टेलिभिजनमा देखिएका दृश्यहरू मेरा लागि अर्थहीन हुन लागेका छन् । त्यहाँका धेरै कामुक र सेक्सी प्रसंगहरूलाई म बुझ्दिन । शायद म बुझने कोशिश गर्दिन । पर्दामा देखापर्ने उत्तेजक र जङ्गली नाचहरूले मलाई मान्छेको इतिहासको प्रारम्भमा लगेर पछारिदिन्छ । जहाँ पहाड र जङ्गलकाबीच आदिम नर–नारीहरूसँग मेरो भेट हुन्छ । म उत्तेजित र कामुक हुने प्रयास गर्छु, तर सक्तिन । यो नसक्नु मेरो कमजोरी हुनसक्छ, शारीरिक मात्र होइन– मानसिक पनि ।
शरीरका प्रत्येक अङ्गहरू क्रमशः कमजोर हुन लागेको अनुभव हुन्छ । लाग्छ, शरीरको मेटाबोलिज्ममा नै कहीँ कतै असन्तुलन छ । अलिकति मीठो चीज पाएर खाएपछि पाचनपक्रियामा गड्बडी भइहाल्छ । रातभरि पेट फुलेर आउँछ या कहीँ कतै थाहा नपाइने गरी दुखिरहन्छ । अनि डाक्टरले रोग के छ भनी प्रश्न गर्नु भन्दा उमेर कति भयो भनी सोद्धा स्वर मलीन भई हावामा हराउँछ–पचपन्न पुगेँ र छपन्नमा छु ।
अर्थात् आफ्नो आयु वा बाँच्नु समाप्त भएर अरूहरूको आयु बाँच्तैछु । छपन्न भन्नासाथ डाक्टरको ओठमा यौटा मुस्कान देखापर्छ र हराउँछ । उहाँ लामो प्रेस्क्रिप्सन लेखिदिनुहुन्छ– यो पेटको मात्र रोग होइन । अरू पनि जटिलताहरू हुन सक्छन् । एक पटक थरोल्ली सबैको परीक्षण गरूँ अर्थात् दिसा, पिसाब, रगत, छाती, प्रोस्टेट ग्ल्यान्ड आदि इत्यादि । अनि औषधिको उत्तिकै लामो सूची बन्छ । ती सबै परीक्षणहरूमा डाक्टर साहेबको कमिसन छ । ती सबै औषधिहरूमा पनि राम्रै कमिसन छ, मलाई थाहा छ । थाहा पाएर पनि म मुस्काउन बाध्य छु, “हुन्छ डाक्टर साहेब ! परीक्षण गरेर म फेरि आउँला ।”
तर मलाई स्पष्ट थाहा छ– म फेरि उसकहाँ आउँदिन । उसकहाँ आउन सक्ने मेरा तन्तुहरू टुक्रिसकेका छन् । गहु्रँगो मन लिएर घरमा पुग्छु । “म आज डाक्टरलाई देखाएर आएको” भन्नासाथ घरभित्रै यौटा शंका र त्रासको वातावरण छाएको मलाई अनायास अनुभव हुन्छ ।
श्रीमती भनीहाल्छे, “तपार्इंलाई डाक्टर देखाउन जान पर्ने किन नी ! संक्रान्ति आउन अझ दस दिन बाँकी छ । छोराको तलब आएको छैन । कहाँबाट पैसा ल्याएर यत्रा कामहरू गर्ने । राखिदिनोस् डाक्टरका कागज एकातिर ।”
“पेन्सन लिएको छैन । यसैबाट राम्रो चेकअप गराउँ कि ।”
मेरा वाक्य पूरा हुन पाउँदैन । छोरीको ठूलो स्वरले तर्साउँछ, “यसपालीको पेन्सन मलाई दिने भन्नु भएको होइन बाले । क्याम्पसको बिल नतिरेको तीन महिना भइसक्यो । अब त नाम काट्न मात्र बाँकी छ ।”
सडकमा हिँड्न र हिँडिरहन कठिन हुन्छ । हिँड्दा हिँड्दै खुट्टाहरु थाक्छन् र अघि सर्न मान्दैनन् । नसा नै जाम भएर जान्छ । फेरि साथी... भेट हुन्छ । “तपाईंलाई चिनेजस्तो लाग्यो । हाम्रो भेट कुन अफिसमा भएको हो कुन्नी !” मलाई रिस उठ्छ– भन्सार र कर बाहेक सबै अफिसमा हाम्रो भेट भएको हुनु पर्छ । मेरो जवाफमा ऊ हाँस्छ र आफ्नो बाटो लाग्छ ।
सडकको अर्को छेउमा आएको आवाजले मेरो ध्यान भङ्ग हुन्छ– माष्टर साहेब, कति छिटो बूढो देखिनु भएको ! रिटायर पनि भइसक्नु भयो कि कसो ?
‘तपाईं जत्रा मेरा छोराछोरी भइसके’ ऊ हाँस्छ र जान्छ । धेरै गाडीहरू सडकमा कुदिरहेका छन् । ती सबका अनुहारहरू मलाई चिनेजस्तो लाग्छ । तिनलाई रोकेर म सोध्न सक्तिन– अस्तिसम्म सडक नाप्दै हुनुहुन्थ्यो, कहिलेदेखि गाडी चढ्न लाग्नु भयो ?
प्रत्येक गाडीमा सडक गन्हाउँछ, सिंचाइ वान्ता गर्छ, राजस्वको गन्ध आउँछ, जङ्गल समाप्तिको सूचना आउँछ । सडकमा थिएँ, सडकमा छु र भोलि पनि सडकमा हुनेछु । रङ्गहीन र वासनाहीन भएर सडक नाघ्नुको पनि आफ्नै आनन्द हुन्छ । तर किन नसाहरू यति कमजोर भइरहेछन् ? किन त्यहाँसम्म म पुग्न सक्तिन ।
घरलाई नविकरण गर्न सकिएको छैन । पर्दाहरू दस वर्ष पुराना भइसके । फ्रिज पेन्सनमा बस्न चाहन्छ । डाइनिङ टेबलका कुर्सीहरू निको नहुने रोगले थलिएका छन् । रङ–रोगन समाप्त भएर पूरा घर नै खण्डहरजस्तो लाग्छ । परिवार सबै आदिम युगमा बाँचेको जस्तो अनुभव हुन्छ । कसलाई के थाहा ? कुन दिन यो घर हामी सबैको चिहानमा साटिने हो ।
पुराना कुराहरू सम्झन मन लाग्छ । झण्डै आधा शताब्दी अगाडिका प्रसंगहरू आएर झक्झकाउँछन् । कुनै दिन थियो... खोलाका जँगारहरू मात्र तर्ने । पहाडहरू मात्र चढ्ने । उकालीहरू मात्र हिँड्ने । कुनै दिन पनि थियो... सपनाका रंगीन घोडाहरूमा चढ्ने । आकाशमा ताराहरू टिपेर ल्याउने बाचा गर्ने । अनि क्षितिजहरूमा नटुङ्गिने । तर आज श्रीमतीका स्वरहरू, “बूढो त सबै हुन्छन् । तर तपाईंजस्तो कोही हुँदैनन् । अझ आधा उमेर बाँकी छ । तपार्इंले कसरी काट्नु होला ।”
म भित्र छन् । जसलाई अर्थ दिएर बसिरहन म चाहन्न । लाग्छ हामी भित्र कहीँ कतै कोही बिग्रेको छ । शारीरिक मेसिनको ठूलो गड्बडी छ । उसलाई जुन विषयले हाँसो उठाउँछ, त्यसले मलाई भित्रसम्म पोलेर रिस उठाउँछ । जसलाई ऊ विश्वास गर्छे, त्यसलाई म ठ्याम्मै विश्वास गर्दिन । म जे भन्छु त्यो उसले बुझ्न छाडेकी छे । उसले जीवनको लामो यात्रामा भोगेका कुराहरू मलाई अर्थहीन लाग्दछन् । किनभने ती सबलाई सच्याउने वा बनाउने समय अब हामीसित छैन । हामीले थाहापाउनु वा थाहानपाउनुको कुनै अर्थ छैन ।
कहिले म गम्भीर हुन्छु, कहिले ऊ । मन्दिर र धार्मिक प्रवचनहरूमा ऊ आफ्नो समय काट्न चाहान्छे । म पत्रपत्रिका र रेडियोको जालमा फस्न चाहन्छु । ऊ गुलियो खाँदै खान्न – सुगर छ । म गुलियो खान्छु नुनिलो खान्न, ब्लड प्रेसर हाई छ । मानांै यात्रा समाप्त भएको छ, र एकैपटक दोबाटो आइपुगेको छ । मलाई अब पूर्व जानु छ र उसलाई पश्चिम । अब कुनै सपना छैन, कुनै किनारा छैन । कहिलेकाहीँ उसलाई विगतमा लगेर म भन्न चाहन्छु– तिमीसँग क्याम्पसमा भेट नभएकोभए म अर्कै केही हुन्थेँ । त्यसलाई ऊ आफ्नै किसिमले अर्थ दिएर भन्छे, “मलाई नभेटेको भए तपार्इं जोगी हुनुहुन्थ्यो र अहिले बनारसतिर तपस्या गर्दै हुनुहुन्थ्यो ।”
थाहा छैन गीतासँग भेट नभएको भए के हुन्थ्यो ? भेट भयो र यो सबै भयो । यो घर भयो । यो जागिर भयो । छोरा छोरी मात्र होइन अझ नातिनातिना भए । थाहा छैन किन गीता कहिँकतै हराएकी जस्ती छे । ऊ प्रवाह नभएको पहाडी खोला जस्ती छे । अथवा पोखरीको माछा झैँ छे । रगतको मूल सुकेपछि यस्तो हुन्छ कि ?....म आफै सोच्तछु । जे विषय र कुरालाई पनि ऊ नकारात्मक किसिमले नै सोच्तछे । लाग्छ– जीवनका सकारात्मक पक्षहरू अब ओझेल परिसकेका छन् । शंका र अविश्वासका रुखहरू बढ्न लागेका छन् । म ती रुखहरूलाई काट्न सक्तिन ।
घरभरि शंका र षडयन्त्रहरू छन् जस्तो लाग्छ । आम्दानी नहुनुको, काम नहुनुको खाली दिमाग यस्तै हुन्छ कि कसो ? अपमान र हीनताबोधले मन सधैँ फ्रिजमा जमेको हिउँ जस्तो हुन्छ । छोराको आँखामा– बा केही गर्नु हुन्न, मैले मात्र के गर्ने ? भन्ने पढ्छु । बुहारीको आँखामा– बिहान तीन तीन बजेदेखि उठेर बुवाले घरका सारा मान्छेको निद्रा खल्बल्याइदिनु हुन्छ– भन्ने देख्छु ।
श्रीमतीको मनमा एड्सको त्रासदीले हल्लाएको भेट्छु । अविश्वास र आशंकाका छायाहरूमा हराएर यौटा निर्णयमा पुग्छु— मलाई क्यान्सर होस् । मलाई एड्स रोग लागोस् । साना रोगहरूले शायद मलाई मृत्यु नदेलान् । म ठूला रोगहरूको शिकार हुन चाहन्छु । कति पटक घरमा स–सानो भाषण नै दिइसकेँ— मलाई जे रोग लागे पनि कसैले डराउन आवश्यक छैन । मेरा बाँच्ने वर्षहरू कति बाँकी छन् र– ५ वर्ष, ७ वर्ष वा १० वर्ष । रोग लागेर औषधि गरे पनि त्यही हो, नगरे पनि त्यही हो । त्यस असम्भावी मृत्युका लागि कसैले किन चिन्ता गर्ने ? आखिर एक दिन त त्यो आइहाल्छ । त्यो सत्य हो । फेरि यत्रो लामो कालखण्डमा म जस्तो मान्छेको ५÷१० वर्ष पनि केही हो र !
तर, त्यस्तो केही हुँदैन । बिहान उठेर बाहिर हेर्दा वा घुम्न जाँदा संसार धेरै रमाइलो लाग्छ, जिन्दगी सारपूर्ण लाग्छ । तर घामका किरणहरूसंगै बाँच्नु वा जिन्दगीको परिभाषा बदलिन्छ । न कुनै टेलिफोन छ, न साथीसँगी छन्, न गिलासमा आस्था सल्बलाउँछ, न चियामा विश्वासको घाम उदाउँछ । न नमस्कार गरेर झुक्नेहरूको हुल छ, न चाकरी गर्न आउनेहरूको भिड छ । न प्रमोसनको कुरा छ, न सरुवाको, न विदेशका रंगीन महलहरू छन्, न फेशन र डिजाइनका कुराहरू छन् । एकाकी सुत्नु, एकाकी उठ्नु र घुम्न हिँड्नु । वर्तमानमा हिँड्नु र विगतलाई सम्झनु अनि भोलिलाई खाली शून्य सोच्नु, खाली पूर्णविराम र लक्ष्यहीन सोच्नु ।
छोरी–ज्वाइँ दुर्घटनामा परी एकैसाथ गए । हामीभित्र तिनको सम्झनामात्र बाँकी छ । नाति नातिना छन् हामीले हेरिदिनु पर्ने । तिनलाई हेरिरहन पनि आँखामा आँसुहरू आउँछन् । ती भाग्यमानी थिए र अगाडि गए । बाँच्नेहरूका लागि कति कठिन छ–अरू बढी बाँच्नु ! आफ्नै अगाडि धेरै आफन्तहरूको मृत्युलाई स्वीकार्दै जानुजस्तो पीडा के हुन सक्छ । अरू विसंगति के हुन सक्छ ? अब त आफै लास भइसकेको अनुभव हुन्छ । कसैको मलामी जानु अथवा बिहे, व्रतवन्धमा जानु, अथवा केटाकेटीको बिहेको कुरा मिलाईदिनु नै दैनिक डायरी भएको छ । यिनै सामाजिक कामहरूका लागि बाँच्नु पनि यौटा ठूलो विडम्बना लाग्छ ।
सबैले बूढो भयो भन्छन् । तर आफूलाई लाग्छ– सारा अङ्गहरू पूर्णरूपले शिथिल भइनसकी कसरी बूढो होइन्छ । लठ्ठी नै टेकेर हिँड्नु पर्ने भैसकेको छैन, कोही साथी नलिई हिँड्नै नसक्ने अवस्था पनि आइसकेको छैन । कहीँ कतै केही यौवनका लहरहरू बाँकी छन् जस्तो लाग्छ । कहीँ कतै केही तृष्णाहरू बाँकी छन् जस्तो लाग्छ । मनमा कहीँ कतै जीवनका स्वरहरू छन्, बाँच्नुका गीतहरू छन् । तृष्णाहरू बाँकी छन्, तर तिनलाई कोही अर्थ दिन चाहँदैनन् ।
ती कति सजिलै भनिदिन्छन्– हरि गोपाल अब बूढो भयो ! कपाल प्रायः फुलिसके । ढाड पनि निहुरेको छ । कपालजस्तै यो मन पनि सेतै भएर फुलिदिए कति जाति हुन्थ्यो । प्रसंग–बेप्रसंग इच्छा अनिच्छाका कुराहरूले जिन्दगी यति फर्सीको झोलजस्तो खल्लो होला, अर्थहीन र उद्देश्यहीन कुरा मात्र सोच्नुपर्ला भन्ने लागेको थिएन । के गर्ने ? यसरी पनि यौटा मान्छे बाँच्न सक्छ । यसरी पनि यौटा जिन्दगीको अन्त्य हुन सक्छ ! यसरी पनि म सहरमा, सडकमा हिँड्न सक्छु । यौटा कुकुरजस्तो भएर, यौटा बासी पाउरोटीजस्तो जिन्दगी लिएर निरर्थक यो यात्रामा म हिँडिरहेछु । कहिले अन्त्य हुन्छ– यस यात्राको ? मलाई थाहा छैन ।
पशुपति र गुह्येश्वरीका जङ्गलहरूमा जान्छु । एकाकी हुन चाहन्छु । गीताका हरफहरूमा आफूलाई हराउन चाहन्छु– भगवान श्री कृष्णका यी शब्दहरूमा आफूलाई लीन गराउँछु, “म नै सूर्यको रूप लिएर आगो हुन्छु र वर्षालाई बोलाउँछु र पानी पार्छु अर्जुन ! म नै अमृत र मृत्यु हुँ । सत् र असत् म नै हुँ ।”
म भगवान श्री कृष्णको खोजीमा हुन्छु, परमात्मामा लीन हुने कर्मको प्राप्तिमा हुन्छु । तर जहाँ तहाँ कङ्शहरू छन्, रावणहरू छन् र शकुनीहरू छन् । भगवान श्रीकृष्णले मेरा भक्तहरू कहिल्यै नास हुँदैनन् भन्नु भएको छ । निष्काम कर्ममा जोड दिनुभएको छ । तर म भक्तहरू नास भइरहेको देखिरहेछु, सज्जनहरू समाप्त भइरहेको भोगिरहेछु । म कसलाई विश्वास गरूँ ? अनि कसलाई अविश्वास गरूँ ?
किन सबै कुरा परिवर्तन लाग्छ । शहर– आफ्नो शहरजस्तो लाग्दैन । घर– आफ्नो घरजस्तो लाग्दैन । कुनै पनि बाटोले मलाई त्यहाँसम्म पुर्याउला जस्तो लाग्दैन, जहाँ म जान चाहन्छु, जहाँ म पुग्न चाहन्छु । म आफैलाई सोध्छु– तैँले पुग्न लागेको ठाउँ कहाँसम्म हो ? भनिहालेँ भ्रममा छु, अन्धकारमा छु, निरासामा छु ।
घरमा कहिलेकाहीँ सबैका अगाडि सोध्छु– म कहाँबाट आएँ, कति यहाँ बस्छु र अब कता जान्छु ? म कुन उज्यालोमा जान्छु ? या म कुन अन्धकारमा हराउँछु ?
सबैजना हाँस्छन्– बा ! तपाईं पागल हुन लाग्नु भएछ । कुनै न्यूरो डाक्टर कहाँ जँचाउन जानुपर्ला कि ! अहिलेसम्म म ठिक थिएँ । जीवनभर नोकरी गरेँ । सधैँ एकजना इमानदार कर्मचारी भएँ । घर बनाएँ । छोरा–छोरीलाई हुर्काएँ, पढाएँ र योग्य बनाएँ । अब पागल भएँ र घरका मान्छेहरू डाक्टरको खोजिमा छन् !
संसारमा भगवान भन्दा ठूलो डाक्टर को छन् ? श्रीकृष्ण भन्दा महान् को छन् ? कोही छैनन्... कोही छैनन् । निश्चय नै कोही छैनन् । यो लामो यात्राका साथीहरू मात्र हुन् सबै । यौटा मोड आएपछि सबै हराउँछन् । म त्यो सत्यको खोजीमा छु । म त्यो नयाँ मोडमा प्रवेश गर्न चाहन्छु । जीवनको सत्यको नयाँ आकाशमा म जान चाहन्छु । के म जीवनको शाश्वत सत्य मृत्युमा लीन हुन चाहन्छु ? ...के म त्यसको माध्यम आत्महत्यालाई बनाउन चाहन्छु । के आत्महत्या नै यसको साँचो समाधान हुन सक्छ । थाहा छैन– अचानक मर्निङ वाकबाट घरमा फर्कन्न–फर्कन मन लाग्दैन । ज्यान गए लाग्दैन ।
अगाडि खोलाहरू छन् । किनाराहरू छन् । पहाडहरू छन् । आकाशहरू छन् । यो बिहान छ । यो उदाउँदो सूर्य छ । यो सधैँ नयाँ लाग्ने क्षितिज छ । म आफूबाट आफूलाई मुक्ति पार्न चाहन्छु । आफूबाट आफू उठ्न चाहन्छु । सत्यताको एउटा बाटोमा फेरि म हिँड्न चाहन्छु । यो मेरो परम सत्य हो । यो मेरो परम भगवान हो । यो मेरो परमात्मासँगको साक्षात्कार हो ।
अहिले म कोही मान्छे कहिल्यै नहिँड्ने सडकमा आइपुगेको छु । कसैले कहिल्यै नतरेको खोलासम्म आइपुगेको छु । कसैले नटिपेको कुमारी फूल टिप्न लागेको छु । अजेय, अविनासी समृद्ध भगवान सूर्यलाई हात जोडेर आफूले घरमा लेखी छाडीआएका ती हरफहरू सम्झिरहेछु, “म कहाँ जाँदैछु– मलाई थाहा छैन । म कहाँसम्म पुग्छु– म जान्दिन । मेरो परिवारको कसैले पनि मलाई खोज्ने धृष्टता नगर्नू । यसका लागि कसैले कुनै पनि माध्यम लिएमा मेरो.आत्मा धेरै धेरै रूनेछ । र मलाई त्यसरी नै सबैले सदा सदाका लागि बिर्सनु, जसरी म सवैलाई बिर्सन बाध्य छु । यसमा कसैको दोष छैन । म स्वयम् दोषी छु । यत्तिका लामा वर्षहरूसँगै बस्दा हुन गएका भूलका लागि म क्षमा माग्छु । अन्त्यमा मेरो यौटा मात्र अनुरोध छ– म कहिल्यै थिइन, म छुइन र म हुने पनि छैन ।”
(कथासंग्रह ‘उत्तरार्द्ध’बाट ।)