यस्तो पो हुनु, खोजेपछि भेटिनु । भेटेपछि नछुटिनु । सम्झनामा साथै रहनु । बिछोडमा पनि याद गर्नु । मित्रतामा घात नगर्नु । यादहरू सम्हालेर राख्नु । सम्हालेपछि बेलाबखत सम्झिनु । सम्झेपछि नबिर्सिनु । नबिर्सिएपछि मिठामिठा यादहरूमा भेटिनु । भेटिएपछि भलाकुसारी गर्नु ।
सोचिरहँदा मिठो याद आउनु । त्यही यादका पाना–पत्रपत्रहरूमा अनुभूतिका सुखद यात्रा हिँड्नु ।
आपसमा शंका नगर्नु । धेरै विश्वास गरेर धेरै भर पनि नपर्नु । कसैलाई माया पनि धेरै नगर्नु । आफैँले पनि धेरै माया नखोज्नु । गालीगलौजको भाषा र भाव प्रकट गर्दै नगर्नु । मित्रता, मिजास र मेलमिलापको हार्दिक सौहार्दपन कायम राख्नु ।
एक्लै एकान्तमा पनि सोचाइ सकारात्मक ल्याउनु । त्यही सोचाइले जीवनधाममा उत्सव आउनु । त्यही उत्सवले खुसीका नाचगान भित्रिनु । बिहानी प्रहरमा चराका गुञ्जनजस्तो बोलिरहनु । नबुझिए पनि मिठासले झर्को नलाग्नु ।
सपना भत्किँदैन त्यसले । गड्याङगुडुङले जस्तो मन र मुटु थरथर काप्दैन कदापि । यो नसोच्नु कि त्यसले भताभुंग गरिदियो शान्त मन । बर्बादै भयो भनेर कहिल्यै नठान्नु ।
खोजिरहँदा तत्काल त्यही चिज पाउनु । त्यही चिजमा जीवनको अमूल्य सरसामान हुनु । त्यही सामान पाएपछि सारा दुःख दूर हुनु । सुखका पहेलीहरूले अँगालोमा बेर्नु । अरूलाई पनि आफूमा समेट्नु । कसैलाई काखा र पाखा नगर्नु ।
गुरुजन, आफन्त, शुभचिन्तक सबैले दिएको आशीर्वचनहरू । शुभेच्छाका असंख्य पाका अनुभवहरू । यसो गर्नू, उसो नगर्नू । धेरै सिधा नहुनू । धेरै बांगो पनि नबन्नू भनेका तिता अर्तीउपदेशहरू । व्यवहारमा लगाउँदा त्यसबाट हुने लाभदायी प्रतिफलहरू । तर, सुन्दा सुन्दा झर्कोफर्को, वाक्कदिक्क भएका ती दिनहरू ।
कठै, सम्झिँदा आज झल्झली आँखामा ! त्यसैले यादहरू सम्हालेर राख्नुपर्ने रहेछ । यादहरू सँगालेर राख्नुपर्ने रहेछ ।
‘कुरा सुन्नु बुढाको, आगो ताप्नु मुढाको’ भन्ने उखान त्यत्तिकै कहाँ बनेको रहेछ र !
बरु, बौरिन्छन् सुस्त मनहरू । चंगा बन्छन् निदाइरहेका तनहरू । जाग्छन् चेतना तन्तु सारा । भाग्छन् आलस्यका तगारा । खुल्छन् झ्यालहरू । उघ्रन्छन् जस्केला र दैलाहरू समेत ।
अनि, बिउँझिन्छन् सिर्जनात्मक कर्म, धर्मका जाज्वल्यमान दिनहरू । तिनै दिनहरूमा फुल्छन्, फल्छन् सत्कर्मका बाली र बेर्नाहरू । सजिन्छन्, सुहाउँछन् सौन्दर्यका जवानी–जीवनहरू । आकाशजस्तो फराकिलो सोचाइको व्याप्तिमा भेटिन्छन् प्राप्तिका पलहरू । साँघुरिँदा किचिँदै, थिचिँदै, मिचिँदै आफ्नै अस्तित्व जोगाउन धौधौ हुन्छ ।
पुगेर नसकिने कैयौँ जंघार, घोचा र घारा, अवरोधका तगारा । तिनैलाई उछिन्दै पुग्नु गन्तव्य आहा ! जहाँ भेटिन्छ शान्त, सुन्दर पृथक् संसार । त्यही संसारमा मायाको मिठो आभास महसुस गर्न पाउनु । समयको न्यानो सुवासले सुगन्धित भइरहनु ।
सम्बन्धको आत्मीय अनुराग भेट्नु । हरेक पल आरामदायी, आनन्दको उच्छ्वासमा रमाउनु ।
जीवनको घाम रहेसम्मै हो छाया । छायाले पछ्याउने पनि उज्यालो छउन्ज्यालसम्म हो । अँध्यारो भएपछि त छायाले पनि साथ छोडिहाल्दो रहेछ ।
बुझ्नुपर्ने कुरा दुःखलाई साथ नलिई सुख पाइन्न । हजारौँ कष्ट, खोट र चोटका प्रहारपछि थोरै सुख बल्ल मिल्छ । त्यही थोरै सुख नै खुसीको अपार तृप्ति हुन्छ । त्यसमै अहोभाग्य ठानेर सन्तोष मान्नुपर्ने रहेछ ।
कहाँ छैन गारो, सर्वत्र छ कठिन । मनले चिताए केही हुन्न रहेछ काम । पहिले काम आफ्नो, पछि त्यही काम अरूको । कुनै काम कहिल्यै हुन्न रहेछ अर्को । सबै काम आफ्नै, आफ्नो लागि गर्ने । त्यही काम पछि सबैलाई हुने । भलो गर्दा आफूले कुभलो हुँदैन ।
काम गर्दागर्दा साथ छोड्नु हुन्न । घात नगरी कसैलाई सर्वहित ठानी जीवनले पुर्याउँछ गन्तव्यमा एक दिन ।
गन्तव्यपछि अरू गन्तव्य हुन्छन् धेरै । आजको गन्तव्य विश्रामसँगै बिसाइ । सुरु हुन्छ फेरि अर्को दिनको गन्तव्य नयाँ ठाउँको पहिचान खोज्दै । सकिँदैन गन्तव्य पुगेर कहिल्यै । दिनदिनै नयाँ र नौलो गन्तव्यमा रमाउँदै ।
भेट्नु छ सदा नवजीवनको उल्लासमय उन्नतिको सौगात । रोक्नु हुन्न गन्तव्य अब पुगियो भनेर । सकिँदैन जीवन छउन्ज्याल गन्तव्यमा पुगेर ।
आजको गन्तव्य आजै सकिन्छ । भोलिको गन्तव्य फेरि भोलि नै सुरु हुन्छ । यही गन्तव्यले नै हो जिज्ञासा बढाउने । यात्रामा हिँडाउने । खोजीमा सामेल गराउने । उपलब्धिको उपहार दिलाउने । जीवनलाई जीवन्त बनाउन सिकाउने ।
फेरि याद आउँछ, उही उपदेशको । बुझिलिँदा बौद्धिक पनि त्यत्तिकै बहुउपयोगी समेत उत्तिकै उपलब्धिमूलक ।
एउटै बाटोमा हिँड्नु । अनेक बाटोमा नलाग्नु । एउटै गन्तव्य रोज्नु । रोजेको गन्तव्यमा पुगेरै छाड्नु । एउटै यात्रामा हिँड्नु । हिँडेपछि पुगिनु । पुगेपछि देखिनु । देखेपछि आनन्दित हुनु । हेरेपछि देखिनु । देखेपछि केही नयाँ भावना लेखिनु । लेखेपछि नमेटिनु । नमेटिएपछि नबिर्सनु । बोलेपछि बात मार्नु । हाँसेपछि मुस्कान बाँड्नु । देखेपछि हेरिदिनु । नदेखेजस्तो नगर्नु ।
हिजो र आज जिन्दगी ! के हुँदै छ, कस्तो छ ? परीक्षण पनि गर्दै गर्नु । नीति, नियम र अनुशासनको परिधिमा रहनु । फुक्का फकिर जीवन नबिताउनु । यद्यपि, घुम्नु घुम्न सकेजति घुम्नु । हिँड्न सकेजति हिँड्नु । पुग्न चाहेजति पुग्न नछोड्नु ।
अरूलाई दोष नलगाउनु । आफूलाई नै सर्वेसर्वा पनि नठान्नु । स्वार्थ नराख्नु । मपाइँत्व पनि नगर्नु । गल्ती नगर्नु । समस्या नउब्जाउनु । बरु, आफैँले समाधानको उपाय खोज्नु ।
भड्खालोमा जाकिने बाटो नरोज्नु । अरूलाई दोषी देखाएर आफू मात्र चोखिने र उम्किने उपाय पनि नखोज्नु । अनुचित, अनधिकृत, अप्रिय र आफैँलाई अप्ठ्यारो पार्ने काम नगर्नु । यस्तो गर्न कसैलाई प्रेरित पनि नगराउनु । बरु, प्रेरणा दिनु, प्रोत्साहन गर्न प्रस्तुत हुनु । प्रशस्त प्रशंसायोग्य प्रेमपूर्ण काम गर्नु । अरूको मन कि दुखाउनु ? किन मन खिन्न पार्नु ?
सूक्ष्म मन झन् किन छिन्नभिन्न पार्नु ? सकेसम्म मन मिलाउनु, जोड्नु, जुटाउनु । सानो र साँघुरो चित्त किन बनाइराख्नु ? बरु, फैलाउनु, विशालकाय बनाउनु । मनका खराबी कीटाणु मार्नु सदाका लागि मास्नु । त्यहाँ फलाउनु सुगन्ध र सौन्दर्यमय तुलफूल ।
घोच्ने, पोल्ने बिरुवा किन लगाउनु ? अन्न–ऐश्वर्य उमार्नु । ऐँजेरु मास्नु, लहलह बाली, वृक्ष बढाउनु । मनको कुनाकानीका जालझेल फाल्नु । बिझाउने, अल्झाउने माकुराका जाला सबै हटाउनु ।
सधैँसधैँ फक्रिरहनु । जीवनभरि फुलिरहनु । आफ्नै काममा भुलिरहनु । आफ्नै काममा झुलिरहनु । आफ्नै काममा रमाइरहनु । चुपचाप नबस्नु । यताउता घुमिरहनु । उतायता डुलिरहनु । चारैतिर हेरिरहनु । सबैसँग हाँसिरहनु ।
किन कोहीसँग रिसाउनु, खुसाउनु र रोइरहनु ? सबैसँग मिल्नु । मिलेर, हाँसेर बाँच्नु पो बाँच्नु । पछिसम्म आफ्नो काम आफैँले सम्झिरहनु । आज नसम्झे के हुन्छ र ? आफूले सन्तोष मान्न सक्ने राम्रो काम गर्नु ।
मन हुँदा के नहुँदो रहेछ र ! समय निकाल्न खोज्दा निक्लिँदो रहेछ । जसरी कि हिँड्न सकिँदा पुगिँदो रहेछ । सुध्रिन चाहँदा, सुधार्न खोज्दा हुँदो रहेछ । बनाउने चाहना हुँदा बनाउन सकिँदो रहेछ । नगरे पो केही नहुने । अल्छीआलस्य स्वभाव मात्र प्रोत्साहित हुने ।
चाहना नराख्दा पो केही नहुने रहेछ । राम्रो चाहना र चिन्तनले फलिफाप नै गराउने रहेछ । सोचाइमा सकारात्मकपन हुँदा सत्कर्म सुनिश्चित रहेछ ।
ठेस लागे ढुंगा हटाउनु । अवरोध पन्छाउनु । कहिल्यै कसैलाई सत्तोसराप नगर्नु । नहत्तारिनु, नआत्तिनु । धैर्यले काम गर्नु । संयमले काम गर्नु । विवेकलाई व्यवहारमा ल्याउनु । बौद्धिकताको प्रयोग गर्नु । बकबक धेरै नगर्नु । बेइमानी नहुनु ।
झल्याँस्स सम्झिँदा झुलुक्क आइदिनु । हिँडेर गोडा थाकेर फतक्क हुँदा बस्ने चौतारी भइदिनु । लेखेर अक्षरमा अनुभूति पोख्दा सर्लक्क भावना जीवन्त पोखिनु ।
बिर्सिरहनु पनि कति कुरा कहिलेसम्म र ! सम्झिरहनु पनि कतिन्जेल र ! परन्तु, यही सम्झनु र बिर्सनुकै दोसाँधमा रहेछ जिन्दगी ।
क्रमशः काममै गलिरहनु । कामैमा थाकिरहनु । दिनहरू कामकै मेलोमेसोमा बितिरहनु । जिन्दगी यसरी नै बितिरहनु ।
हेरेपछि हेरिरहनु । बोलेपछि बोलिरहनु । तर, सीमासम्म बोल्नु । रमेपछि रमाइरहनु । आफ्नै संसारमा हराइरहनु । आफ्नै काममा टोलाइरहनु । सबैलाई हँसाइरहनु । कसैलाई रुवाउने, सताउने काम नगर्नु । कसैलाई नलखेट्नु । कसैसँग नरिसाउनु । जिन्दगी यसरी नै बिताइदिनु ।
छलछाममा आफैँ परेको पत्तै नपाउने नहुनु । झुक्किनु पनि कतिसम्म आफ्नैले आफैँलाई झुक्याउन सक्छन् चनाखो हुनु ।
यति भएपछि सहयोग गर्नेलाई नबिर्सिनु । निष्ठुरी बनेर एक्लै अर्कै संसारमा नरमाउनु । यादहरूमा जीवनका सुन्दर पलहरूको सम्झना गर्दै गर्नु । यादहरू सधैँ सम्हालेर राख्नु !