site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
क्रिकेट टिमको जर्सीको झन्डामाथि किन उठाइयो प्रश्न ?
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार ट्वान्टी–२० विश्वकप–२०२४ का निम्ति राष्ट्रिय टिमको जर्सी सार्वजनिक गरेपश्चात् सामाजिक सञ्जालमा यसबारे विभिन्न टीकाटिप्पणी गरिँदै छ ।

सार्वजनिकलगत्तै नेपाली क्रिकेटका केही समर्थकले जर्सी अपेक्षाकृत नभएको भन्दै आलोचना गरेका थिए । यसैमध्ये केहीले सो जर्सीको काँधमा रहेको नेपालको राष्ट्रिय झन्डा पनि झुकेको भन्दै क्यान र उत्पादकको आलोचना गरिरहेका छन् ।

नेपाली टिमको जर्सी बनाउन क्यानले चर्चित स्पेनिस खेलकुद सामग्री उत्पादक केल्मीसँग सम्झौता गरेको छ । विश्वकपका लागि सार्वजनिक नेपालको जर्सीको तल्लो भागमा गैँडा र सगरमाथा छन् । मध्य भागमा पहेँलो रङमा नेपाल लेखिएको छ । बायाँ भागमा क्यानको लोगोसँगै नेपालको झन्डा र दायाँतर्फ ट्वान्टी–२० विश्वकपको लोगो राखिएको छ । दायाँ भागको बाहुलामा जर्सी उत्पादक केल्मीको लोगो छ ।

त्यसो त क्यानले सार्वजनिक गरेको जर्सीमा ट्वान्टी–२० विश्वकपको लोगो नै राखिएको थिएन । दायाँ भागमा जर्सी उत्पादक केल्मीको लोगो राखिएको थियो । तर, पछि सामाजिक सञ्जालमा जर्सीको डिजिटल प्रतिमामा भने दायाँ भागमा विश्वकपको लोगो राखियो ।

j2-1712654205.jpg
केल्मीले जर्सीका दुवैतर्फको काँधमा नेपालको झन्डा राखेको छ । नेपाली क्रिकेट समर्थकले प्रश्न उठाएको पनि यही काँधमा रहेको झन्डामा हो ।

जर्सी सार्वजनिक क्रममा केल्मी नेपालका कार्यकारी निर्देशक उत्तम न्यौपानेले काँधमा राष्ट्रको जिम्मेवारी छ भन्ने देखाउन नेपालको झन्डा राखेको बताएका थिए ।

“रातो र निलो रङ राष्ट्रिय झन्डाको प्रतिनिधित्वका लागि राखिएको छ । अन्तर्राष्ट्रिय मान्यतामा पनि बहादुर टिमले पहेँलो रङ राखेको इतिहास देख्यौँ,” उनले भने, “त्यही भएर हामीले नेपालको जर्सीमा नेपाल र खेलाडीको नाम पहेँलो रङमा राख्यौँ । हाम्रो काँधमा राष्ट्रको झन्डालाई हामीले प्रतिनिधित्व गरिरहेका छौँ, काँधमा जिम्मेवारी छ भन्ने देखाउँछ ।”

झन्डा झुकाइएको विषयमा भने न्यौपानेले पुरानो जर्सीजसरी नै नयाँमा पनि काँधमा झन्डा राखिएको स्पष्टीकरण दिए । “हामीले क्यानबाट आएको डिजाइनअनुरूप नै जर्सी बनाएका हौँ । झन्डा झुकेको भन्ने कुराहरू आएको छ, तर त्यस्तो केही होइन । देशको जिम्मेवारी छ भन्ने देखाउन काँधमा झन्डा राखिएको हो,” न्यौपानेले बाह्रखरीसँग भने, “हामीले पुरानो जर्सीमा पनि काँधमा झन्डा राखेका थियौँ । पुरानोमा केही कुरा आएन, तर अहिले नयाँमा किन यो कुरा आयो थाहा छैन । देशको झन्डालाई झुकाउने हाम्रो मनसाय होइन । खेलाडीले लगाउँदा काँधमा झन्डा झुकेको जस्तो पनि देखिँदैन ।”

j3-1712654232.jpg
यसबारे क्यानले भने कुनै प्रतिक्रिया जनाएको छैन ।

नेपालले यो जर्सी वेस्ट इन्डिज ‘ए’ टिमको नेपाल भ्रमणका क्रममा लगाउनेछ । क्यानले जर्सी सार्वजनिक गरेलगत्तै वेस्ट इन्डिजले पाँच खेलको ट्वान्टी–२० शृंखलाका निम्ति नेपाल भ्रमणको घोषणा गरेको थियो ।

१० वर्षपछि विश्वकप खेल्न लागेको नेपाल योपटक समूह ‘डी’मा छ । यो समूहमा नेपालसँगै बंगलादेश, श्रीलंका, दक्षिण अफ्रिका र नेदरल्यान्ड्स छन् । नेपालले यसअघि सन् २०१४ मा पहिलोपटक ट्वान्टी–२० विश्वकप खेलेको थियो । बंगलादेशमा भएको विश्वकपको उक्त संस्करणमा नेपालले समूह चरणका तीनमध्ये दुई खेलमा जित निकालेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १५:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro