site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
महफिल काव्य सङ्गम 
Sarbottam CementSarbottam Cement

महफिल काव्य सङ्गम 
(गजल/कवितासंग्रह: सं. सनतकुमार वस्ती/इम्तियाज वफा)
‘महफिल–ए–काव्य उपासना’ गजल क्षेत्रमा एक परिचित कार्यक्रमका रूपमा स्थापित छ । महफिलमा विशेष गरी गजल सर्जकले तरन्नुममा गजल सुनाउँछन् । उपस्थित सर्जकमध्ये कसैले कवितावाचन गर्छन्, कसैले मुक्तक सुनाउँछन् । अनि, केही संगीतकर्मीले हारमोनियमसँगै गजल गाउँछन् । अर्थात्, गजल काव्यको एउटा सम्पूर्ण प्याकेज हो, महफिल–ए–काव्य उपासना भनिरहँदा फरक पर्दैन ।

महफिलको सोही समूहको संयोजनमा सार्वजनिक कविता र गजलसंग्रह हो, ‘महफिल काव्य सङ्गम’ । यसको सम्पादन गरेका छन् दुई गजल सर्जक सनतकुमार वस्ती र इम्तियाज वफाले । वफा उर्दू गजल सिर्जनामा लामो समयदेखि सक्रिय छन् । नेपाली गजल साहित्यमा सनतकुमारको आफ्नै उचाइ छ ।

केही महिनाअघि प्रकाशित ‘महफिल काव्य सङ्गम’मा गजल, कविता, गीत र मुक्तक संगृहीत छ । यसभित्र नेपालीसँगै हिन्दी र उर्दू भाषाका गजल र कविता समावेश छ । पुस्तकमा ५० भन्दा बढी सर्जकका गजल र काव्य सिर्जना समेटिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

महफिलका संरक्षक ९२ वर्षीय गजलस्रष्टा डा. कृष्णजंग राणा हुन् । कृतिको ब्लर्बमा उनले लेखेका छन्, “हाल ९२ वर्षको उमेरमा पनि म अझै आफूलाई शारीरिक र मानसिक दुवै रूपमा यथाशक्य सक्रिय नै सम्झन्छु, यसको मूल कारण हो ‘महफिल–ए–काव्य उपासना’प्रति मेरो लगाव एवम् अनुराग ।”

ब्लर्बमा भाषाविद् शरच्चन्द्र वस्तीले लेखेका छन्, “शब्द र भावको सुन्दर सङ्गमले सुवासित र मनोहर अन्दाजे बयाँले उद्दीपित गजलले मन–मस्तिष्क शीतल बनाइदिने ‘महफिल–ए–काव्य उपासना’ मेरा लागि अथाह रेगिस्तानका बीच अकस्मात् फेला परेको नखलिस्तानजस्तो भएको छ ।”

Global Ime bank

कृतिका सम्पादक डा. सनतकुमार वस्तीले लेखेका छन्, “महफिलमा सुनाइएका वाङ्मयका कतिपय हृद्य सुवाषित पद्यका साथै नेपाली, हिन्दी र उर्दू भाषाका ललित काव्य रचनाहरू यहाँ संकलित छन् । महफिलको प्रकृतिअनुरूप मूलतः गजल रचना अनि क्रमशः गीत, मुक्तक र अन्य कविता यहाँ समेटिएका छन्, कवि परिचय एवम् महफिलका अनुभूतिले यसलाई जीवन्त तुल्याइएको छ ।”

यो कृतिमा लगभग हरेक सर्जकका पाँच गजल वा अरू काव्य रचना समावेश छ ।

‘महफिल–ए–काव्य उपासना’का निम्ति श्रीमती शान्ता राणाद्वारा प्रकाशित ३२८ पृष्ठको यो पुस्तकको मूल्य ७००/– रुपैयाँ राखिएको छ ।

०००

शिवपुरी सन्देश
(नियात्रा अंक: प्र.सं. वियोगी बुढाथोकी)
पछिल्लो समय नियात्रा लेखनमा सर्जकको कलमको गीत बढ्दो छ । साहित्यकारको घुमघामले नियात्रा विधालाई तीव्र रूपमा अगाडि बढाएको छ । पुस्तक मात्र नभएर साहित्यिक पत्रपत्रिकाले पनि नियात्रा अंक प्रकाशन गर्दै आएका छन् । केही समयअघि साहित्यिक पत्रिका ‘शिवपुरी सन्देश’ले आफ्नो १००औँ अंकलाई नियात्रा विशेषका रूपमा प्रकाशन गर्‍यो ।

यसको सम्पादकीयमा प्रधानसम्पादक वियोगी बुढाथोकी र अतिथि सम्पादक विनोद नेपालले लेखेका छन्, “वर्तमानमा नियात्राका लेखक र पाठक बढ्नु, नियात्राप्रति बढ्दो आकर्षण हुनु, सबै नियात्राकारहरूका लागि खुसीको कुरा हो, क्षण हो, शिवपुरी सन्देशको यस विशेषांकले नियात्राको उन्नयनमा थोरै मात्र भए पनि सहयोग गर्न सक्यो भने यो अंक प्रकाशनको सार्थकता रहनेछ ।”

यो अंकमा २२ लेखकका नियात्रासँगै नियात्रासम्बन्धी केही आलेख पनि समावेश गरिएको छ ।

बुढाथोकीकै प्रकाशनमार्फत बजारमा ल्याइएको २४८ पृष्ठको यो अंकको मूल्य २५०/– रुपैयाँ राखिएको छ ।

०००

झुटको पुलिन्दा 
(लघुकथासंग्रह: विक्रम याख्या)
विक्रम याख्याको लघुकथासंग्रह हो, ‘झुटको पुलिन्दा’ । यसअघि पनि उनको एउटा लघुकथासंग्रह प्रकाशित भइसकेको छ । उनका गीत र म्युजिक भिडियो पनि सार्वजनिक भइसकेको छ ।

पुस्तकमा याख्याले लेखेका छन्, “...भावनाको छाल उठेसितै मूर्तरूप दिनको लागि अन्याय, अत्याचार, विभेद र हिंसाका साथै गलत प्रवृत्तिको विरोध गर्दै निरन्तर हिसाबले आवाज उठाउन हरेक खालको सकारात्मक सन्देश दिनलाई लघुकथा लेखिरहने गर्दछु ।”

यो संग्रहमा याख्याका ५१ लघुकथा पढ्न सकिन्छ ।

वीरबहादुर सारू मगर (सारू)ले बजारमा ल्याएको ९६ पृष्ठको यो पुस्तकको मूल्य ३५०/– रुपैयाँ राखिएको छ ।

०००

मौन विद्रोह
(कथासंग्रह: रामप्रसाद पन्त)
साहित्यिक पत्रकार तथा साहित्यकार रामप्रसाद पन्तको कथाकृति हो, ‘मौन–विद्रोह’ । कथा, उपन्यास, लघुकथा, नियात्रा, संस्मरण, खण्डकाव्य, स्मृतिग्रन्थसहित साढे तीन दर्जनभन्दा बढी कृति प्रकाशित छन् पन्तका । ‘मौन–विद्रोह’ केही समयअघि सार्वजनिक गरिएको हो ।

आफ्नै कुरामा कथाकार पन्तले लेखेका छन्, “जे लेखे पनि मैले लेखिरहने छु, लेख्न छाडेको छैन । समय र शरीरले साथ दिएसम्म लेख्छु भन्ने आँट र जाँगर पनि मभित्र छ, तर मेरो लेखन कस्तो छ ? पाठकमैत्री छ कि छैन ? सामाजिक जागरणअनुकूल छ कि छैन ? लेखनमा मिठास भर्न सकिएको छ कि छैन ? लेखनशैली र शिल्पमा निखार ल्याउन सकिएको छ कि छैन ? थाहा छैन ।”

यो संग्रहभित्र ३५ कथा अटाइएको छ ।

दायित्व वाङ्मय प्रतिष्ठान, नेपालबाट प्रकाशित १८५ पृष्ठको यो कृतिको मूल्य ५००/– रुपैयाँ राखिएको छ ।

०००

भ्रमित सत्य
(कविताकृति: राजाराम बर्तौला)
परराष्ट्र सेवामा लामो समय बिताएका राजाराम बर्तौलाको कवितासंग्रह प्रकाशित छ, ‘भ्रमित सत्य’ । साहित्य र विविध विषयमा कलम चलाउने बर्तौलाको यसअघि यात्रासंस्मरण र लघुनिबन्धको पुस्तक सार्वजनिक भइसकेको छ ।

कविताकृतिको भूमिकामा साहित्यकार डा. तुलसी भट्टराईले लेखेका छन्, “कविस्रष्टा राजाराम बर्तौलाको यस भ्रमित सत्य कविताकृतिभित्र आजको समाज, राजनीतिक नेतृत्व, शासनसत्ता, व्यक्ति चरित्र, विश्व गतिविधिजस्ता यावत् विषयको सारतत्त्व अटाइएको छ ।...।”

प्राज्ञिक बुक्सद्वारा प्रकाशित ११२ पृष्ठको यो पुस्तकको मूल्य २५०/– रुपैयाँ राखिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  ०७:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
सफल भएकै हो त लगानी सम्मेलन ?
सफल भएकै हो त लगानी सम्मेलन ?
ICACICAC