site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
तनहुँको 'स्वर्णिम दृश्य' इलाममा फेरि उदाउला ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । पहिचानको आन्दोलन चर्किएको कोसी प्रदेशमा आउँदो वैशाख १५ गते प्रतिनिधिसभा सदस्यका निम्ति उपनिर्वाचन हुँदै छ । इलाम–२ को उपनिर्वाचनमा प्रदेश नामकरणका क्रममा उठाइएको ‘पहिचानवाद’को आवाज एकीकृत गर्न पनि उमेदवारी पर्ने देखिएको छ ।

निर्वाचन आयोगका अनुसार, उपनिर्वाचनको प्रयोजनका निम्ति २० दल दर्ता भएका छन् । तर, हालसम्म केही स्वतन्त्र उमेदवार र नेकपा (एमाले)ले मात्र उमेदवारी ‘फाइनल’ गरेको छ । बाँकी दल आन्तरिक तयारी भन्दै आकांक्षी व्यवस्थापन गर्न खोज्दै छन् । 

इलाम–२ को उपनिर्वाचनका निम्ति एमाले सचिवालय बैठकले दिवंगत नेता सुवासचन्द्र नेम्वाङपुत्र सुहाङलाई उमेदवार बनाउने निर्णय गरेको छ । पार्टीले टिकटको टुंगो लगाएपछि उनले बाह्रखरीसँग भने, “पार्टीको निर्णयमा एकदमै खुसी छु । पार्टीका श्रद्धेय कमरेडलाई धन्यवाद । उमेदवारका रूपमा आइरहँदा पार्टीको मात्रै नभएर सिंगो इलामको प्रतिनिधित्व गरेर आउनेछु ।”

Prabhu Bank
Agni Group
NIC Asia

एमालेले युवा र राजनीतिक परीक्षण नभएको उमेदरवार टुंगो लगाइसक्दा पनि अरू दल मौन देखिएका छन् । राजनीतिक विरासतबाट आएका उमेदवारलाई टक्कर दिन अरू दल तयारीमै छन् ।

एमालेबाट उमेदवार बनाइएका सुहाङकै पिता सुवासको निधनपश्चात् त्यहाँ उपनिर्वाचन गर्नुपरेको हो । आफ्नै उमेदवार उठाउने नेकपा (एकीकृत समाजवादी)को तयारी छ । नेकपा (माओवादी केन्द्र) अझै अनिर्णीत छ । उनीहरूले उमेदवार उठाउँछन् वा गठबन्धबाट सुहाङलाई साझा उमेदवार मान्छन् भन्ने प्रश्न पनि छ ।

Global Ime bank

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सुहाङलाई समर्थन गर्न अरू दललाई अपिल गर्ने बताइसकेका छन् । अर्थात्, गठबन्धनको साझा उमेदवार बनाउने तयारी रहेको उनको आशय छ ।

गठबन्धनबाट साझा उमेदवार बन्ने तयारी गरे पनि एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालका पक्षमा माहोल बनेन । उनै खनाल आफू निर्वाचन नलड्ने तर पार्टीले उमेदवार उठाउने तयारी गरिरहेको बताउँछन् । “म चुनाव लड्दिनँ । पार्टीको तर्फबाट उमेदवार बन्छ । अजभोलि नै निर्णय हुन्छ‚” उनले भने ।

एमालेलाई सहयोग नगर्ने हो र भन्ने बाह्रखरीको प्रश्नमा उनले माहोल परिवर्तन भइसकेको जिकिर गरे । “छुट्टाछुट्टै उमेदवार बनाउनुपर्ने स्थिति बन्यो, हामी उमेदवार उठाउँछौँ,” उनले थपे ।

यता, सत्ताको नेतृत्वकर्ता दल माओवादी साझा उमेदवार बनाउने वा एकल चुनाव लड्ने भन्ने निर्णयमा नपुगेको महासचिव देव गुरुङ बताउँछन् । गठबन्धन दलभित्र सहमति र सहकार्यको प्रयास भइरहेको उनको भनाइ छ । उनले भने, “सहमति, सहकार्यका लागि संवाद भइरहेको छ । पार्टी निर्णय केही भइसकेको छैन । केही दिनभित्रै निर्णय हुन्छ ।”

इलाम–२ को उपनिर्वाचनका निम्ति माओवादीभित्र नेता धीरेन्द्र शर्मा (रमन)को नाम पहिलो चर्चामा छ । उनी प्रदेशसभाका पूर्वसदस्य हुन् । माओवादी इलाम जिल्ला अध्यक्ष विजय राई पनि टिकटको दौडमा छन् । हर्कबहादुर नेम्वाङ (मिक्सो), जिल्ला इन्चार्ज कुलप्रसाद लिम्बू र कान्छा लावतीका नाम पनि चर्चामा रहेको माओवादी नेताहरू बताउँछन् ।

सत्तामा बसेर चुनाव जित्ने रास्वपाको लक्ष्य 
सुरुआती चरणमा इलामको उपनिर्वाचन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई बढी लागेको थियो । रास्वपाले परिस्थिति अध्ययन गर्न सहमहामन्त्री कविन्द्र बुर्लाकोटीको नेतृत्वमा सांसद टोली त्यहाँ खटाएको थियो । त्यसबखत पार्टी प्रतिपक्षमा थियो, माहोल आफ्नो पक्षमा भएको जिकिर गरिरहेको थियो ।

अहिले रास्वपा सत्तामा छ । सरकारमै बसेर उपनिर्वाचन जित्ने उसको लक्ष्य छ । पार्टी सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले त्यो उद्घोष गरिसकेका छन् । “थोरै दिन सरकारमा बसेर गरिने कामका आधारमा इलाम–२ को उपनिर्वाचन जित्छौँ,” गएको शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भनेका थिए ।

रास्वपा महामन्त्री मुकुल ढकालका अनुसार, हाल पार्टी उमेदवार चयनको आन्तरिक प्रक्रियामा छ । उमेदवार बन्न चाहनेहरूले नाम दर्ता गर्न चैत १४ गतेसम्मको समय दिइएको छ ।

“आएका नाममा प्रि–इलेक्सन हुँदैन । केन्द्रीय समितिमा नाम आउँछ, बैठक बसेर हामी उमेदवारको नाम टुंगो लगाउँछौँ,” सहमहामन्त्री बुर्लाकोटीले भने ।

‘वाम किल्ला’ मानिने इलाममा उपनिर्वाचनले नयाँ संकेत दिन्छ वा त्यही भाष्यलाई निरन्तरता भन्ने प्रश्न अहम् छ । त्यहाँ कुन दलले कसलाई उमेदवार बनाउँछन् भन्ने विशेष चासो छ । अझ तनहुँ–१ मा स्वर्णिम वाग्लेलाई जिताएको उपनिर्वाचनको सन्देशलाई रास्वपाले निरन्तरता दिन सक्छ वा सक्दैन भन्ने कौतूहल पनि छ ।

कांग्रेसबाट बल्ल केन्द्रमा आइपुग्यो नाम 
उपनिर्वाचनका निम्ति नेपाली कांग्रेसबाट आकांक्षीका नाम केन्द्रमा पठाइएको छ । सात आकांक्षीको नाम केन्द्रमा पठाइएको कांग्रेसका कोसी प्रदेश सभापति उद्धव थापाले जानकारी दिए ।

थापाका अनुसार, उमेदवारका निम्ति पहिलो नम्बरमा भेषराज आचार्यको नाम सिफारिस गरिएको छ । दोस्रोमा पूर्वसांसद केशव थापा र तेस्रोमा जिल्ला सभापति डम्बर खड्काको नाम छ । उनले यी नाम क्षेत्रीय समिति हुँदै जिल्ला कार्यसमितिले पठाएको बताए । प्राप्त नाम जस्ताको त्यस्तै माथि पठाइएको उनले जानकारी दिए ।

कांग्रेस जिल्ला कार्यसमिति इलामले आकांक्षी उमेदवारका नाम चैत ७ गते नै प्रदेश समितिमा पठाएको थियो । आधिकारिक उमेदवार बन्न कांग्रेसका अधिकांश नेताहरू काठमाडौंकेन्द्रित छन् । विशेष गरी आचार्य र खड्का पक्ष अलग–अलग समूह बनाएर केन्द्रीय नेताहरूका घरदैलो गरिरहेका छन् ।

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पनि आकांक्षीले काठमाडौंमा नेताहरूका घरदैलो गरिरहेको बताए । केन्द्रीय नेताहरूबीच पनि छलफल भइरहेको उनको भनाइ छ । केही दिनभित्र बस्ने कार्यसम्पादन समितिको बैठकबाट उमेदवारको नाम टुंगो लगाइने उनले जानकारी दिए ।

“सातजनाको नाम केन्द्रमा आएको छ । जिल्लाबाट आउनुभएका नेताहरू दौडधुपमा हुनुहुन्छ । केन्द्रीय नेताहरू पनि छलफलमा हुनुहुन्छ,” उनले भने, “सायद १४ गते वा त्यसपछि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्छ । त्यसले उमेदवार टुंगो लगाउँछ ।”

राप्रपा पनि आन्तरिक तयारीमा, स्वतन्त्र उमेदवार मैदानमा 
उपनिर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि उमेदवारी दिने जनाएको छ । त्यसका निम्ति आजभोलि नै जिल्ला र प्रदेश कार्यसमितिले आकांक्षीका नाम केन्द्रमा पठाउने तयारी गरेको प्रवक्ता सगुनसुन्दर लावतीले जानकारी दिए ।

“जिल्लाले प्रदेशमा नाम पठाउँछ अनि प्रदेशले केन्द्रमा नाम पठाउँछ । अबको दुईतीन दिनमा यी सबै काम सकिन्छ र हामी उमेदवारको टुंगो लगाउन केन्द्रमा बैठक बस्छौँ,” लावतीले भने ।

दलबाहेक स्वतन्त्र उमेदवार पनि चुनावी माहोलमा होमिएका छन् । सञ्चारकर्मी मिलन लिम्बूले चैत ४ गते काठमाडौंमा पत्रकार सम्मेलनमार्फत उमेदवारी घोषणा गरेका थिए । उनी माओवादी केन्द्रनिकट पत्रकार मानिन्छन् । लिम्बूले यसअघि चुनाव लड्न माओवादी परित्याग गरेका थिए । उनले स्वतन्त्र उमेदवारी दिने बताएका छन् ।

इलाम–२ मा पहिचानवादीका तर्फबाट साझा उमेदवार भन्दै प्रेमदीप थाम्सुहाङलाई अघि बढाइएको छ । उनी किराँत–लिम्बुवान प्रदेश नामांकन अभियानका अध्यक्ष समेत हुन् ।

२०७९ को मत
०५६ यता इलाम–२ मा सुवास नेम्वाङ विजयी हुँदै आएका थिए । गएको भदौ २६ गते उनको निधन भएसँगै उक्त क्षेत्रको सांसद पद रिक्त बनेको हो । त्यहाँ किराँत धर्मगुरुको ‘आशीर्वाद’ र जातीय मतले पनि धेरथोर प्रभाव पार्ने गरेको छ ।

०७९ को निर्वाचनमा नेम्वाङले ३० हजार २० मत ल्याएका थिए । गठबन्धनबाट प्रतिस्पर्धा गरेका कांग्रेसका डम्बर खड्काले २९ हजार ९०६ मत प्राप्त गरेका थिए । रास्वपाबाट चुनाव लडेका प्रकाश सापकोटाले एक हजार ३८० मत पाएका थिए । नेम्वाङ ११४ मतान्तरले विजयी भएका थिए ।

इलाम–२ मा इलाम नगरपालिका, देउमाई नगरपालिका, माङ्सेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका, चुलाचुली गाउँपालिका र माई नगरपालिकाका ६, ७ र ८ नम्बर वडा पर्छन् । गएको स्थानीय तह निर्वाचनमा देउमाईको मेयरसहित फाकफोकथुम र माङ्सेबुङको अध्यक्षमा एमाले उमेदवार विजयी भए ।

०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ कांग्रेसले २२ हजार ३३३, एमालेले २६ हजार ५६२, माओवादी केन्द्रले पाँच हजार १५३, जनता समाजवादी पार्टी (जसपा)ले ९०६, एकीकृत समाजवादीले ५८६ र रास्वपाले चार हजार ६८६ मत प्राप्त गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १८:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC