site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जब सभामुख मार्सलको घेरा लगाउँदै राजदण्डसहित भाग्नुपर्‍यो... 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

२०५५ असोज ३० मा सभामुख रामचन्द्र पौडेलले सदनमा एउटा कथा सुनाए, आफूमाथि ‘पदअनुकूल आचरण गरेको छैन’ भन्ने अभियोग प्रस्तावमा मतदान हुनुपूर्व । अर्थात्, आफूविरुद्ध प्रस्ताव दर्ता गर्ने एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूलाई जवाफ फकाउँदै गर्दा ।

उनको कथा थियो, ‘म सानोमा मामाघर जाँदा एक समूह बाटोमा लौरो तेर्स्याएर बसेको रहेछ । म त्यो लौरो नजिकै अडिएँ । तिनीहरू मसँग जसरी पनि निहुँ खोज्ने दाउमा भएको आभास पाएँ । म लौरो छल्न घुमेर गएँ । तिनले निहुँ खोज्दै भने– किन बाटो छाड्दै घुमेर गइस् ?

त्यसपछि लौरो उचालेर जान खोजेँ । तिनले फेरि प्रश्न गरे– हाम्रो लौरो किन चलाइस् ? अनि, नाघेर जान खोज्दा– किन नाघिस् ?

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनीहरूले निहुँ खोज्दै घेरा हाली मलाई कुट्न चाहेका रहेछन् । तिनको नियत निहुँ खोज्दै मलाई चुट्ने नै रहेछ ।’

छोटो कथा सुनाइसकेपछि पौडेलले रोस्ट्रममा उभिएर भने, ‘आज यो सदनमा पनि त्यसरी नै निहुँ खोजिएको छ । यहाँ केही गरे पनि सुख नै नदिने, यो के तरिका हो ?’

Royal Enfield Island Ad

यो लौरो समूह एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीलक्षित थियो । त्यो समूह जसरी पनि आफूलाई चुट्ने योजनामा रहेको सांकेतिक कथा सुनाएका थिए । हुन पनि संसदीय अभ्यासमा २०५५ असोज महिनाभर नेपालको राजनीति सभामुख पौडेल भर्सेस एमाले–राप्रपाकेन्द्रित भयो । सभामुख पौडेलविरुद्ध एमाले महाभियोग प्रस्तावसम्मै पुगेको थियो ।

पौडेलले पनि एमालेमाथि शब्दवाण चलाइरहे, ‘संसदीय राजनीतिमा हिरोइज्म र बाहुबली चल्दैन ।’

एउटा विधेयकमा भएको अति–राजनीतिका कारण एक महिना संसद् गतिरोधमा पर्‍यो, सँगै राजनीतिको केन्द्रमा सभामुख रहे । असोज–१ देखि सुरु प्रतिशोधको राजनीति असोज ३० मा मात्र टुंगियो । 

पौडेलविरुद्धको ‘पदअनुकूल आचरण गरेको छैन’ भन्ने प्रस्ताव संसद्बाट अस्वीकृत भएसँगै विधेयक राजनीतिको अन्त्य हुन पुग्यो । प्रस्तावमा मतदान हुँदा पौडेलका पक्षमा १२३ मत पर्‍यो । विपक्षमा ५५ मत मात्र । अर्थात्, एमाले–राप्रपाको प्रस्ताव ‘मिस फायर’मा परिणत भयो ।

पौडेलका पक्षमा कांग्रेस, माले र राप्रपा (चन्द) उभिए । विपक्षमा एमाले, राप्रपा र स्वतन्त्र सांसदको मत पर्‍यो । सभामुख/उपसभामुखविरुद्धको अभियोगले संसदीय इतिहास रच्यो, २०५५ असोजमा ।

उतिखेर एमालेको झगडा कांग्रेससँग भन्दा आफैँबाट विभाजित मालेसँग थियो । ऊसँगको कटुताकै कारण त्यो विधेयक संसदीय समितिमै खिचातानीमा परेको थियो । संसदीय समितिमै मतदानमार्फत टुंगो लगाइएको विधेयकको नाम थियो, स्थानीय स्वायत्त शासन ।

त्यो विधेयक सदनमा प्रवेश गर्नासाथ लफडाको विषय बन्ने संकेत पहिले नै देखिएको थियो । कारण थियो, एमाले–मालेबीचको अस्वस्थ प्रतिद्वन्द्विता । त्यो झगडा स्थानीय तहलाई बलियो तुल्याउनेमा केन्द्रित थिएन । एक मात्र मुद्दा थियो, स्थानीय निकायका पदाधिकारीले दल त्याग गरेमा पद खारेज नहुने व्यवस्था ।

निर्वाचित स्थानीय निकायका पदाधिकारीहरू मालेमा गएमा उनीहरूलाई पदविहीन बनाउने योजना एमालेको थियो । अर्थात्, निर्वाचित जनप्रतिनिधि मालेमा गएमा स्वतः पद जाने व्यवस्था गरेर पार्टीभित्रको पहिरो रोक्ने एमालेको मुख्य उद्देश्य थियो ।

केन्द्रीय तहमा एमाले विभाजन भए पनि स्थानीय निकायमा वैधानिक तवरमा जनप्रतिनिधिहरूको मोह मालेतिर देखिन्थ्यो । एमाले विभाजित हुँदै २०५४ फागुन २२ मा मालेको पुनर्जन्म भएको थियो ।

त्यो पार्टी २०५५ भदौमा कांग्रेससँग सहकार्य गर्दै सरकारमा सहभागी हुन पुगेको थियो । त्यो दृश्य एमालेलाई पच्ने या जँच्ने सवाल थिएन । झन् पार्टीकै पूर्वउपमहासचिव वामदेव गौतमको नेतृत्वमा माले शक्तिशाली हुँदै गएको दृश्य देख्न र खप्न सक्ने क्षमता पनि एमालेमा थिएन ।

एमालेजनलाई थाहा थियो नै पार्टी विस्तार गर्न गौतमले हरेक किसिमका हत्कन्डा र शक्ति दुरुपयोगका निम्ति कुनै कसर बाँकी राख्ने छैनन् । गौतमले २०५४ वैशाख–जेठमै भएको स्थानीय निर्वाचनमा शक्तिको तुजुक प्रदर्शन गरिसकेका थिए ।

स्थानीय स्वायत्त शासन विधेयकमा २०५५ भदौ २१ मा संसदीय समितिमै मतदान भएको थियो । त्यसरी विधेयकमाथि समितिमै मतदान भएको त्यो पहिलो घटना थियो ।

सत्तारूढ कांग्रेस र माले मिलेपछि सजिलै विधेयक पारित भएको थियो, स्थानीय निकायका पदाधिकारीले दल त्याग गरेमा पद खारेज नहुनेसहितको । त्यसरी प्रावधान राख्दा स्थानीय तह निर्दलीय हुने जिकिर आयो नै । उता, एमालेको फुटलाई तलसम्म पुर्‍याउँदा आफूलाई राम्रै फाइदा हुने देख्यो, कांग्रेसले पनि ।

एमालेका सांसदले समितिमा विधेयक पारित हुँदाका बखत फरक मत राखेका थिए । फरक मत प्रतिवेदनमा समावेश गर्नुपर्छ भन्ने माग थियो । तर, समितिले फरक मतलाई ठाउँ दिएन । समितिमै त्यसरी झगडा खेपेको त्यो विधेयकले २०५५ भदौ २४ मा प्रतिनिधिसभामा प्रवेश पायो ।

त्यो विधेयक प्रकरणले सभामुखले महाभियोग प्रस्ताव खेप्नुपर्ला र उपसभामुख कुर्सीबाट बाहिरिनुपर्ला भन्ने कसैले अनुमानसम्म गरेका थिएनन् ।

कार्यसूचीमा परेको त्यो विधेयक अघि बढ्न नदिन सदन सुुरु हुनासाथ एमाले र राप्रपाका सांसदको कर्म बन्यो, सभामुखको डायस अघिल्तिरको खाली ठाउँमा जम्मा हुँदै नारा लगाउने । उनीहरूले चार दिन संसद् अवरुद्ध गरिसकेका थिए ।

राष्ट्रपतिको निवासमा केही दिनअघि यो पंक्तिकारले पौडेलसँग सभामुखकालीन संसदीय घटनाबारे कुराकानी गरेको थियो । उनले त्यो समयको स्मृतिका पाटा खोल्दै भने, “समितिबाट पारित विधेयक एमाले सदनबाट आज पनि पास नगर, भोलि पास नगर भन्छ । मैले तिनलाई भनेँ– तिमीहरूले भन्दैमा रोक्न मिल्छ ? सदनको काममा यसरी डिक्टेट गर्न मिल्छ ? मैले जसरी पनि प्रक्रिया अघि बढाउँछु ।”

त्यो दिन उनको मनमा अनेकन् प्रश्न उत्पन्न भइरह्यो । कुराकानीका क्रममा तत्कालीन सभामुख पौडेलले भने, “संसदीय व्यवस्थामा बहुमतलाई निर्णय गर्न पाउँदैनस् भनी अड्डी लिइरहन मिल्छ ? बहुमतको निर्णय लागु गर्न जबरजस्ती गर्नुपर्छ त ? हुलहुज्जत गरेर वा विरोध गरेर सबै बहुमतलाई निर्णय गर्नमा रोक्न मिल्छ ? यसरी संसदीय व्यवस्था कसरी चल्छ ?”

अति रोमाञ्चक त्यस बेलाको घटना उनले स्मरण गरे । संसद् विपक्षको मात्र नभई सरकारको पनि भएको दलिल पेस गर्दै उनले भने, “संसदीय प्रक्रियामा बहुमतले ल्याएको प्रस्ताव रोक्ने काम गर्नु हुँदैन । अनि, विपक्षले जे भन्यो त्यही मात्रै लागु हुँदैन । सरकारका प्रस्ताव पारित हुन दिनुपर्छ, जसको जस या अपजस उसैले व्यहोर्छ ।”

सरकारले ल्याएका प्रस्ताव संसद्मा रोकिए संसदीय व्यवस्था नै अघि बढ्न नसक्ने निष्कर्ष पौडेलको थियो । यही निष्कर्षका साथ त्यस बेला सभामुख त्यो विधेयक जसरी पनि पारित गराउने योजनामा पुगे ।

...अनि, सदन रणभूमिमा परिणत 
सदनमा उक्त विधेयकविरुद्ध अघिल्ला दिनमा जसरी नाराबाजी चलिरहेको थियो, त्यसरी नै पाँचौँ दिन अर्थात् २०५५ असोज १ मा पनि नाराबाजी चलिरह्यो । त्यो दिन सभामुख पौडेलले निकास खोज्न दिनभर सर्वदलीय बैठक चलाएकै थिए । उनी शान्तिपूर्ण माहोलमा विधेयक पारित गर्न चाहिरहेका थिए । 

त्यो दिन पनि पहिलो बैठक सुुरु हुनुअघि नाराबाजी चलिहाल्यो । सभामुखले सहमतिका निम्ति आधा घण्टा बैठक स्थगित गरे । साँझ पर्दै थियो, दोस्रो बैठक सुरु भयो । आजकल पनि सदन चलिरहेका बेला असहज परिस्थिति उत्पन्न भएमा सभामुखले केही समयका निम्ति बैठक स्थगित गरेर सहमतिको प्रयास जारी राख्ने परम्परा छ ।

बैठक सुरु हुनासाथ उही क्रममा नाराबाजी चल्न थालिहाल्यो । एमाले र राप्रपा कुनै पनि हालतमा त्यो विधेयक पारित हुन नदिने दाउमा थिए ।

‘वेल’ घेराउमा गएका सांसदहरूको पहिलो रणनीति थियो, स्थानीय विकासमन्त्री केशवलाल श्रेष्ठलाई माइक छुनै नदिने । श्रेष्ठले विपक्षी दलको त्यो रणनीति चाल पाइसकेका थिए । सभामुखले मन्त्री श्रेष्ठको नाम लिनुअगावै ग्यालरी बैठकको खम्बालाई छेके लगाउँदै उनले माइक समातिसकेका थिए ।

एमालेका सांसदहरूले मन्त्री श्रेष्ठ त्यसरी माइकसहित उभिएको देखेनन् । एकैचोटि पौडेलले विधेयक पारित प्रक्रियाका निम्ति मन्त्रीको नाम लिए, जतिखेर सदनमा भिडन्त चलिरहेको थियो ।

सभामुख पौडेलले चर्काे नाराबाजीबीच विधेयक ‘हुन्न’ र ‘हुन्छ’को ध्वनि मतमा होमिदिए । नाराबाजी चलिरहँदा सभामुखले विधेयक प्रक्रिया अघि बढाए । सँगै घोषणा गरे– हुन्छ भन्ने पक्षमा बहुमत देखिएकाले विधेयक पारित भएको घोषणा गर्दछु ।

हामी संसदीय संवाददाताले त्यो दिन ‘हुन्छ’ ‘हुन्न’बीच प्रक्रिया पुग्यो या पुगेन भनी ठम्याउन सक्ने स्थिति थिएन । किनकि, त्यो सबै प्रक्रिया नाराबाजी र हुलमुलमा भएको थियो ।

नाराबाजीमा रहेका एमाले सांसद विष्णुबहादुर राउत अनौठो ढंगले सत्तारूढ अघिल्लो बेन्चमा विराजमान मन्त्री राधाकृष्ण मैनालीको टेबुलमा ठोक्किन पुगे । त्यसरी आफूमाथि बज्रिन आइपुगेका राउतमाथि मैनालीको हात प¥यो ।

निहुँको खोजीमा रहेका एमाले सांसदहरूले के बाँकी छाड्थे र ! तिनले आफ्नै पूर्वनेता मैनालीलाई हात हाले । कांग्रेसका सांसदहरूले तत्कालै नजोगाएको भए भीमकाय शरीरका मैनालीको हबिगत कन्तबिजोग हुने थियो ।

आफ्ना मन्त्रीमाथि त्यसरी हातपात भएपछि मालेका सांसदहरू एमालेसँग जुध्न ‘वेल’मा पुगे । त्यो दिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला सदनमा अनुपस्थित थिए । उपप्रधानमन्त्री शैलजा आचार्य त्रस्त मुद्रामा थिइन् । उनलाई कांग्रेसी सांसदहरूले घेराबन्दी गरी पछाडि लगेका थिए ।

एमाले सांसदहरू चर्कैसँगै बलजफ्तीमा उत्रेपछि सत्तारूढ कांग्रेस र माले पनि के कम ? तिनीहरू उग्र भए, अनि सदन भिडन्तको मैदानमा परिणत भयो ।

उसै त पुरानो ग्यालरी बैठकको सानो हल, सत्ता–विपक्ष दुवैका सांसदहरू एकैचोटि वेलमा पुगेपछि के भयो होला ? कसले कसलाई मुक्का हान्यो, देख्न सकिने स्थिति थिएन । यतिखेरको वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रजस्तो विशाल झकिझकाउ बैठककक्ष कहाँ हुनु ? उही राणाकालीन शासकका नाचघर राष्ट्रिय पञ्चायत हुँदै प्रतिनिधिसभा सदनमा परिणत भएको थियो ।

एकाएक बैठक सकिएको घोषणा गर्दै मर्यादापालक (मार्सल)को बाक्लो घेराबन्दीबीच पौडेल राजदण्ड अघि लगाउँदै सदनबाट भागे । उनी आफ्नै च्याम्बरमा पुगे, जहाँ सुरक्षाकर्मीले घेराबन्दी लगाइहाले ।

सभामुख बाहिरिएपछि त सदन शान्त हुन्छ भन्ने ठानिएको थियो, तर सदन झन् रणमैदानमा परिणत भयो । सांसदहरू टेबुल–माइक तोड्दै एकले अर्कालाई प्रहार गर्न व्यस्त भए । अघिल्तिर एकै ठाउँमा झुम्मिएका सांसदहरू बल प्रदर्शनमा थिए ।

सभामुख बाहिरिएपछि पनि दश मिनेटसम्म भिडन्त जारी रह्यो । मर्यादापालकलाई छुट्ट्याउँदाकै सास्ती । विस्तारै विपक्षी सांसदहरू बाहिरिँदै सभामुखको च्याम्बर घेराउ र तोडफोडतिर गएपछि सदन अलि शान्त हुँदै गयो ।

उता, बाहिरिएका विपक्षी सांसदहरूले सभामुख च्याम्बरमा ढुंगा प्रहार गर्न बाँकी छाडेनन् । झ्यालका सिसा फुट्यो । मर्यादापालकले नपुगेर कांग्रेसका सांसदहरू आफैँ सुरक्षामा खट्नुपरेको थियो ।

सदनमा घेराउ, अवरोध, नाराबाजी सामान्य मानिन्थ्यो नै । संसद् रणमैदानमै परिणत भएको चाहिँ त्यो पहिलो घटना थियो । त्यसपछि भने संविधानसभाकालमा होस् या अरू बेलामा यस्ता घटना सदनमा दोहोरिइरहेका छन् ।

प्रतिनिधिसभामा सात लहरसम्मका कुर्सी–माइक तोडफोड भए । अनि, केही सांसदहरू घाइते पनि । मर्यादापालक असिनपसिनमा थिए । सांसदका मुक्का र दौरा–सुरुवाल–कोट तनाई त सामान्य नै हुने भयो ।

संसद्भित्र जे दृश्य देखियो, त्यो असाधारण थियो । पञ्चायती जेलनेल भोगेका सांसदहरू सभ्य–सुसंस्कृत, इमानदार र आदर्शवान् हुन्छन् भन्ने ठानिएको थियो । तर, सदनमा तिनको डरलाग्दो रूप, भिडन्तको त्रासदीपूर्ण दृश्य आँखामा कैद गर्ने मौका मिल्यो, संसदीय संवाददाताका रूपमा यो पंक्तिकारलाई पनि ।

अनि, संसद्बाट कुनै महत्त्वपूर्ण निर्णय लिइसकेपछि सभामुख पौडेलको थेगो थियो– यो प्रजातन्त्रको सुन्दर पक्ष हो ।  प्रतिपक्षी एमाले सांसदहरूको टिप्पणी थियो– पौडेलले सत्तापक्षीय मालेका बढी कुरा सुनेपछि भारतको उत्तर प्रदेश विधानसभाको दृश्य बिर्साए ।

उतिखेर उत्तर प्रदेश विधानसभामा केही महिनाअघि त्यस्तै दृश्य मञ्चन भएको थियो । हामीकहाँ त्यसरी नै त्यो बिरूप घटना मञ्चित हुन पुग्यो । त्यो दिनको भिडन्तमा ३० माइक्रोफोन तोडफोड भएको थियो, जसमा १३ वटा त मर्मत हुन नसक्ने गरी ध्वस्त भएका थिए ।

संसदीय भिडन्तमा तोडफोड भएका कुर्सी–टेबुल त जोडजाड भए, टेबुलका माइक्रोफोनका हकमा समस्या निम्तियो । बहुदलीय व्यवस्थासँगै डेनमार्क सरकारले उपहारमा पठाएको थियो । तर, तिनको मर्मत गर्न नेपालसँग पार्टपुर्जा नहुँदा समस्या पैदा भयो । प्राविधिकहरू रातदिन खटेर साताभित्र कुर्सी–टेबुल जोड्दै सदन सञ्चालनयोग्य बनाइयो ।

२०५५ असोज ७ गतेदेखि बल्लबल्ल सदन सुरु त भयो, तर एमाले–राप्रपा शान्त भएनन् । उही रूप दोहोर्‍याए ।

झन् एमाले सभामुख पौडेलसँग रिसले चुर थियो । एमालेले सभामुखको डायसअघिल्तिर नाराबाजी गर्ने पुरानै क्रमलाई निरन्तरता दियो । एमाले सांसदहरू असोज–१ को अडियो रेकर्ड सुन्न पाउनुपर्ने माग गर्दै नाराबाजीमा उत्रिए ।

एमालेले संसदीय प्रक्रियाबेगर पारित विधेयककोे रेकर्ड छानबिन गर्नुपर्ने जिकिर लियो । उता, कांग्रेस–माले सांसदहरूको प्रश्न थियो– त्यत्रो बहुमतबाट पारित प्रक्रियाका रेकर्ड फेरि किन सुन्नुपर्‍यो ? किन छानबिन गर्नुपर्‍यो ?

सभामुखका क्रियाकलाप छानबिन मागमा मात्र सीमित रहेन कि एमाले–राप्रपाले २०५५ असोज २२ मा महाभियोग प्रस्ताव दर्ता गराएर छाडे । एमालेले नेता केपी शर्मा ओलीको नेतृत्वमा ५४ सांसदको हस्ताक्षरमा पौडेलविरुद्ध ‘पदअनुकूल आचरण नगरेको’ अभियोग दर्ता गरायो, रेकर्ड सुन्नुपूर्व नै ।

सत्तारूढ दल पनि प्रतिशोध साँध्न के कम ! तिनले त्यो दिनको घटनामा कुनै भूमिकामै नरहेकी उपसभामुख लीला श्रेष्ठ सुब्बाविरुद्ध प्रस्ताव दर्ता गराए । उनीमाथिको आरोप थियो– एमालेको निर्देशनमा मूकदर्शक हुँदै पदअनुकूल आचरण प्रदर्शन नगरेको ।

पौडेलविरुद्ध एमाले र राप्रपाको सहकार्यमा प्रस्ताव दर्ता गराइएको थियो । सभामुखविरुद्ध प्रस्ताव दर्ता भएको एक घण्टापछि उपसभामुखविरुद्ध सत्तारूढ दलले त्यसरी नै प्रस्ताव दर्ताको नाटक मञ्चन गरेका थिए ।

जब संसद्मा गडबडी हुन्थ्यो, प्रतिनिधिसभाका सचिव सूर्यकिरण गुरुङ त्यस्ता दिनको अडियो रेकर्ड आफूसँग पनि सुरक्षित राख्थे, राजनीतिक दलहरूले केरमेट गर्‍यो भनी आरोप लगाउन सक्ने हुँदा ।

सभामुखले उक्त रेकर्ड मिडियाका सामु प्रस्तुत गर्न सचिव गुरुङलाई दबाब दिए । त्यो दिनको घटना सुनाउँदै गुरुङले यो पंक्तिकारसँग भनेका थिए, ‘त्यस्ता दृश्य बाहिर जाँदा कुनै पार्टी र सांसदको मात्र नभएर व्यवस्थाकै बदनाम हुन्छ । सांसदहरू कुस्ती खेल्दा रहेछन्, सरकारी सम्पत्ति तोडफोड गर्दा रहेछन् भन्ने सन्देश जाँदा के हुन्छ ? व्यवस्थाकै बदनाम हुन्छ, होइन र ?’

विपक्षी असोज–१ को अडियो रेकर्ड नसुनाईकन सदन चल्न नदिने अडानमा निरन्तर थिए । २३ दिनपछि असोज १ को विधेयक पारितसम्बन्धी रेकर्ड सचिवालय हलमा सांसदहरूलाई सुनाउने व्यवस्था भयो ।

सभामुखले ‘प्रतिनिधिसभाका सदस्यहरूलाई मात्र सुनाउने व्यवस्था गर्नू’ भनी निर्देशन दिएका थिए, जहाँ सचिवालयका प्राविधिकबाहेक अरूले प्रवेश पाएनन् । संसदीय इतिहासमा त्यसरी सदनको रेकर्ड सुनाइएको पहिलो घटना थियोे ।

रेकर्ड सुनेपछि पनि प्रतिपक्षी दलको आक्रोश मरेन । तिनले अर्काे जिकिर गरे– रेकर्डमा जालसाजी, केरमेट, थपघट गरी सच्चाइएको हुनुपर्छ ।

राप्रपा सांसद सर्वेन्द्रनाथ शुक्लले तर्क गरे, ‘अडियोमा थप्न त मिल्दैन, केरमेट गर्न सकिन्छ ।’ त्यसपछि राप्रपाको विरोध आयो– सचिवालयले यसमा केरमेट गरेको छ ?

संसद् सचिवालयले विरलै मात्र खण्डन विज्ञप्ति जारी गर्थ्यो । सचिव गुरुङले विज्ञप्ति जारी गर्दै भने, ‘सार्वजनिक रूपमा आएजसरी कुनै केरमेट गरेको छैन । सचिवालय के चुनौती दिन चाहन्छ भने विश्वको कुनै पनि भागमा त्यसको परीक्षण गर्न पठाइयोस् ।’

उता, पौडेल भन्दै थिए, ‘उनीहरू अनेक निहुँ खोज्दै जाने क्रममा अर्काे निहुँ झिकेका मात्रै हुन् । रेकर्ड सच्याइयो भन्नु झुटको चरम पराकाष्ठा हो । दुनियाँको कुनै पनि प्राविधिक राखेर कुनै पनि प्रयोगशालामा प्रविधि अपनाउँदै जाँचे हुन्छ, त्यो आफ्नो मौलिकताको छ कि छैन ?’

एमाले नेता ओलीले संसद्लाई मूर्खतापूर्ण अखडा बनाइएको आरोप लगाउँदै अडियो क्यासेट रेडियो नेपालबाटै सुनाइनुपर्ने माग गरे । पौडेलको जवाफ थियो, ‘रेडियो नेपालबाट मात्रै किन ? इन्टरनेटमै राख्ने हो भने पनि म तयार छु ।’

पहिला अडियो क्यासेट सुनाइनुपर्ने र सुनाएपछि केरमेटको नयाँ कथा बुनियो, संसदीय अभ्यासमा । त्यसपछि एमाले उच्चस्तरीय छानबिनको मागमा गयो ।

मारमा उपसभामुख पनि...

असोज २४ का दिन आश्चर्यजनक ढंगले उपसभामुख लीला श्रेष्ठ सुब्बाले राजीनामाको घोषणा गरिन्, जतिखेर उनी प्रतिनिधिसभा बैठकको अध्यक्षता गरिरहेकी थिइन् । उनले भनिन्, ‘यो बैठकपश्चात् लागु हुने गरी उपसभामुखको पदबाट राजीनामा गरेको घोषणा गर्छु ।’

राजीनामाको कारणचाहिँ विधेयक पारित गर्दा सभामुखले अपनाएको प्रक्रियाप्रतिको ‘असहमति’ थियो । उनी एमालेबाट निर्वाचित थिइन् । उनले पौडेललाई दबाबमा पार्न राजीनामा दिएको टीकाटिप्पणी भएको थियो । किनभने, उनीविरुद्ध प्रतिशोधमै सत्तारूढ दलले ‘पदअनुकूल’ प्रस्ताव दर्ता गराएका थिए ।

त्यसरी एकाएक राजीनामाको घोषणा हुँदा सत्तापक्ष आश्चर्यमा परेको थियो । प्रतिपक्षीले टेबुल ठोकेर स्वागत गरेका थिए ।

एकातिर सभामुखविरुद्धको महाभियोग प्रस्ताव छलफल गरी किनारा लगाउनुपर्ने अवस्था थियो भने अर्कोतिर उपसभामुखले नै राजीनामाको घोषणा गरेपछि अन्योल उत्पन्न भएको थियो । उपसभामुखले दिएको राजीनामा स्वीकृत गर्दै अर्कोे निर्वाचन गराइयो । र, मालेका सांसद भोजराज जोशीलाई उपसभामुखमा निर्वाचित गरियो । एमालेसँग भएको उपसभामुख पद पनि गुम्यो ।

एमालेले ठानेको थियो कि पदअनुकूल आचरणसम्बन्धी आफ्नो प्रस्तावसँगै सभामुख पौडेलले पनि राजीनामा दिनेछन् । तर, सत्तासँग सुविधाजनक बहुमतीय हिसाब देखेका पौडेल प्रस्तावको सामना गर्नतिर लागे ।

ओलीले त सदनमै भनेकै थिए, ‘प्रस्तावविरुद्ध धावा बोल्नुभन्दा राजीनामाकै बाटो समाउनुहोला भन्ने लागेको थियो । उहाँमा प्रतिपक्षविरुद्ध पासो थाप्ने प्रवृत्ति छ । सत्ता–प्रतिपक्षबीच काठको कुर्सीमा बसेको हाडमासुको थुप्रोलाई सभामुख भन्न सकिन्न । उहाँ मन–वचनले नै कांग्रेस हुनुहुन्छ ।’

पौडेलविरुद्ध ओली एक्लैले तीन घण्टासम्म धाराप्रवाह आरोप लगाइरहे । जब पौडेलविरुद्धको प्रस्तावमाथि छलफल हुँदै थियो, उनले सभामुखको आसनमा होइन कि पूर्वप्रधानमन्त्रीका निम्ति छुट्ट्याइएको कुर्सीमा बसी आफूमाथिका आरोपका तर्क–वितर्क सुनेका थिए । सभामुखको आसनमा नवनिर्वाचित मालेका उपसभामुख भोजराज जोशी थिए ।

घटनाको ३०औँ दिन मतदानसँगै एमाले–राप्रपाको प्रस्ताव फेल हुन पुग्यो । पौडेल फेरि सभामुखकै कुर्सीमा उक्लिए । अर्थात्, त्यो प्रकरणको घाटा एमालेलाई नै भयो । उसले चाहेअनुरूप विधेयक प्रक्रिया रोक्न सकेन ।

सभामुखका बादशाह कथा पनि

संसदीय अभ्यासमा सभामुखलाई रोस्ट्रममा उभिँदै बोल्ने अवसर मिल्दैन । एमाले–राप्रपा प्रस्तावका कारण पौडेललाई मौका मिल्यो । पौडेलले निहुँ खोजाहा समूहको लट्ठीदेखि संसदीय अभ्यासमा बेलायती सभामुखका दुःखका कथा पनि सुनाए, त्यो दिनमा ।

उनले सदनमा बोलेअनुसार, बेलायतको संसद्ले बादशाह (राजा)लाई अप्रिय लाग्ने प्रस्ताव पनि पास गर्थ्यो । सदनमा पारित प्रस्ताव सभामुखले राजाकहाँ गएर भन्नुपर्थ्यो । जब राजाले आफूविरुद्धका कुरा सुन्थे, उनलाई रिस उठ्थ्यो । अनि, बादशाहले सभामुखलाई त्यहीँ काटेर टुक्रा पार्थे । त्यस्तै घटना दोहोरिने कारण बेलायतमा कोही सांसद सभामुख बन्न डराउँथे । बलपूर्वक घचेट्दै सभामुखको आसनमा मानिसलाई राख्ने परम्परा चल्यो । बेलायतमा अझै पनि सभामुखलाई डोर्‍याउने चलन छ ।

‘अनि, यहाँ पनि सभामुखविरुद्ध जुन किसिमका घटना, दबाब सिर्जना भएका छन्,’ पौडेलले भने, ‘सभामुखको कुर्सीमा बस्ने मान्छे कति जगजगीमा बस्नुपरेको छ भन्ने स्मरण गराएको छ ।’

जब ओलीले अभियोग प्रस्तावसँगै सभामुखको राजीनामा आउनुपर्थ्यो भनी टिप्पणी गरेका थिए, त्यसको जवाफमा पौडेलले भनेका थिए, ‘प्रस्ताव आउनेबित्तिकै राजीनामा गरेर जाने हो भने सदनमा सभामुख बस्ने कुरा कति संकटपूर्ण होला ? फेरि, नयाँ बादशाहको सामना गर्नुपर्ने र सभामुख बन्न कोही पनि तयार नहुने स्थिति यो देशमा आउँछ कि आउँदैन ? कुनै पनि अनुचित दबाब, जबरजस्तीका सामु घुँडा टेक्न र उत्तरदायित्वबाट पलायन गर्ने छुट मेरो आदर्श र नैतिकताले दिँदैन्न ।’

त्यो संसदीय घटनालाई अलि विवेकी सांसदहरू पछिसम्म पनि भन्ने गर्थे, ‘त्यो त्रासदीलाई सपना ठान्दै बिर्सिनु नै राम्रो होला ।’
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १६:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro