site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
आत्मकथा: डा. राजेन्द्रप्रसाद, अनि तिमी, बाफरे जिन्दगानी ! र चिठी–पत्र

आत्मकथा: डा. राजेन्द्रप्रसाद
(आत्मवृत्तान्त: अनुवाद— श्याम प्रधान)
स्वतन्त्र भारतका प्रथम राष्ट्रपति डा. राजेन्द्रप्रसादको जीवनका यावत पानाहरू नेपाली भाषामा अनुवाद भएर प्रकाशित छ: ‘आत्मकथा: डा. राजेन्द्रप्रसाद’ शीर्षकका साथ ।

सन् १९०५ मा भारत छोडो आन्दोलनको समयदेखि नै डा. राजेन्द्रप्रसादमा देशभक्तिको रङ चढेको यस पुस्तकमा उल्लेख छ ।

यसका अनुवादक श्याम प्रधान आफ्ना कुरामा लेख्छन्: ‘एक प्रकारले म डिप्रेसनमा गइसकेको थिएँ, मलाई यो पुस्तकको अध्ययन र अनुवाद कर्मले नवजीवन प्राप्त भयो भन्दा हुन्छ ।’

डा. राजेन्द्रप्रसादले लेखेको भूमिकामा उल्लेख छ: ‘आत्मकथाको पहिलो संस्करण जनवरी १९४७ मा प्रकाशित भएको थियो । त्यतिबेलासम्मका घटनाहरूको समावेश मूल पुस्तक र परिशिष्टमा भइसक्यो । अर्को संस्करणमा त्यसपछिका घटना समावेस हुनु अपेक्षित थियो । ...’

प्राक्कथनमा वल्लभभाइ पटेलले लेखेका छन्: ‘आत्मकथामा हामी राजेन्द्रबाबुको बाल्यकालबारे, विहारको सामाजिक रीति रिवाज र संकुचित चलनबाट उत्पन्न हुने हानि, त्यसबेलाको गाउँले जीवनको धार्मिक व्रतजस्ता उत्सव र पर्वको त्यस समयमा बच्चाको जीवन र त्यतिबेलाको शिक्षाको अवस्थाका बारेमा जस्ताको तस्तै चित्रण हेर्न पाइन्छ । ...’
ओरिएन्टल पब्लिकेशन हाउसले प्रकाशनमा ल्याएको २९२ पृष्ठको यस पुस्तकको मूल्य ५७५/– रुपैयाँ राखिएको छ ।

Global Ime bank

०००

अनि तिमी
(मुक्तकसंग्रह: नवराज रिजाल)
साहित्यकार नवराज रिजाल विभिन्न विधामा कलम चलाउँछन् । मूलतः साहित्यिक पत्रकारितामा सक्रिय रिजालका कथासहित अन्य कृतिहरू प्रकाशित छन् । उनकै मुक्तकसंग्रह हो ‘अनि तिमी’ ।

बारा सिमराका रिजालको यसअघि दुई दर्जनबढी पुस्तकहरू प्रकाशित भइसकेको छ । 

लेखकीयमा रिजालले लेखेका छन्: ‘...यहाँभित्र ५२६ थान मुक्तकहरू छन् । ती कस्ता छन् ? सुस्वादु र जीवनबोधी छन् कि छैनन् ? यसको परख गर्ने जिम्मेवारी म यहाँहरूको काँधमा छाड्न चाहन्छु । ...’
एउटा मुक्तकमा कृतिकार भन्छन्: 
मनवता छताछुल्ल विश्वास कुहिँदै गएको छ 
किनिएका सपनाजम्मै जताततै चुहिँदै गएको छ 
अँ, अचम्म ! अझै सक्रिय छन् कुभलो सोच्नेहरू
लेखाजोखा त केही छैन्, विचार तुहिँदै गएको छ । (पृष्ठ ६)

प्रकाशकीयमा लेखिएको छ: ‘नवराज रिजालको मुक्तकको यो पहिलो कृति भए पनि उहाँ नेपाली मुक्तक लेखनमा लामो समयदेखि सक्रिय हुनुहुन्छ । यहाँ मुक्तकहरू एक हैन अनेक विषयका छन् ।’

तन्नेरी प्रकाशनले बजारमा ल्याएको ३१२ पृष्ठको यस पुस्तकको मूल्य १०००/– रुपैयाँ राखिएको छ । 

०००

बाफरे जिन्दगानी !
(आत्मकथा: चूडामणि गौतम)
नेपाली भाषा साहित्यमा चिरपरिचित नाम हो चूडामणि गौतम । नेपाली भाषा, व्याकरण, शब्दकोशका अनेक पुस्तकहरू प्रकाशनमा ल्याइसकेका उनको जीवनका आरोह अवरोह पुस्तकाकार रूप लिएर पाठकका सामू आएको छ ‘बाफरे जिन्दगानी !’

पुस्तकको प्राक्कथनमा लेखक गौतमले लेखेका छन्: ‘आत्मवृत्तान्तमा सबै कुरा बताऊँ भन्दाभन्दै पनि आफूले चिताए जस्तो गरी खुलस्त पारेर बताउन सकिंदो रहेनछ ।’

यति भन्दाभन्दै पनि उनको यस आत्मवृत्तान्तमा ६४ विभिन्न शीर्षकमा जीवनका अनेक स्मृतिहरू प्रस्तुत गरेका छन् । बाफरे जिन्दगानी, पिताजीको अथाह वैभव, रुपैयाँ रोपे फल्छ, अक्षरारम्भ, पाठशालामा गयल, डण्डीबियो खेल, पिताको स्वर्गारोहण, गरीबीमा पनि इमानदारी हुन्छ, अंग्रेजी व्याकरण लेख्न शुरु, अंग्रेजी व्याकरणको विज्ञापन, जीवनको तीव्र धोको: बृहत्तर नेपाली शब्दकोश, आदि अनेकानेक शीर्षकहरूमा गौतमको जीवनका कथा समेटिएको छ ।

गौतम प्रकाशनद्वारा बजारमा ल्याइएको २०० पृष्ठको यस पुस्तकको मूल्य ३५०/– रुपैयाँ राखिएको छ ।

०००

चिठी–पत्र
(चिट्ठीसंग्रह: संयोजन— डा. तुलसी भट्टराई)
साहित्यकार डा. तुलसी भट्टराईको संयोजनमा बजारमा आएको एउटा पुस्तक हो ‘चिठी–पत्र’ । नामले भनेजस्तै यसमा समय समयमा विभिन्न व्यक्तिहरूले लेखेका चिठ्ठीहरूलाई एकै ठाउँमा संग्रह गरिएको छ । 

यस संग्रहका संयोजक डा. भट्टराईले लेखकीयमा उल्लेख गरेका छन्: ‘टेलिफोन, मोबाइल, फ्याक्स, इमेल आदि अत्याधुनिक सञ्चार माध्यमद्वारा तुरुन्तै सम्पर्क हुने भएकाले चिठ्ठी परम्परा हराएको छ । उहिले एकप्रकार समाजमा प्रचलित चिठ्ठीपत्र परम्पराले संस्कृतिकै रूप लिएको थियो । गाउँघरतिर एउटा घरमा बाहिरबाट सम्बन्धित कसैले लेखेको चिठ्ठीबारे गाउँभरि हल्ला हुन्थ्यो । कसले कस्तो खबर पठायो, के लेखेको रहेछ, निकै खुलदुली मच्चिन्थ्यो । यसरी चिठ्ठीको ज्यादै ठूलो भूमिका हुने गर्थ्यो ।’

यस पुस्तकभित्र राजनीतिक व्यक्तिका ४३ र साहित्यिक व्यक्तिका १२१ चिठ्ठीहरू प्रस्तुत छ । जसमा कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, रामचन्द्र पौडेल, सीके प्रसाई, केदारमान व्यथित, मदनमणि दीक्षित, इन्द्रबहादुर राई, ईश्वरवल्लभ, सत्यमोहन जोशी, रमेश विकललगायतले लेखेका चिठ्ठीहरू छन् ।

सेर्गेम प्रकाशन दमक द्वारा प्रकाशित ३२८ पृष्ठको यस पुस्तकको मूल्य ५००/– रुपैयाँ राखिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  ०९:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu