site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रेवशमाथि चक्कु प्रहार गर्नबाट जोगाउन खोज्दै थिए पुजन, दुवैको गयो ज्यान

काठमाडौं । फागुपूर्णिमाको साँझ ललितपुर महानगरपालिका–२६, ढोलाहिटीमा भएको घटनाका आरोपितलाई प्रहरीले मंगलबार सार्वजनिक गरेको छ । पाँचथरको मिक्लाजुङ गाउँपालिका–६ का २७ वर्षीय पुजन राई र सुनसरीको धरान उपमहानगरपलिका–१३ का २८ वर्षीय रेवश राईको हत्या आरोपमा पक्राउ गरिएका पाँचजनालाई जिल्ला प्रहरी कार्यालय ललितपुरले सार्वजनिक गरेको हो ।

घटना अनुसन्धानका क्रममा ललितपुर प्रहरीले १८ जनालाई नियन्त्रणमा लिएको थियो । तीमध्ये हत्यामा पाँचजनाको संलग्नता देखिएको प्रहरीले जनाएको छ ।

खोटाङको साकेला गाउँपालिकाका ३१ वर्षीय विजय राईले उनीहरूको हत्या गरेको खुलेको छ । ललितपुर प्रहरीका प्रमुख एवं एसएसपी शेखर खनालका अनुसार, विजयले पुजनको तिघ्रा र रेवशको छाती र कोखामा चक्कु प्रहार गरेका थिए ।

Dabur Nepal
NIC Asia

विजयसहित हत्यामा खोटाङको साकेलाकै ३० वर्षीय सुलभ राई, भोजपुरको टेम्केमैयुङ गाउँपालिका–२ का ३८ वर्षीय विशालहाङ मुकारुङ राई र काठमाडौंको गोकर्णेश्वरका २५ वर्षीय छेङ्बीहाङ राईको समेत संलग्नता खुलेको प्रहरीले जनाएको छ । घटनामा संलग्न एकजना फरार छन् ।

हत्या आरोपित र ज्यान गुमाएका राईद्वय चिनाजानकै साथीहरू समेत रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

घरबाट बोलाएर रेवशको हत्या
घरबाट बोलाएर रेवशको हत्या गरिएको प्रहरी अनुसन्धानमा खुलेको छ । एसएसपी खनालका अनुसार, रेवशबाहेक अर्का मृतक पुजनसहितको समूह विजय राई र सुलभ राईले नै सञ्चालन गरेको डी पपिना रेस्टुरेन्टमा बसेर मदिरा सेवन गरिरहेका थिए ।

१५/२० जनाको समूह बसेर मदिरा सेवन गर्दै गर्दा दुई महिनाअघि र त्यसअघि तिहारमा धरानकै सहिल श्रेष्ठसँग भएको विवादबारे उनैले कुरा निकाले । सहिलसँग आरोपित छेङ्बीहाङ राईको विवाद भएको थियो । त्यही विषयले उग्ररूप लिँदा फेरि विवाद सिर्जना भयो । विवादसँगै झगडा हुने डरले रेस्टुरेन्टका सञ्चालक सुलभले छेङ्बीसहितको समूहलाई बाहिर निकालेका थिए ।

त्यो बेलासम्म विवाद सामान्य थियो । सुलभले रेस्टुरेन्टबाट बाहिर निकालेपछि भने छेङ्बीले रेवशलाई घरबाट बोलाए ।

eifmg-1711449228.jpg
अनुसन्धानमा खटिएका प्रहरीका अनुसार, छेङ्बीहाङले रेवशलाई भनेका थिए, ‘दाइ, हामीलाई रेस्टुरेन्टका मान्छेहरूले हेपे । खाइरहेका बेला बाहिर निकाले । हामी बाहिर रोडमा बसेका छौँ ।’

रेवश रेस्टुरेन्टनजिकै बस्थे । ‘भाइहरूलाई हेप्ने ?’ भन्दै उनी विजयको रेस्टुरेन्टमा पुगे । छेङ्बीहाङसहितका युवा रेस्टुरेन्टबाहिर नै थिए । रेस्टुरेन्टको सटर बन्द थियो । विजय, सुलभसहितको एक समूह भित्र बसेर मदिरा सेवन गरिरहेको थियो । रेवश पुगेपछि बाहिरका युवा पनि सटर खोल्न लगाएर रेस्टुरेन्टभित्र छिरे । रेवशले ‘मेरा भाइहरूलाई हेप्ने को हो ?’ भन्दै धम्की दिए ।

हट्टाकट्टा रेवशसँग लड्ने हिम्मत अरूमा थिएन । रेस्टुरेन्ट सञ्चालक विजयले छेङ्बीहाङलाई ‘मान्छे बोलाएर ल्याउने ?’ भन्दै हातपात गरे । रेवशलाई बाहिर निकाल्न खोजे । तर, रेवशले विजयमाथि नै हातपात गर्न थाले ।

आफूमाथि हातपात गरिएको विजयलाई मन परेन । विजयले आफ्नो रेस्टुरेन्टको किचेनबाट चक्कु ल्याएर रेवशमाथि प्रहार गर्न खोजे । तर, विजयकै समूहका पुजनले चक्कु बोकेर आएका उनलाई रोक्न खोजे । त्यही बेला विजयले बोकेको चक्कु पुजनको तिघ्रामा धस्रिन पुग्यो । चक्कु लागेका पुजनलाई सुलभसहितको समूहले रेस्टुरेन्टभित्र लग्यो । तर, लामो समयसम्म रगत बन्न नरोकिएपछि उनको ज्यान गएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

पुजनपछि विजयले नै रेवशको छाती र कोखामा चक्कु प्रहार गरेका थिए । उनलाई छेङ्बीहाङ समूहले नै पाटन अस्पताल पुर्‍याएको थियो । अस्पतालमा उनलाई मृत घोषणा गरियो ।

यस्तै, चक्कु लागेको करिब तीन घण्टापछि मात्र पुजनलाई सुलभले सुमेरु अस्पताल पुर्‍याएका थिए । अस्पतालमा उनको पनि मृत्यु घोषणा गरियो ।

चक्कु प्रहारपछि मोटरसाइकलमा भागेका थिए विजय
रेवश र पुजनमाथि चक्कु प्रहार गर्ने विजय लागुऔषध कारोबारी समेत रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

लागुऔषध मुद्दामा प्रहरी वृत्त थानकोटले उनीमाथि मुद्दा चलाएको थियो । ०७५ सालमा लागुऔषधसहित पक्राउ परेका विजय दुई वर्ष जेलमा बसेर ०७७ सालमा छुटेको खुलेको छ ।

चक्कु प्रहारपछि विजयलाई राजु गुरुङले मोटरसाइकलमा राखेर भगाएका थिए । त्यसपछि उनी खुमलटारमा आफन्तको घरमा गएर सुतेका थिए । बिहान फर्कंदै गर्दा प्रहरीले पक्राउ गर्‍यो ।

आइतबार राति ११ बजेतिर घटनाबारे थाहा पाएलगत्तै ललितपुर प्रहरीका एसएसपी खनालसहितको टोली अनुसन्धानमा खटिएको थियो । दुईजनाको हत्या भएको ६ घण्टाभित्र प्रहरीले मुख्य आरोपितलाई पक्राउ गरेको थियो । ललितपुर प्रहरीको विशेष टोली र प्रहरी वृत चापागाउँको टोलीले पक्राउ गर्न सफल भएको हो । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १६:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro