site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमालेको ‘मिसन’लाई सफल बनाउन नयाँ सत्तासमीकरण : शंकर पोखरेल
फाइल तस्बिर ।

काठमाडौं । सत्तासाझेदार प्रमुख घटक नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले ‘मिसन–२०८४’ लाई सफल बनाउन नयाँ सत्तासमीकरण निर्माण गर्नुपरेको बताएका छन् । मिसन–२०८४ एमालेले मुलुकको भविष्य निर्माणका निम्ति लिएको संकल्प भएको भन्दै उनले त्यसबाट विचलित नहुने बताए ।

शनिबार पोखरामा पार्टीको कास्की जिल्ला अधिवेशनको उद्घाटनका क्रममा उनले मिसन–२०८४ लाई बलियो बनाउँछ भन्ने मान्यता र विश्वासको जगमा मात्र नयाँ सत्तासमीकरण गरिएको स्पष्ट पारे । यसअघिको सत्ता गठबन्धनले पार्टीमाथि गरेको घेराबन्दी तोडेर नयाँ सहकार्य सुरु भएको उनले बताए । यसले पार्टीको मिसन–२०८४ लाई सफल बनाउन आधार तयार पारेको उनको भनाइ छ ।

“...हामीले हाम्राविरुद्धको घेराबन्दीलाई, हाम्राविरुद्धको चक्रव्युहलाई तोडेर हामी बाहिर आएका छौँ । सहकार्यको एउटा नयाँ आधार तयार गरेका छौँ,” उनले भने, “जसका आधारमा हामी मिसन–२०८४ लाई सफल पार्न चाहन्छौँ ।”

उनले एमालेको अर्जुनदृष्टि मिसन–२०८४ भएकाले अरू विषयमा जस्तोसुकै त्याग गरेर अघि बढ्न तयार रहेको बताए । मुलुकलाई सही बाटोमा अघि बढाउने काममा एमाले लाग्ने भन्दै महासचिव पोखरेलले सोहीअनुसारको गतिविधि अघि बढाउन पार्टीका नेता–कार्यकर्तालाई सचेत गराए ।

“आजभोलि कतिपयले भन्ने गर्नुहुन्छ– एमाले सरकारमा त गयो, तर महत्त्वपूर्ण मन्त्रालय त लिएन नि । हामीलाई थाहा छ, अहिलेको संसद्भित्र हामीले चाहेजस्तो नीतिगत नेतृत्व सम्भव छैन । हामीले त मुलुकको ओरालो यात्रा रोक्नका लागि मात्रै सहकार्य गरेका छौँ,” उनले भने, “मुलुकलाई विकास र समृद्धिको यात्रामा नयाँ युगमा प्रवेश गराउनका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता पर्दछ । त्यस अर्थमा मिसन २०८४ नेकपा (एमाले)को अर्जुनदृष्टि हो भन्ने कुरालाई बुझ्न सक्नुपर्दछ ।”

उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालनमा ल्याउने काममा एमालेको प्रयास हुने पनि बताए । एमाले सरकारमा नहुँदा सो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन आउन नसकेको उनले जिकिर गरे । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  २३:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro