site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काम अघि बढाउन नसके अर्को उथलपुथल गर्न बेर लाग्दैन : प्रधानमन्त्री
तस्बिर : प्रधानमन्त्रीको सचिवालय ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काम गर्न नसके पदमा बस्नु हुँदैन भन्ने मान्यतामा आफू दृढ रहेको बताएका छन् । बिहीबार राष्ट्रिय विकास समस्या समाधान समितिको ५२औँ बैठकमा उनले यस्तो बताएका हुन् ।

विकास निर्माणको कामलाई गति दिने, सुशासन कायम गर्नेलगायत काम गर्ने भनेर आफूले नयाँ सत्तासमीकरण बनाएको उनले उल्लेख गरे । ती काम हुन नसके फेरि उथलपुथल गर्न बेर नलाग्ने उनले बताए ।

“...यी कुनै पनि काम अघि बढ्न सकेन भने मैले अर्को उथलपुथल गर्न बेर लाग्दैन । त्यो मैले अरूलाई भनेको होइन है । त्यो मेरै लागि भनेको हो,” उनले भने, “मैले भन्ने गरेको छु– कामै गर्न नसकिने भयो भने, नसकिने स्थिति भयो भने पद ओगटेर बसिराख्न जरुरी हुँदैन भनेर मैले जनतालाई पनि भनेको छु ।”

काम गर्न नसकिने स्थिति भए पद ओगटेर बसिराख्न जरुरी हुँदैन भनेर आफूले यसअघि पनि सार्वजनिक रूपमै भनेको उनले स्मरण गरे । त्यस्तो अवस्था कायमै रहे पद ओगट्नुको औचित्य पुष्टि नहुने उनले स्पष्ट पारे ।

प्रधानमन्त्री प्रचण्डले काम गर्न सकिने सम्भावना देखेरै आफू पदमा बसिरहेको पनि बताए । “मैले अहिले पनि पदको सुरक्षाका लागि समीकरण अर्को बनाएको पनि होइन । पद त मेरो सुरक्षित नै थियो । तर, काम अझ तीव्र गतिमा गर्न सकियोस्, सुशासन अझ तीव्र गतिमा कायम गर्न सकियोस्, विकास, निर्माणलाई अझ तीव्र गतिमा अघि बढाउन सकियोस् भन्ने मान्यताले मात्रै समीकरण बदलेको हो,” उनले भने ।

उनले मन्त्रालयहरूले बजेट ‘होल्ड’ गरेर राख्ने र आर्थिक वर्षको अन्त्यतिर ससर्त अनुदानका रूपमा पठाउने काम आउँदो आर्थिक वर्षदेखि हुनै नदिने प्रतिबद्धता समेत व्यक्त गरे । प्रदेश र स्थानीय तहमा जाने बजेट बजेट वक्तव्यमै समावेश गरेर लैजाने व्यवस्था गर्नुपर्ने उनले बताए ।

प्रदेश र स्थानीय तहको कर्मचारी व्यवस्थापनमा ढिलाइ नगर्न उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सचेत पनि गराए । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १६:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro