site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
मन्द मुस्कानमा आनन्दोत्सव ! 
Sarbottam CementSarbottam Cement

“अहो, कति चिसो स्याँठ !,” प्रतिभा सिउसिउ गर्दै कान छोप्न थालिन् । मैले पनि च्याप्प समाएँ आफ्नो क्याप । झन्डै उडाएको । उडाएको भए समुद्रमै पुग्थ्यो कि !

“आ...हा...हा...!,” सात वर्षीय नाति निभेद झन् रमाइरहेको थियो स्याँठसँग पौठाजोरी खेल्दै । ऊ अगाडि बढ्न खोज्थ्यो, स्याँठले धकेल्थ्यो पछाडि । यसैमा रमाइरहेको थियो ऊ । हामीलाई भने ऊ लड्ला भन्ने पीर ।

सामुद्रिक स्याँठ मापाको हुँदो रहेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

कार्निभल ब्रीज अर्थात् एउटा विशाल पानीजहाज (क्रुज)को बाह्रौँ तलाको छतमा विचरण गर्दै थियौँ हामी । जीवनमा पहिलोचोटि विशाल पानीजहाजमा सवार हुन पाएकोमा आनन्दोत्सव मनाइरहेका थियौँ, छोराबुहारी सौजन र सुमित्राका साथ ।

सगरमाथाको देश भएर पनि सागर छुन नसक्ने मेरो देशबाट धेरै टाढा आएर हामीले सागर भेटेका छौँ । सागरमा पानीजहाज चढ्न पाउनु संयोग मात्र थिएन, सदिच्छा र सद्भाव पनि थियो ।

Global Ime bank

पानीजहाज कल्पनामा सजाउने चिज हो हामी अधिकांश नेपालीका लागि । विशाल सागर चाहिन्छ पानीजहाज तैरिनका लागि, जो हामीसँग छैन ।

हामी भूपरिवेष्ठित देशका रैथाने । हामी बाँधिएका छौँ ठूला दुई देशका भूभागले । भूपरिवेष्ठित न पर्यौँ हामी ।

हो, हुन त सागर र महासागरबाट धेरै टाढा छैनौँ हामी । बंगालको खाडी नजिकै छ, केही किलोमिटर टाढा मात्र । हिन्द महासागरको एक छेउ हो, बंगालको खाडी । तेस्रो देशबाट झिकाइने सरसामान त्यतैबाट भित्रिन्छन् हामीकहाँ । त्यहाँसम्म पानीजहाजमा ल्याएर ट्रक र कन्टेनरमा ओसार्नुपर्छ हामीले । तैपनि, पहुँच पुग्दैन हामी सबैको ।

कोसी, गण्डकी, कर्णाली नदीहरू नै हुन् हाम्रा लागि सागर र महासागर । विश्वको उच्च शिखर सगरमाथाबाट प्रवाहित हिमनदीहरूले जेलिएको मेरो देश आफैँमा गौरवशाली छ । सागर नभएर के भो र !

मेरा देशका कोसी, गण्डकी, कर्णाली नदीहरूको स्वच्छता र विशालतालाई देख्दा नै मक्ख पर्छु म । दु्रतगतिको जलप्रवाह र फैलावटले नै मलाई जलयात्राको सपना देखाउँछ ।

ठूलाठूला नभए पनि जलयान चलोस् कोसी, गण्डकी, कर्णालीमा । स्टिमरहरू चल्ने सम्भावना प्रशस्त छ, तराईका मैदानी जलप्रवाहमा । कोसी र गण्डकीमा ससाना स्टिमरहरू कुदेको देखेकै हुँ कुनै बेला ।

अझै भित्री मधेससम्म पनि पुर्‍याउन सकिन्छ ससाना जलयानहरू । डुंगा त चलिरहेकै छन् पहाडी नदीनालामा पनि । तालतलैयामा त झन् हेलिने नै भए ।

पहिले पनि जलयात्राको सपना साकार पार्न हौसिन्थेँ म नदीनाला, तालतलैया चाहार्न । फेवाताल, रूपातालमा डुंगा चढेकै हुँ । भेरी नदीको भेलमा डुंगामा हेलिएको छु । गण्डकी र कर्णालीमा काठे फेरी चढेको स्मरण छ मलाई ।

हुन त पराई देशमा पुगेर पनि जलयात्राको अनुभव नगरेको हैन । मुम्बईमा स्टिमर चढ्दाको अनुभव छ मलाई । राजगढको अजन्ता गुफा अवलोकन गर्न जाँदा छोटो समयका लागि चढिएको थियो एकतले स्टिमर ।

दुईतीनतले स्टिमर चढेका हौँ प्रतिभा र मैले अमेरिकामै पनि । पैलोपल्ट अमेरिका भ्रमणको क्रममा स्वतन्त्रताकी देवीको प्रतिमा हेर्न जाँदा सौरभ, सौजन, अनिता र भाइ रामहरि (हाल दिवंगत)का साथ करिब एक घण्टा स्टिमरमा बिताएको मिर्मिरे सम्झना छ मलाई ।

सानाठूला स्टिमरहरू अस्ट्रेलियामा पनि चढ्यौँ धेरैपल्ट । सौरभ, अनिता र मुमलका साथ जलयात्रामा रमाएका पनि थिर्याँै हामी दम्पती । तर, चढ्न पाएका थिएनौ विशाल पानीजहाज कार्निभल ब्रीजजत्रो ।

विशाल पानीजहाजमा सवार हुनु बेग्लै अनुभूति हुँदो रहेछ । नामैले कार्निभल ब्रीज अर्थात् मन्द पवनमा आनन्दोत्सव जनाउने विशाल पानीजहाजमा सवार हुनु झनै आनन्ददायी हुने नै भयो ।

कार्निभल अर्थात् आनन्दोत्सव वा आमोदप्रमोद । ब्रीज अर्थात् मन्दमन्द हावा । यिनै दुई शब्दको संयंोजनले बनेको कार्निभल ब्रीज अर्थात् सामुद्रिक मन्दमन्द पवनमा मुस्कान छर्दै आनन्दोत्सव तथा आमोदप्रमोद मनाउनका लागि नै व्यवस्था गरिएको विशाल पानीजहाज – जो गाल्भेस्टन, टेक्सासदेखि कोजुमेल, मेक्सिकोसम्मको पाँचदिने यात्रामा अग्रसर थियो ।

हामीले पनि मन्द मुस्कानका साथ मन्द पवनसँगै आनन्दोत्सव मनाउन थाल्यौँ । हाम्रो उत्साह र उमंगमा सन् २०१२ मा निर्मित कार्निभल ब्रीज नै ढलपल ढलपल गर्दै नाचिरहेको थियो आफ्नै मतापमा ।

अहा, एउटा सिंगो संसार नै रहेछ पानीजहाज !

पानी नै पानीको साम्राज्यमा एउटा भीमकाय पानीजहाज सलल बगिरहेको थियो । सिंगो सहर बगिरहेझैँ लाग्थ्यो । गतिशील थियो, तर शान्त थियो पानीजहाज । मन्दमन्द सामुद्रिक छालहरूका माझ बगिरहेको थियो सलल ।

बगाइरहेका थिए कुशलतापूर्वक क्याप्टेन गस्पेर मार्जुला र उनका टिमले । १,३८६ जना त उनका सहयोगी हातहरू नै थिए, हँकाइदेखि खुवाइ र सफाइसम्मका सम्पूर्ण कामका लागि । व्यवस्थित थिए सबैसबै काम ।

हामी बे अफ मेक्सिकोमा हेलिइरहेका थियौँ, अर्थात् क्यारिबियन सागरको छेउछाउमा । महासागरमा त पुगेकै थिएनौँ, तैपनि सागरको विशालतामा अल्झिरहेका थियौँ । रन्थनिएका थियौँ । पानीजहाजको गतिशीलताले मक्खिरहेका थियौँ ।

पैँतिसचालिस माइल प्रतिघण्टाको रफ्तारमा अगि बढिरहेको थियो, करिब तीन हजार ७०० यात्रु बोकेर कार्निभल पानीजहाज । त्यसको आफ्नै ओजन पनि त कम थिएन, एक लाख ३० हजार जीटीभन्दा कम कहाँ थियो र ! तर, अलिअलि कम्पनबाहेक अरू अनुभव भएको थिएन हामीलाई, ससाना स्टिमरहरूमा रिङ्ग्याएझैँ ।

“ड्याडी, ममी, यहाँ निर्धक्कसँग घुम्नुहोस् । जता गए पनि हुन्छ, जे खाए पनि हुन्छ । भान्सा सधैँ खुला हुन्छ । रमाउनोस् । हामीलाई पर्खनु पर्दैन । जता गए पनि हराइन्न । मात्र सम्झना राख्नुहोस् कोठा नम्बर २३४५ र तला नम्बर २ । हामी कोठा नं. २२९३ मा छौँ, यसै तलामा,” सौजन र सुमित्राको बोली प्रिय थियो ।

उनीहरूकै सौजन्यबाट त हामी दम्पती विशाल पानीजहाजमा सवार थियौँ यति बेला । यसको टिकट लिन पनि अनेकन् तिकडम झेल्नुपर्दो रहेछ । भन्नासाथ वा चाहनासाथ कहाँ पाइँदो रहेछ र टिकट, पैसै भए पनि । छ महिनाअघि नै बुकिङ गरेका रहेछन् उनीहरूले ।

हामीलाई काठमाडौंबाट आउनेजाने हवाईजहाजको टिकट व्यवस्था गरेलगत्तै पानीजहाजको पनि टिकटको जोहो गरेका रहेछन् । बरा, कति हुटहुटी रहेछ त हामीलाई पानीजहाजको सयर गराउन !

हामी काठमाडौंबाट दोहा हुँदै टेक्सास भित्रिएका हौँ, २०८० सालको फागुन ५ गते । अर्थात्, १६ फेब्रुअरी २०२४ को बिहान । दोहामा छोटो कुराइपछि १७ घण्टा लामो पट्यारलाग्दो कतार एयरको उडानमा यसपटक रम्न सकिनँ म । उड्दा उड्दै रुघाखोकी र ज्वरोले आक्रान्त थिएँ, शिथिलशिथिल बनेको थिएँ म ।

तर, टेक्सासको जमिन चुम्दा र सौजनको न्यानो अँगालोमा झुम्दा शिथिलता कता फुमन्तर भयो भयो । स्फूर्तिको फूल फक्रक्क नै फुल्यो ! त्यसमा पनि डेनटनको घरमा भित्रिँदा नाति निभेद र पुत्रबधू सुमित्राको मुस्कानपूर्ण स्वागतले मगमगायो परिवेश ।

आहा, छोराबुहारीको आत्मीयता ! नातिको स्नेह । पिभु (छाउरी)को मायालु भुकाइमा एउटा जीवन्त परिवेश खडा थियो ।

केही दिनको विश्रामपछि नै मार्च ७ मा उनीहरूकै सौजन्यमा रुमल्लिँदै पानीजहाजको कोठाचोटा चाहारिरहेका थियौँ । एक हजार चार फिट लामो यस पानीजहाजमा लामो सुरुङजस्तो क्यारिडोरमा उनिएका थिए लामबद्ध कोठाका ढोकाहरू ।

पानीजहाजको दायाँबायाँ एकातिर जोर र अर्कोतिर बिजोर नम्बरका कोठाहरू थिए । दुवैतर्फका कोठाहरूबाट सागर छचल्किएको देख्न सकिन्थ्यो । हामीले बिजोर नम्बरका कोठाहरूमा बसेरै सागरका छालहरू चियाउन पायौँ । अझ विशाल सागर हेर्न माथि उक्लनुपर्थ्यो दशौँ तलाभन्दा माथि ।

तला उक्लिन–ओर्लिन भरेङ र लिफ्टहरू छँदै थिए चौडाइको बीचभागमा लम्बाइअनुसार अगाडि, माझमा र पछाडि गरी तीन कक्षमा । सबै कक्षमा छ÷छवटा लिफ्टहरू सञ्चालित थिए । हामी सजिलैसँग ओहोरदोहोर गरिरह्यौँ ।

अझ माझमा त अरू तीनवटा लिफ्टहरू ओहोरदोहोर गरिरहेका हुन्थे, जसबाट सोझै मनोरञ्जन कक्षहरूमा पुगिन्थ्यो ।

आफ्नो कोठाबाट लिफ्ट कक्षहरूमा पुग्न तीनवटा एक्जिट अर्थात् निकास थिए, जुन भरेङ वा लिफ्टहरूबाट उक्ले–ओर्ले पनि फरक पर्दैनथ्यो । पुगिन्थ्यो गन्तव्यमै ।

र त हामी कोठाचोटा चहारिरहेका थियौँ मज्जाले । दोस्रो तलादेखि दशौँ र एघारौँ तलासम्म निस्फिक्री तलमाथि गरिरहेका थियौँ । बाह्रौँ र तेह्रौँ तलामा पनि घुम्यौँ निस्फिक्री । ती तलाहरू क्रीडास्थल थिए सौखिनहरूका लागि ।

दशौँ तलामा खानाको व्यवस्था गरिएको छ । विभिन्न भान्छाहरू छन् । थरीथरीका परिकारहरू पाकिरहेका छन् । ठाउँठाउँमा खानाका परिकार सजाएर राखिएका छन् । जे मन लाग्यो त्यो झिक्यो खायो । थाल, कचौरा, काँटाचम्चा सब तम्तयार छन् । तातोचिसो पेयको पनि व्यवस्था छ । अल्कोहलका लागि भने अतिरिक्त मूल्य चुकाउनुपर्दो रहेछ ।

हामीले एकएक बोतल वाइन घरबाटै ल्याएका थियौँ, सौजनको सुझबुझ । त्योभन्दा बढी ल्याउन पनि दिइँदो रहेन छ । जहाजमा पस्दाखेरि साथमा ल्याइएको वाइन वा बियरको कडा चेकिङ गरेको देखेर सोधेँ मैले, “हैन सौजन, यसरी उल्टाइपल्टाइ गरेर प्रत्येक वाइन वा बियरको बोतल किन जाँचेका होलान् ?”

“ए त्यो ? कसैकसैले वाइनको बोतलमा ह्विस्की भरेर ल्याएका थिए रे ! ह्विस्की आदि रक्सी जहाजमा ल्याउन बन्देज छ नि ! त्यसैले कडा गरेका होलान् ।”

“अनि, ह्विस्की पारखीहरूले जहाजमा के पिउँछन् त ?”

“किनेर पिउँछन् नि ! किनेर खान त खुला छ । जति खाए पिए पनि भो ।”

“ए हो र !” म छक्क परेँ । व्यापरिक सुझबुझ कति पक्का ! यस पानीजहाजमा अरू खानेकुरा निःशुल्क छ । जति जे खाए पनि हुन्छ । प्रायः हामी पाँचैजना साथमै बसेर खान रुचाउँथ्र्यौँ । प्रतिभा र मलाई कुन भोज्य कुन अभोज्य थाहापत्तो पनि हुँदैनथ्यो ।

“भरसक रातो मासु नखानु होला । खाए पनि केही फरक पर्दैन ।” सौजनको भनाइ थियो । त्यसैले हामी सकभर रातो मासुबाट टाढै रहन्थ्यौँ । चिकेन, माछा, अन्डा, फलफूल, रोटी, भात आदिका परिकार हाम्रा छनोटमा पर्थे । निर्धक्कसँग खान्थ्यौँ । ब्रेकफास्ट, लन्च, खाजा र डिनर गरी चारपटकसम्म खान छुटाउँदैन थियौँ । मोटाइएला भन्ने पिरलो पनि थाती राखेझैँ थियो ।

एकदुईपटक त हामी रेस्टुराँमा गएर पनि खायौँ । तेस्रो तलामा भव्य रेस्टुराँ रहेछ । रेस्टुराँमा सिटमा बसेर अडर गरीगरी खान पाइने । नाचगान हेर्न र सुन्न पाइने । अल्कोहलबाहेक सबै निःशुल्क । वेटरहरूको चुरीफुरी बेग्लै । यहाँ रोजेकै खाना पाइए पनि कुरेत खानुपर्ने पिरलो ।

मद्यपानका सौखिनहरूलाई भने हाइसन्चो । जति बेला जे मगाए पनि भो । जति बेलासम्म बसे पनि भो चुस्की लिँदै । रोकटोक नाइँ !

माथि दशौँ तलाको भान्सामा आफूले रोजीरोजी खान पाइन्थ्यो, लामबद्ध हुनुपरे पनि । प्रायः मानिसहरू थालभरिभरि खानेकुरा ल्याउँथे र अलिकति चाखेर त्यसै छोडिदिन्थे । खाना खेर फालेकोमा प्रतिभालाई असह्य हुन्थ्यो र भन्थिन्, “नखाने भए किन थुप्रो ल्याउनुपरेको होला !”

खै, हामी के जानौँ ! खाईवरी हामी स्वीमिङ पुलतिर लाग्थ्यौँ ।

दशौँ तलाकै माझमा एउटा स्वीमिङ पुल छ । अर्को सानो स्वीमिङ पुल त्यसै तलाको पुछारमा पनि छ । पौडीका रसिकहरू पानीमा डुबिरहेका हुन्थे, पौडिरहेका हुन्थे । पानीमै चोपलिएर बसिरहेका हुन्थे । कोही घाम तापिरहेका हुन्थे अर्धनग्न अवस्थामै ।

पौडी खेलेपछि चिसो स्याँठको बीचमा घाम ताप्नु मज्जै हुँदो हो । कोही चुस्की लिइरहेका देखिन्थे । कोही झुमिरहेका देखिन्थे आफ्नै धुनमा ।

दिनदिनको कामको बोझ र थरीथरीका तनावबाट मुक्त हुन छुट्टी मनाउन निस्केका हुन्थे सायद । यात्रीहरू आफैँमा मगनमस्त देखिन्थे, कुनै पीर, सुर्ताविना । कुनै तनावरहित ।

कार्निभल ब्रीजको यो यात्रा पारिवारिक र मित्रताको संगम मानिन्छ क्या रे ! परिवार र मित्रहरूका साथ रमाउन कोही कम देखिन्न थिए । हामी पनि रमाइरहेका थियौँ ।

अधिकांश यात्रीहरू आआफ्नो परिवारका साथ हाँसिरहेका थिए, खाइरहेका थिए । खेलिरहेका थिए र रमाइरहेका देखिन्थे । चार रात पाँच दिन सबै तनावमुक्त बनेका देखिन्थे ।

जहाजका तीन, चार र पाँच तलाहरू मनोरञ्जन र व्यापारका लागि छुट्ट्याइएका थिए सायद । ती तलाहरूमा विभिन्न पसलहरू, थिएटर कक्ष, फिल्म हल, जुवाखाना (क्यासिनो), बिंगो हल, रेस्टुराँहरू थिए । हरेक कक्षमा मानिसहरूको उत्तिकै भीडभाड देखिन्थ्यो ।

कोही नाचगानमा झुमिरहेका थिए । कोही सिनेमामा त कोही थिएटरमा भुलेका थिए । कोही रसरङमा लट्ठिएका थिए । कोही बिंगो खेल्न रमाएका थिए त कोही क्यासिनोमा जुवामा तल्लीन थिए । रुचिअनुसार मानिसहरू आआफ्नै तालमा देखिन्थे ।

हामी पनि पुग्यौँ ती मनोरञ्जनात्मक स्थलहरूमा । घुम्यौँ, हेर्‍यौँ, रमायौँ ।

“जुवा खेल्ने हो ड्याडी ?,” क्यासिनोमा छिर्दा छिर्दै सौजनले सोध्यो ।

झलक्क सम्झेँ धेरै वर्षपहिलेको एउटा घटना । होटेल एभरेस्ट शेराटन, काठमाडौंमा एकपटक साथीहरूको लहैलहैमा क्यासिनोमा पसेको थिएँ । त्यति बेला नेपालीलाई क्यासिनोमा छिर्ने अनुमति थिएन । त्यहीँका स्टाफ (आफन्त)ले चाँजोपाँजो मिलाएका थिए ।

हामी क्यासिनोमा गएर जुवा खेल्न थाल्यौँ, मैले पनि खेलेँ । तर, मलाई कुनै रस लागेन, जित्दै गरेको भए पनि । टाउको रिंग्याउन थाल्यो । अनि, सरक्क पन्छिएर एक छेउको कुर्सीमा बसेर घोत्लिरहेँ । यसरी घोत्लिएर बस्नुभन्दा त खेल्दै नखेल्नु बेस ।

“अहँ, नखेल्ने । रमाइलो लाग्दैन,” मैले भनेँ । सायद सौजनलाई खेल्ने रहर थियो कि ! मैले भाँडिदिएँ कि कुन्नि ! मलाई लाग्छ, उसलाई पनि यस्तोमा कुनै रुचि नहुनुपर्ने हो ।

बालबालिकाको संसार बेग्लै देखियो । दशौँ तलाका दुई स्वीमिङ पुलहरूमा बालबालिकाहरू पनि उत्तिकै झुम्मिएका थिए । थुरथुर काम्दै पनि पौडी खेलिरहेका थिए । रहर हो । निभेदले पनि पौडी खेल्ने आफ्नो रहर पुर्‍यायो । मज्जा नै आउँछ होला पौडी खेल्न पनि । तर, आफू त डरछेरुवा । कहिल्यै पौडी खेल्न आँट गरेको भए पो !

बाह्रौँ तलामा बालक्रीडास्थल छ । खेलकुदका विभिन्न आयामहरूको व्यवस्था देखियो । बाल गल्फ, स्निकर, चेस आदि विभिन्न खेलकुदमा रमाइरहेका बालबालिकाको अनुहार उज्यालिएको देखिन्थ्यो ।

हाम्रा प्यारा नाति निभेदले पनि गल्फ खेल्न खुब रुचायो । खेल्यो मस्तले एक्लै । हामी उसको हेरविचारमा रह्यौँ । ठूलाठूला गहु्रंगा चेसका गोटी उचालेर हामी बाजेनातिले पनि केही बेर चेस खेल्यौँ । निभेद प्रफुल्ल देखियो ।

उसको मुस्कान मलाई मन पर्छ । बालबालिकाको हाँसो अर्थात् मुस्कानमा देवत्व अल्झेको हुन्छ । र त म देवत्व खोज्न सधैँ प्रयत्नशील रहने प्रयत्न गर्छु र बालकविता, बालकथा, बालनियात्रा आदि बालसाहित्यमा झुम्ने गर्छु र लेख्न तम्सिन्छु ।

चार रात तीन दिन पूरा पानीजहाजमा बिताएर ११ मार्चको बिहान गाल्भेस्टन, टेक्सासमा प्रफुल्ल बन्दै उत्रियौँ, जहाँबाट पाँच दिनअगि चढेका थियौँ उत्साहका साथ ।

गाल्भेस्टन सिटी ह्युस्टन, टेक्सासको एउटा रमणीय बन्दरगाह हो । त्यसलाई छोडेर हामी हुँइकियौँ डेनटनतर्फ, जहाँ हाम्रो बसोबास छ ।

फर्कंदा मेक्सिया भन्ने नगरलाई बाटो पारेर मित्र महेन्द्रका सुपुत्र आशीष चालिसेका दम्पतीलाई भेट्न पुग्यौँ । श्रीमती र नवजात शिशुका साथ आशीष आफ्नै व्यापारिक कार्यमा रमाइरहेको रहेछ । खुसी लाग्यो ।

संयोग हो, काठमाडौंबाट आएर न्युयोर्कमा छोरीको विवाह सकाएर यहाँ आइपुगेकी बैनी शशी चालिसे (आशीषकी फुपू)सँग पनि भेट हुँदा झन् रमायो मन ।

“आहा, मुस्ताङ !” मेरो मुखबाट फुत्त निस्कियो । फर्कंदा बाटोमा एक्जिट २२५, अंगुज मुस्ताङ लेखिएको मार्गसूचक पाटी देख्दा त झन् रमायो मन । आफ्नो देशको एउटा हिमाली जिल्ला नै अमेरिकामा भेट्दाको अनुभूति भयो । मुक्तिनाथ झलक्क सम्झेँ ।

“यहाँ मुस्ताङ भन्दैनन्, ड्याडी । अरू नै उच्चारण हुन्छ,” सौजनले कार हाँक्दाहाँक्दै भन्यो ।

जेसुकै उच्चारण गरून्, मलाई मुस्ताङ शब्दले नै आनन्दित तुल्यायो ।  

(लस लोमास, डेनटन/टेक्सास)

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१  ०८:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय