हामी सानो हुँदा नवरात्रीमा विराटनगरको विराटेश्वर काली मन्दिरमा आफ्ना अभिभावकहरूसँग बिहानै सहकालै दर्शन गर्न जाने गरेका थियौं । मन्दिरको आसपास मेला लाग्ने गरेकामा, सडक किनारमा माडवाडी व्यापारी परिवारका स–साना नानीहरूले खेल्ने सामाग्रीहरू बेच्न स–साना पसल राख्ने गरेको देखिन्थ्यो ।
दर्शनार्थी आमा–बाबुसँग जाने बच्चाहरूले खेल्ने चिज खरिद गर्न जोड गर्दथे र किन्ने पनि गर्दथे । यसरी व्यापार गर्ने ती व्यापारी परिवारहरूले आफ्ना सन्तानहरूलाई बाल्यकालदेखि नै व्यापारको अभ्यास गराएको देखिएको थियो ।
भारतका प्रख्यात व्यापारी मुकेश अम्वानी जो यतिखेर विश्वको ३६औँ धनी व्यक्ति हुन् । उनको पिता धिरुभाई अम्बानी सामान्य व्यक्ति थिए, जसले दुःख गरेर सानो–तिनो व्यापारबाट सुरू गरी ठूलो हैसियत बनाउन सफल भएका हुन् ।
तिनको परिवार सदैव अनुशासनमा रह्यो, अब तेश्रो पिँढीले पनि व्यापारिक कामकाजका सफलतापूर्वक सञ्चालन गरेको देखिन्छ । मुकेश अम्वानीका श्रीमती निता अम्बानीले बेलाबखतमा दिएको अन्तर्वार्तामा भनेकी छन् कि कसरी उनले उनको सन्तानलाई दिउँसो स्कूलमा खाजा खानमात्र जम्मा पाँच रुपैयाँ दिने गरेकी थिइन् ।
इङ्गल्याण्डकी स्वर्गीय महारानी एलिजाबेथका सन्तान प्रायः सैनिक सेवामा थिए वा कायम छन् । वर्तमान राजा चार्सका छोराहरू युवराज विलियम र युवराज ह्यारी सेनामा भर्ती भएका हुन् ।
ह्यारी त अफगानिस्तानको युद्धमा पनि सामेल भएका थिए । नेपालको इतिहास हेर्ने हो भने राणाले गरेको एक सय चार वर्षसम्मको शासनकालमा तिनको सन्तानले गर्भमा हँुदा सम्पत्ति र पद पाउने गरेका थिए ।
यसरी दरबारियाका सन्तानहरूले काम गरे पनि नगरे पनि जङ्गी पद र बेतन स्वतः पाउने गरेका हुन् ।
त्यसबखत जनतालाई गरिने चरम आर्थिक शोषणबाट आफ्ना सन्तान दर सन्तानलाई धन र पद बाँड्ने काम हुँदै आएको थियो ।
संसारमा ठूलो परिवर्तन आएको छ । अघि–अघिका राजघराना परिवारका सन्तानहरूले आममानिस सरह युरोप, अमेरिका र केही अफ्रिकी महादेशहरूमा आजभोलि पढ्न लेख्न, व्यापार रोजगार गर्न र परिश्रम गरी आफ्नै बलबुतामा खडा हुने गरेको पाइएको छ ।
त्यही छिमेकी मुलुक भारतका पहिलेका राजा–रजौटाको परिवारहरूले पनि जीवन संघर्ष गरेरै चलाएको देखिएको छ । त्यस्तै आज–भोलि राजनीतिमा सामेल हुने वर्गहरूमा पनि वंशवादको आडमा लाभ लिने गरेको उदाहरण ज्यादै न्युन छ ।
तेस्रो विश्वका केही मुलुकहरूमा भने गरिब अनि पिछडिएका देशहरूमा पिता–माता राष्ट्रपति, प्रधानमन्त्री वा मन्त्री भए तिनको शेषपछि पत्नी छोरा–छोरीहरू पनि राजनीतिमा कायम रही पदीय हैसियत आर्जन गरेका प्रशस्त उदाहरणहरू छन् ।
भारतको नेहरू परिवार, श्रीलंकाको बन्दरनाइके परिवार, पाकिस्तानको भुट्टो परिवार, इण्डोनेसियाको सुकार्नो परिवार, फिलिपिन्समा मार्काेश परिवार, बंङ्गलादेशको मुजिबुर रहमान परिवार, नेपालमा कोइराला परिवार, एसियाली मुलुकहरूमा थुप्रै त्यस्ता छ्याप छ्याप्ती उदाहरणहरू छन् ।
पश्चिमी र अफ्रिकी मुलुकका राजनीतिज्ञहरूको सन्तान दरसन्तानहरूमा भने यस्तो पदीय प्रलोभनको रुझान देखिँदैन । राजाको छोरा राजा भएर गद्दीमा आसिन हुनु भनेको स्वभाविक हो । त्यो आदी–अनादि कालदेखि चली आएको परम्परा हो ।
बेलायती इतिहासमा सन् १७५६ देखि १७६८ सम्म पटक–पटक विलियम पिट एल्डर, त्यसपछि उनको छोरा जुनिय पिट योङ्गर १८०४ देखि १८०६ सम्म त्यसबखतका चान्सलर अर्थात् प्रधानमन्त्री एकै परिवारका बाबु छोरा भएको एक मात्र उदाहरण पाइएको छ ।
अमेरिकामा दोश्रो राष्ट्रपति जोन आदम (१७९७ देखि १८०१) जसले एक कर्यकाल शासन गरेका थिए, उनका छोरा जन क्विन्सी आदमले छैठौ राष्ट्रपति (१९८९देखि १९९३) को रुपमा शासन गरेको देखिएको छ ।
त्यसरी नै दोस्रोपटक जर्ज डब्लु एच बुस जनवरी २० सन् १९८९ देखि २० जनवरी सन् १९९३ सम्म एकचालिसौँ राष्ट्रपति बनेका थिए । उनका छोरा जर्ज डब्लु बुस पनि २० जनवरी सन २००१ देखि २० जनवरी २००९ सम्म त्रिचालिसौँ राष्ट्रपति बन्न सफल भएका हुन् ।
अमेरिकामा हालसम्मका कूल ४६ राष्ट्रपतिको संख्यामध्येमा एउटा परिवारका बाबु–छोरा राष्ट्रपति भएका यो मात्र दुई उदाहरण मात्र छन् । अफ्रिकामा नेल्सन मण्डेलाले अफ्रिकी जनताको स्वतन्त्रताका निम्ति जीवनभरि संघर्ष गरेका थिए र निरन्तर २७ वर्षसम्म कठोर जेल जीवन बिताएका हुन् ।
उनका परिवारले अफ्रिकाको राजनीतिक शासन शक्तिको हालीमुहाली गरी दुरुपयोग गर्ने प्रयास गरेको देखिएन । नेपालमा २०६३ सालसम्म राजपरिवारको वंशवाद चलेका थियो । लोकतान्त्रिक आन्दोलनपछि वंशवाद समाप्त भएको छ । यो परिवार जहिलेसम्म शक्तिमा थियो, त्यतिखेरसम्म परम्परागत रुपमा नै चलेको हो ।
२०४६ सालको जनआन्दोलनले प्रजातन्त्र पुनस्र्थापना गरेपछि राजनीतिज्ञहरूको सक्रिय राजनीति शुरु भएको देखिन्छ । क्रमशः तेश्रो विश्वमा रहेको गरिब मुलुक नेपालमा पनि प्रजातन्त्रको स्थापनापछि परिवारवादको सुरुवात भएको हो । किनकि त्यो समयदेखि आजसम्म राजनीतिमा, सत्तामा, उच्च पदहरूमा राजनीतिज्ञका परिवारहरू र तिनको नातागोता नै हाबी भएको प्रष्ट देखिएको छ ।
नेपालको राजनीतिमा नातावाद, कृपावाद यति धेरै निरलज्जसँग गरिन्छ कि कुनै पनि उच्च पदमा नियुक्ति निम्ति पहिलो प्राथमिकता र योग्यता हो सासु, ससुरा, पत्नी बहिनी, छोरा–छोरी, बुहारी, भाइ–भतिजा, ज्वार्इँ, सम्धीलगायत हुनुपर्छ । यी नभए दलभित्रको मिलुवा तर भ्रष्ट कार्यकर्ता, चाकरीबाज, त्यसमा पनि बल भएको बुद्धि नभएको हुनुपर्छ ।
फेरि यतिखेर त मुलुकमा कस्तोसम्म दृष्य देखिएको छ भने नब्वे प्रतिशत दलीय नेताका पुत्रहरू सुन तस्कर, मानव तस्कर, कमिसन एजेन्ट, भू–माफिया, जलमाफिया, वनतस्कर, कालो बजारियासहित भएजतिका अपराधहरूको नाइके देखापरे ।
यी अपराध सञ्चालनका निम्ति शिक्षाको डिग्री चाहिँदैन । अनि क्रान्तिकारी हुन गाऊँ–घरमा एक मानो चामलको भात खान पुग्नेहरूलाई शोषक सामान्ती भन्दै खम्बामा बाँधेर घोचीघोची मार्ने वा ज्युदै खाल्टोमा पुरेर अपराधिक पुरुषार्थ देखाए पुग्छ । त्यस्तालाई क्रन्तिकारीको लेवल लगाउँदै थप अपराध कर्ममा स्थापित गराइँदैछ ।
आज गणतन्त्रका नाममा मुलुकमा संसारमा भए जतिका अपराधहरूलाई खुलेआम सञ्चालन गरेरै चलेको छ । खुट्टामा जुत्ता नहुने, आङ्गमा एकसरो लुगा नहुने, पेटभरि खान नपुग्नेहरूको हातमा बन्दुक थमाउँदै सामान्य धनीमानीको घर बास लुट्ने अभियानमा आएको व्यवस्थामा ती बन्द्क उठाउनेहरू हिजो जहाँ थिए, आज त्यहीँ छन् ।
बाँचेका छन् भने पनि गोली शरीरमा बोकेर वा अङ्गभंङ्ग भएर बाँचेका होलान् वा जो मरे तिनको सन्तान परिवारको रोदन निरन्तर जारी छ । तिनकाप्रति कसलाई के चिन्ता ? ती मरुन् वा बाँचुन् । प्रजातान्त्रिक आन्दोलनका नेता गणेशमान सिंहले भन्नुभएका शब्दहरू चरितार्थ हुन्छ, ‘खोला तर्यो तर लठ्ठी बिर्सियो ।’
२०४६ साल चै २६ मा बहुदल पुन:स्थापित भएपछि नेताहरूले आचरण बनाइनु पथ्र्याे कि नेताका परिवारलाई राजनीतिमा हाबी हुन दिने सीमा कतिसम्म हो ? राजनीतिज्ञहरूलाई परिवारको सहयोग चाहिन्छ, त्यसमा दुईमत छैन ।
तर नेता पत्नीहरूले महारानीको भूमिका निर्वाह गर्ने र त्यो आजका दिनमा पनि हुने जायज हो भने हिजोको पञ्चायती व्यवस्था वा राणा शासन पनि त ठीकै थियो भन्नुपर्ने हुन्छ । रानी–महारानी, राजाका छोरी–बुहारीहरूले चलाएकै त थिए ।
गणतन्त्रका नाममा कस्तो व्यवस्था स्थापित छ भने जनता रोजगारी र आय आर्जनको अभावमा व्याकुल छन् । गाउँ–घरमा खान छैन । भोको परिवारको पेटको आगो निभाउन मरे वा मारिएवापत कसैले क्षतिपूर्ति दिन्छ भने पनि नेपाली युवाहरू त्यो मृत्युको मुखमा प्रवेश गर्नसम्म तयार छन् ।
कृषि ध्वस्त छ । तस्करका खलनायकहरूले भारतीय बजारबाट तस्करी गरी ल्याएको सामान बिक्री गर्ने माफिया र यिनै नेता पुत्रहरूको कमाउधन्दाका कारण डरलाग्दो विकृति भित्रिएको छ । महँगी शतप्रतिशत वृद्धि भएका कारण जनताले दाल–भात त के खोले पेटभरि खान पाउन पनि सम्भव छैन । जताततै ठगी छ, शोषण र अन्याय अत्याचार र लुटै लुटै छ ।
राजनीति गर्ने नेता तिनका कार्यकर्तामा इमान्दारी र स्वच्छ छवि अनिवार्यतः हुनैपर्छ । उपराष्ट्रपतिका छोरा सुन तस्करीमा, पूर्व गृहमन्त्रीका सन्तान शरणार्थी प्रकरणमा, जबकि उच्च पदमा भएका नेता प्रधानमन्त्री वा मन्त्रीका परिवारको त्यस्तो कुनै पनि अपराधमा सामेल भएको रहेको भन्नेसम्मको गन्धसम्म पनि आउनु हुँदैन ।
तर यहाँ मान्छे तस्करी, सुन तस्करी, निषेधित वस्तु तस्करी कालाबजारी, कमिसन एजेन्ट, माफियागिरी राज्य शक्तिको आडमा तिनका छोरा सन्तानले नै खुलेआम गर्ने हो भने कस्तो शासन मान्ने हो ।
ती नेताहरू जसले मुलुक सुधार्ने भनेर आन्दोलन गरे, क्रान्ति गरे, हतियर उठाए र शोषक सामन्तीका नाममा आमजनताको सफाया पनि गरे । तिनले तत्कालीन शासकलाई सत्ताच्युत गरे । तर आज तिनीहरु सत्तारुढ हुँदै गर्दा तिनका नवयुवराजहरूले गरेको अपराधहरूलाई ढाकछोप गर्ने हो र आफ्ना सन्तानलाई सुधार्न नसक्ने हो भने त्यस्ता वर्गका नेताहरूसँग मुलुक र जनताले के अपेक्षा गर्ने ।