्ट पारे । “पश्चिमी क्षेत्रमा तापक्रम यथावत् वा अहिलेको भन्दा केही बढी हुनसक्छ,” उनले भने, “धेरै नै बढ्नेजस्तो देखिँदैन ।”

कुनै नयाँ मौसमी प्रणाली भित्रिएर तत्कालै वर्षा हुने सम्भावना समेत नरहेको उनले बताए । देशका अधिकांश स्थानमा आउँदा केही दिन वर्षाको सम्भावना नरहेको उनले जानकारी दिए ।

“वर्षा भइहाल्ने सम्भावना छैन । कुनै त्यस्तो प्रणाली देखिएको छैन,” उनले भने, “पूर्वी र पश्चिमी केही क्षेत्रमा हल्का, पातलो बादल लाग्ने देखिन्छ । तर, त्यसले खासै असर गर्ने देखिँदैन ।”

कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी भूभागका केही स्थानमा भने मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको उनले बताए । पश्चिमी र स्थानीय वायुको प्रभावका कारण त्यस्तो सम्भावना रहेको उनले जानकारी दिए ।

तापक्रममा उल्लेख्य गिरावट आउने सम्भावना पनि तत्काल नरहेको उनले बताए । “पानी पर्ने नदेखिएकाले तापक्रम खासै घट्ने देखिँदैन,” उनले भने, “यथावत् वा थोरै घटबढ हुनसक्छ । आज पनि तापक्रम बढ्ने नै पूर्वानुमान छ ।”

महाशाखाले यसअघि शुक्रबार (भोलि)सम्म तराई क्षेत्रमा तातो लहर हुने भन्दै सतर्कता आउन आग्रह गरेको थियो । आफूहरूले मौसमको निगरानी गरिरहेको र सोहीअनुसार जानकारी गराउँदै जाने मौसमविद् लामिछानेले बताए ।

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १४:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro