site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
निर्माण व्यवसायीको ४० अर्ब रुपैयाँ एक महिनाभित्र भुक्तानी हुुने !

काठमाडौं । निर्माण व्यवसायीले अर्थमन्त्री वर्षमान पुनलाई बुधबार भेटेर आफूहरूले पाउनुपर्ने ४० अर्ब रुपैयाँ निकासाका लागि बाटो खोलिदिन आग्रह गरेका छन् ।

जवाफमा अर्थमन्त्री पुनले पनि निर्माण व्यवसायीले पाउनुपर्ने भुक्तानी समयमा नपाउँदा अर्थतन्त्रमा शिथिलता सिर्जना भएको बताएका थिए ।

अर्थमन्त्रीसँगको भेटमा सहभागी नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीलाई सरकारले बेवास्ता गर्दा अर्थतन्त्रमा नै समस्या आएको बताए । उनका अनुसार अर्थमन्त्री पुनले निर्माण व्यवसायीले पाउनुपर्ने सम्पूर्ण रकम एक महिनाभित्र निकासा हुने प्रतिबद्धता जनाएका छन् । अर्थमन्त्रीको प्रतिबद्धताले निर्माण व्यवसायीहरू आशावादी भएको अध्यक्ष सिंह बताउँछन् ।

“हामीले पाउन ४० अर्बभन्दा बढी छ । एक महिनाभित्र निर्माण कम्पनीको हातमा यो रकम आयो भने कम्तीमा पनि ३८ प्रतिशत सरकारको ढुकुटीमा करको रूपमा जान्छ,” अध्यक्ष सिंहले बाह्रखरीसित भने, “हामीले भुक्तानी गर्ने भनेको सप्लायर्सलाई हो । ४० अर्ब निर्माण व्यवसायीको भुक्तानी भयो भने विकास खर्च ७० प्रतिशतको हाराहारी हुन्छ ।”

सरकारले निर्माण व्यवसायीलाई समयमा भुक्तनी नगरेपछि निर्माण क्षेत्रमा नै असर परेको छ । यसअघिका अर्थमन्त्रीले निर्माण व्यवसायीको पैसा समयमा निकासा नगर्दा बजारमा समस्या परेको व्यवसायी बताउँछन् ।

बजेट सुनिश्चितता नभएका परियोजना ठेक्कामा लगाउँदा भुक्तानी समयमा हुन नसकेको पनि बताइएको छ । निर्माण व्यवसायीले पनि परियोजनाको प्राथमिकीकरण गरेर परियोजनाहरू छनोट गरेर सम्पन्न गर्नुपर्ने बताएका छन् । समयमा भुक्तानी नगर्ने तर परियोजनाको समय थप गर्ने सरकारको परिपाटीले निर्माण व्यवसायीलाई नै बदनाम बनाएको बताइएको छ ।

“अहिले सार्वजनिक खरिद नियमावलीको १३औँ संशोधनमा आएको छ । त्यसले म्याद थप गर्न सहज गरेको छ,” सिंहले भने, “म्याद थप समस्याको समाधान हैन । समस्याको समाधान गर्न निर्माण कार्यलाई गति दिनुपर्छ ।”

अहिले पाँच खर्ब रुपैयाँका परियोजना बजेट सुनिश्चितता नभएका छन् । बजेट सुनिश्चिता गरेर परियोजना अगाडि बढाएमा अर्थतन्त्र चलायमान हुने सिंहको बुझाइ छ ।

अर्थमन्त्रीसँगको भेटमा पनि आफूहरूले बजेटमा परियोजना मात्र घोषण गर्न नहुने धारणा राखेको सिंह बताउँछन् । अहिले भइरहेका परियोजना सम्पन्न गर्ने गरी सरकारले बजेटको व्यवस्था गरे समयमा नै परियोजना सम्पन्न हुने सिंहले बताए । यो विषयमा अर्थमन्त्री पुनले पनि सकारात्मक प्रतिक्रिया दिएको सिंहको भनाइ छ ।

मूल्य समायोजनलाई लिएर महालेखाले बेरुजु देखाएको र यसले व्यवसायीलाई काम गर्न हतोत्साहित बनाएको उनी बताउँछन् । परियोजना वर्षाैसम्म लम्बिने गर्दा लागत बढ्दै जाँदा समस्या निम्तिएको सिंह बताउँछन् ।

७/८ वर्ष अगाडिको मूल्यमा परियोजना अहिले सम्पन्न हुने र मूल्य सायोजन २५ प्रतिशत मात्र हुँदा समस्या परेको निर्माण व्यवसायीको भनाइ छ ।

सरकारको कमजोरीले गर्दा निर्माण व्यवसाय क्षेत्रको रोजगारी खुम्चिँदै गएको छ । २५ लाखलाई रोजगारी दिएको निर्माण क्षेत्रको अहिले खुम्चिएर ७/८ लाखमा झरेको अध्यक्ष सिंह बताउँछन् । 

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १७:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro