site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
१० र २० प्रतिशत सहभुक्तानीको व्यवस्था किन गरियो ? कस्ता सेवामा तिनुपर्छ शुल्क ?

काठमाडौं । सरकारले सञ्चालन गर्दै आएको स्वास्थ्य बिमा कार्यक्रममा सहभुक्तानी प्रणाली लागु भइसकेको छ । सरकारी स्वास्थ्य संस्थामा गत माघदेखि नै लागु भएको १० प्रतिशत सहभुक्तानीको हिस्सा सरकारीबाहेकका स्वास्थ्य संस्थामा २०८० वैशाख १ गतेबाट बढेको छ ।

जसअनुसार सरकारीबाहेकका स्वास्थ्य संस्थाबाट बिमाको सुविधा थैलीभित्रका सेवा लिँदा सेवाग्राहीले लागेको खर्चको २० प्रतिशत शुल्क आफैँ तिनुपर्ने हुन्छ । सहभुक्तानीको यो व्यवस्थाले नागरिकलाई सेवा लिन कतिको प्रोत्साहन वा निरुत्साहित गर्ला भन्ने बहस यतिखेर सुरु भएको छ । 

कस्ता अस्पतालमा लागु भएको छ सहभुक्तानी प्रणाली ?
स्वास्थ्य बिमामा सहभुक्तानी (को–पेमेन्ट) प्रणाली लागु गर्ने कार्यविधि २०८० अनुसार अभ्यास सुरु गरिएको थियो । जसअनुसार विशेषज्ञ सेवा भएका आधारभूत अस्पतालहरू, संघीय र प्रदेश स्तरका शिक्षण अस्पतालहरू, मेडिकल कलेजहरू समेतमा सहभुक्तानी प्रणाली लागु भएको छ । 

Dabur Nepal
NIC Asia

कार्यविधिअनुसार २५ शैयामाथिका सबै अस्पतालमा सहभुक्तानीको दायरा १० प्रतिशत राखिएको थियो । तर, स्वास्थ्य बिमा बोर्डको गत फागुन २४ गते बसेको बैठकले कार्यविधि संशोधन गर्‍यो । कार्यविधि संशोधनपछि १५ शैयामाथिका सबै अस्पतालमा सहभुक्तानी प्रणाली लागु गरिएको छ । 

जसमा प्रादेशिक, संघीय र निजी तथा सामुदायिक अस्पतालहरू समेत पर्दछन् । यस्तै, सरकारीबाहेकका सेवा प्रदायक संस्थामा सहभुक्तानीको हिस्सा बढाउने पनि बोर्डले निर्णय गर्‍यो । जसअनुसार सरकारीमा १० प्रतिशत र सरकारीबाहेकका अस्पतालमा २० प्रतिशत भुक्तानी गर्नुपर्ने छ । यो व्यवस्था २०८१ वैशाखबाट लागु भइसकेको छ । “यस कार्यविधिमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएता पनि सरकारीबाहेकका अस्पतालहरूको हकमा २० प्रतिशत सहभुक्तानी लागु हुनेछ,” कार्यविधिको दफा ६ (क) मा लेखिएको छ । 

सरकारी अस्पतालहरूको सक्षमतामा विकास गर्न र बिरामीको सरकारी अस्पतालप्रति आकर्षण वृद्धि गर्न २० प्रतिशत सहभुक्तानीको व्यवस्था गरिएको बोर्डले जनाएको छ । यसरी लिइएको १० वा २० प्रतिशत शुल्कको भरपाई स्वास्थ्य संस्थाले अनिवार्य रूपमा बिमितलाई उपलब्ध गराउनुपर्ने कार्यविधिमा उल्लेख छ ।  

कस्ता सेवामा लागु हुन्छ सहभुक्तानी ? 
स्वास्थ्य बिमा कार्यक्रमभित्रका प्याकेजमा समेटिएकामध्ये कार्यविधिले निश्चित सेवालाई मात्रै सहभुक्तानीभित्र समेटेको छ । जसअन्तर्गत अस्पतालबाट प्रदान गरिने अन्तरंग, बहिरंग, निदानात्मक, उपचारात्मक, शल्यक्रिया, फिजियोथेरापी, र पुनस्र्थापना सेवामा बिरामीले लागेको खर्चको १० प्रतिशत व्यहोर्नुपर्नेछ । 

सरकारीबाहेकका स्वास्थ्य संस्थाबाट यी सेवा लिँदा भने सेवाग्राहीले २० (बीस) प्रतिशत शुल्क आफैँले तिनुपर्छ । 

यी सेवामा लागु हुँदैन सहभुक्तानी 
कार्यविधिले सहभुक्तानी लागु हुने र नहुने सेवाको वर्गीकरण गरेको छ । जसमा सेवाग्राहीले भुक्तानी गर्नु नपर्नेमा आकस्मिक स्वास्थ्य सेवा र सरकारद्वारा निःशुल्क प्रदान गर्न तोकिएका आधारभूत स्वास्थ्य सेवा र औषधि छन् । जसमा सुरक्षा कार्यक्रम, बाल रोगको एकीकृत व्यवस्थापन कार्यक्रम, क्षयरोग, कुष्ठरोग, औलो, कालाजार, हात्तीपाइलेको निदान तथा उपचार र सरकारले निःशुल्क गर्ने भनि तोकेका सरुवा रोगहरू छन् ।  

त्यस्तै, नेपाल सरकारद्वारा सञ्चालित खोप सेवा, परिवार नियोजन सेवा, सुरक्षित मातृत्वलगायत अन्य जनस्वास्थ्य सेवा अन्तर्गतका कार्यक्रमहरूको सेवामा पनि सहभुक्तानी प्रणाली लागु हुनेछ । 

महामारी रोगको नियन्त्रण, रोकथाम, निर्मूलन र उन्मुलनका निम्ति दिइने सेवाहरू, सामूहिक भवितव्य, दुर्घटना, महामारी, आपतकालीन सेवा, सर्पदंश, कुकुरको टोकाइको उपचारमा पनि सहभुक्तानी लागु हुनेछैन । योग, पोषण शिक्षा, बानीव्यहोरा सुधार, मनोसामाजिक परामर्शजस्ता प्रवद्र्धनात्मक सेवामा पनि यो प्रणाली लागु हुनेछैन । 

यी वर्गले गर्नु पर्दैन सहभुक्तानी 
कार्यविधिको दफा ७ मा सहभुक्तानी लागु नहुने लक्षित वर्गका बिमित तोकिएको छ ।  जसमा अतितरिबको परिचयप्राप्त परिवार, ७० वर्षमाथिका ज्येष्ठ नागरिक, रातो कार्ड पाएका अति अशक्त, अपांगता भएका नागरिक, कुष्ठरोगी, एचआइभी संक्रमित, जटिल खालका क्षयरोगीलाई राखिएको छ । त्यस्तै, महिला स्वास्थ्य स्वयम्सेविका र सरकारले समय समयमा तोकेका वर्गलाई पनि सहभुक्तानी लागु नहुने बोर्डले जनाएको छ । 

सरकारीबाहेकका स्वास्थ्य संस्थामा २० प्रतिशत सहभुक्तानीको व्यवस्था किन ? 
कतिपय सेवाग्राही र सरोकारवालाले निजी स्वास्थ्य संस्थामा सहभुक्तानीको हिस्सा बढाइएको भन्दै असन्तुष्टि पोखिरहेका छन् । तर, बिमा बोर्डले भने कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सहभुक्तानीको प्रावधान ल्याइएको दाबी गरेको छ । 

स्वास्थ्य बिमामा सहभुक्तानी नयाँ विषय नभएको र बिमा कार्यक्रम सफल भएका अन्य मुलुकहरूमा समेत यो अभ्यास प्रभावकारी भएको बोर्डका अध्यक्ष डा. गुणराज लोहनी बताउँछन् । 

बोर्डले सेवाग्राहीलाई निरुत्साहित गर्न खोजेको पक्कै होइन, बरु बिमाप्रति उत्तरदायी बनाउन खोजिएको उनको भनाइ छ । “सरकारीबाहेकका सेवा प्रदायकको हकमा निगरानीका निम्ति र अहिलेलाई बिमा कार्यक्रम धरासयी भइसकेकाले पनि सहभुक्तानी लागु गरिएको हो,” अध्यक्ष लोहनीले भने । कार्यक्रम टिकाउन सकेमा सेवाग्राहीलाई थप सुविधा दिने कुरामा कुनै कन्जुस्याइँ नहुने उनको दाबी छ । 

निजी अस्पताललाई समेट्ने तयारी 
सहभुक्तानीको व्यवस्थासँगै बोर्डले सरकारी अस्पतालहरूको सेवाको गुणस्तर बढाउने योजना लिएको छ । यस्तै, हाल सेवा प्रदायकको सूचीबाट हटाइएका निजी सेवा प्रदायकलाई पनि सूचीकृत गर्ने तयारी भएको डा. लोहनीले जानकारी दिए । 

आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्यमा सरकारी र सामुदायिक अस्पतालबाट मात्रै बिमा कार्यक्रम सञ्चालन गर्ने उल्लेख थियो । चालु आर्थिक वर्षको बजेटमा समेत स्वास्थ्य बिमा कार्यक्रम सरकारी सामुदायिक र सहकारी अस्पतालबाट सञ्चालन गर्ने उल्लेख छ । तर, बोर्डले निजी स्वास्थ्य संस्था र मेडिकल कलेजहरूलाई पनि कार्यक्रममा सूचीकृत गर्ने तयारी गरेको छ ।

“आवश्यकताअनुसार थप निजी स्वास्थ्य संस्थालाई सूचीकृत गरिनेछ, बजेटबाट निजी अस्पताल तथा मेडिकल कलेज हटाइए पनि तिनलाई पुनः सूचीकृत गर्ने अधिकार बोर्डलाई नै छ”, अध्यक्ष लोहनीले बाह्रखरीसित भने । बोर्डको पछिल्लो तथ्यांकअनुसार स्वास्थ्य बिमा कार्यक्रममा २६ प्रतिशत जनसंख्या र ३४ प्रतिशत परिवार आवद्ध भएका छन् । 

यस्तो छ कार्यविधि 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  ०७:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro