काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक १२.२९ अंक बढेर बन्द भएको छ । आइतबार नेप्से परिसूचक ०.६२ प्रतिशतले वृद्धि भएर १९८४.४३ विन्दुमा बन्द भएको हो ।
यस दिन दुई अर्ब २५ करोड ९९ लाख ५९ हजार ४५६ रुपैयाँको कारोबार भएको छ । यसदिन १७६ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने ६३ कम्पनीको सेयर मूल्य घटेको छ । सर्वाधिक सेयर मूल्य वृद्धि डोल्टी पावर कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको प्रतिकित्ता ९.८८ प्रतिशतले मूल्य बढेको छ ।
सबैभन्दा बढी मूल्यको सेयर खरिद–बिक्री गोर्खाज फाइनान्सको भएको छ । यो कम्पनीको १० करोड २१ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।
आइतबार कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये वाणिज्य बैंक र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ । बाँकी समूहको परिसूचक वृद्धि भएर बन्द भएको छ । परिसूचक सर्वाधिक वृद्धि हुनेमा उत्पादन तथा प्रशोधन समूह छ । यो समूहको परिसूचक १.९० प्रतिशतले वृद्धि भएको छ ।