site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘महाजात्रा’ : रमाइलो सिनेमा

कस्तो सिनेमा चल्छ ? यसमा सम्भवतः धेरैको जवाफ यही होला– राम्रो चलचित्र चल्छ । त्यसो भए सबै राम्रा सिनेमा चल्छन् ? भोलिको कुरा त कसले देखेको छ र, तर इतिहास हेर्ने हो भने सबै राम्रा सिनेमा चलेका छैनन् । र, नचल्दैमा सबै सिनेमा नराम्रा पनि हुँदैनन् । विश्वमा थुप्रै मास्टरपिस सिनेमा, जो हलमा चलेनन्/रुचाइएन ।

नेपालमा पनि उदाहरण खोज्दा यस्ता सिनेमा थुप्रै छन्, जो राम्रा भनिए, तर चलेनन् । कुन–कुन सिनेमाले यो नियति भोगे भन्ने नाम लिइरहनु पर्दैन, धेरैलाई थाहै छ । तर, निःसन्देह यो सत्य हो सिनेमा त्यसै चल्दैन । सिनेमा चल्न त्यसमा केही न केही पक्ष राम्रो चाहिन्छ । अन्यथा, यो ढुक्कै हो सिनेमा चल्दैन । प्रसंग हो, चलचित्र ‘महाजात्रा’को । प्रशस्त पैसा छ । त्यसकै जगमा टेकेर चुनाव जितेर गृहमन्त्री हुँदै प्रधानमन्त्री हुने सपना छ । धन त छ, तर कालो । कसरी त्यसलाई जोगाउने ? तनाव छ । त्यही तनावको सेरोफेरोमा ‘महाजात्रा’ उभिएको छ । ‘महाजात्रा’लाई टेको लगाउने काम गरेका छन्, ‘जात्रा’ शृंखलाका मुख्य पात्रत्रय विपीन कार्की, रवीन्द्रसिंह बानियाँ र रवीन्द्र झाले । यो शृंखलामा प्रवेश गरेका नयाँ पात्र हुन्, हरिवंश आचार्य ।

नेपालमा आमनेपाली सिनेमा मेकरको समस्या करिब–करिब उस्तै छ । परिवार पाल्न आकर्षक रोजगारीको अभाव नेपाली युवाको साझा समस्या हो, रहरले फुलाएको सपनालाई आकार दिन त परको कुरा भयो । यही बाध्यताभित्र पसेर दुई नम्बरी गरेर कमाएको पैसा लुकाउन नेताहरूले के–केसम्म गर्छन्, क–कसलाई प्रयोग गर्छन्, त्यसको प्रभाव कसलाई के पर्छ, यो नै ‘महाजात्रा’को मुख्य कथा हो ।

निश्चित समयका लागि पैसा लुकाउने चक्करमा छन्, केही पात्र । तर किन ? प्रस्ट छैन । राज्यले छापा हानिरहेको समय हो अथवा अरू कुनै कारण छ ? यदि, यही कारण हो भने पनि आफू बच्न र पैसा बचाउन राजनीतिक सेटिङका लागि प्रयास गर्छ कि गर्दैन ? गर्छ भने किन देखाइएन ? सायद यी प्रश्नको जवाफ लेखकले स्क्रिप्टमा खोजेको भए सिनेमालाई थप टाइट गर्न सहयोग गर्थ्यो ।

सिनेमाको कथा धेरै अगाडि बढ्दैन । पैसा लुकाउने चक्कर र त्यसबाट बच्चे प्रयासकै वरपर सिनेमा रुमलिन्छ । तर, कथा नेपाली समकालीन समयको हो । कसरी नेपाली राजनीति भ्रष्ट भइरहेको छ, अभावको दलदलमा रहेका निर्दोष नागरिक कसरी राजनीतिको सिकार भइरहेका छन्, सिनेमाले छर्लंग पारिदिएको छ । समकालीन राजनीति र राजनीतिज्ञलाई यो व्यंग्य पनि हो ।

चलचित्रका अधिकांश सिनमा पञ्चलाइन छ । सिनेमाले हँसाउँछ । प्याट्टप्याट्ट टाउकामा हिर्काउँदा पनि दर्शक हाँस्छन् । यो निर्देशकीय सफलता हो । केही इमोसनल दृश्य छन्, जसले हाँसिरहेका दर्शकलाई रुवाउँछ । फेरि छिनमै हँसाउन सक्नु सिनेमाको सफलता हो ।

आफ्नो राजनीतिक करिअर बचाउन साम, दाम, दण्ड, भेद अपनाउने राजनीतिज्ञ कतिसम्म कठोर हुन्छन् ? अथवा, बीचमा सन्तान आउनेबित्तिकै गोदामभरि पैसा थुपार्ने राजनीतिज्ञ हजारौँ जनता र कार्यकर्ताको अगाडि कसरी आफैँले आफैँलाई भ्रष्ट र पापी करार गर्न तयार हुन्छन् ? नेपाली राजनीतिमा यति धेरै नैतिकता छ ? यति चाँडै/सहजै भ्रष्ट नेता युटर्न हुन्छन् ? प्रश्न गर्ने ठाउँ छ । कथाभन्दा पनि पञ्चलाइनमा ध्यान दिँदाको समस्या हो यो ।

सिनेमाका मुख्य चार पात्र विपीन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा र हरिवंश आचार्यसहित वर्षा राउतको अभिनयमा खोट लगाउने ठाउँ छैन । कथालाई अगाडि बढाउन आउने केही सपोर्टिभ आर्टिस्टको अभिनयले भने बिझाउँछ ।

‘महाजात्रा’ चुकेको मेकिङमा हो । सिनेमेटोग्राफीमा निर्देशकले उति धेरै ध्यान दिएका छैनन् । सिनेमेटोग्राफीले चलचित्रलाई थप बलियो बनाउन सक्थ्यो, जसमा निर्देशकले ध्यान नदिएको देखिन्छ ।

चलचित्रमा ध्यान दिनुपर्ने अर्का महत्त्वपूर्ण पक्ष साउन्ड र ब्याकग्राउन्ड स्कोर हो । साउन्ड र ब्याकग्राउन्ड स्कोरले चलचित्रमा आत्मा भर्ने काम गर्छ । तर, यसमा पनि निर्देशकले त्यति धेरै ध्यान दिएका छैनन् ।

नेपाली मेकर अक्सर टेक्निकल पक्षमा त्यति धेरै ध्यान दिँदैनन् । यो आरोप अधिकांश मेकरले खेप्दै आएका छन् । यो आरोपबाट निर्देशक प्रदीप भट्टराई पहिलो सिनेमाबाटै उम्किन सकेका छैनन् । उनका सिनेमाले बक्सअफिसमा राम्रो कमाइ गरेका छन् । तर, मेकिङमा कमजोर हुने गरेको टिप्पणी झेल्दै आउनुपरेको छ । पाँचौँ सिनेमामा आइपुग्दा पनि उनले यो आरोपको सामना गर्नैपर्नेछ ।

सिनेमाको जग स्क्रिप्ट नै हो । यसर्थ राम्रो सिनेमा बन्न स्क्रिप्ट बलियो हुनैपर्छ । अभिनय अर्को महत्त्वपूर्ण पाटो हो । तर, अभिनय र कथा मात्र सिनेमा होइन । टेक्निकल पक्षले सिनेमालाई थप स्वादिलो बनाउँछ । सिनेम्याटिक फिल दिन्छ । सिनेम्याटिक चलचित्रले दर्शकलाई हलसम्म डोर्‍याउन मद्दत गर्छ ।

विम्ब र प्रतीकले सिनेमालाई थप कलात्मक बनाउँछ । सिनेमा दृश्य भाषा हो । त्यसले यसको अपेक्षा अस्वाभाविक होइन । कति कुरा दृश्य बोल्दा संवाद नै चाहिँदैन । यसले सिनेमालाई थप वज प्रदान गर्छ । यसले निर्देशकीय कला पनि उजागर गरिदिन्छ । तर, यसमा प्रदीपले खासै ध्यान दिएका छैनन् । धेरै विम्ब र प्रतीक प्रयोग गरिने जानराको सिनेमामा काम नगरेकाले पनि हुनसक्छ । यद्यपि, पात्रले लगाउने लुगादेखि उसले प्रयोग गर्ने सामग्रीसम्ममा पनि विम्ब प्रयोग गर्न सकिन्छ । लाइटमार्फत खेल्न सकिन्छ ।

जे होस्, प्रदीपले आफूलाई हिट सिनेमा निर्देशकका रूपमा प्रमाणित गरिसकेका छन् । कमेडी जानरामा आफूलाई स्थापित गरिसकेका छन् । अब उनले आफूलाई प्रमाणित गर्न अरू जानरामा बाँकी हो । तर, उनी कमेडी जानरामा मौलिक फ्लेवर दिने निर्देशक हुन् । त्यो निर्देशकीय सफलता पनि हो ।

सिनेमा केका लागि बनाइन्छ ? व्यक्तिअनुसार यसको जवाफ फरक–फरक आउला । तर, कथा भन्दै सन्देश र मनोरञ्जन दिनु सायद सिनेमा बनाउनुको कारण होला । सिनेमाको उद्देश्य मनोरञ्जसँगै सन्देश पनि दिनु हो भन्ने तर्कमा सहमत हुने हो भने प्रदीप ‘महाजात्रा’मा सफल छन् । आफ्ना मुख्य पात्रको नैतिकता र क्लाइमेक्समार्फत राजनीतिज्ञलाई नैतिकताको पाठक सिकाएका छन्, यो सिनेमाको सन्देश हो ।

बाँकी रह्यो मनोरञ्जन । सिनेमाले पूर्ण अवधिभर इंगेज गर्छ । प्रायः हरेक सिनमा हँसाउँछ, यो मनोरञ्जन हो । यस मानेमा निर्देशक प्रदीप सफल छन् । दुई घण्टा ४० मिनेट बाहिरी संसारको दुःख भुलाउन ‘महाजात्रा’ सफल छ । ‘महाजात्रा’ हेरेर दर्शक चुकचुकाउँदैनन् । हाँसेरै फर्किन्छन् ।   

० ० ०

निर्देशक : प्रदीप भट्टराई
लेखक : प्रदीप भट्टराई 
कार्यकारी निर्माता : रवीन्द्रसिंह बानियाँ
निर्माता : दीपेश खत्री (म्याक्स)/यज्ञश्वर पौडेल 
कलाकार : विपीन कार्की, हरिवंश आचार्य, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत आदि 

जानरा : सिचुएस्नल कमेडी
लेन्थ : दुई घण्टा ४० मिनेट 

ब्यानर : षट्कोण आर्टस ।


 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  ०९:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro